बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार-दिने सद्भावना भ्रमणको क्रममा मंगलबार पौने १ बजे नेपाल आइपुग्ने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ५२–सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद विमानस्थलबाट होटल म्यारियट जानेछन्।
भ्रमण टोलीमा राष्ट्रपतिकी श्रीमति, दुई छोरा, दुई सांसद, सैनिक तथा प्रेस सचिव, बंगलादेश सरकारका विदेश सचिव सहभागी हुने कार्यक्रम छ। उनी विमान बंगलाको नियमित उडानबाट काठमाडौंमा आउन लागेका हुन्।
मंगलबार दिउँसो हमिदले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशी राष्ट्रपति हमिदलाई होटलमा भेट गर्नेछन्। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले बंगाली समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम छ।
बुधबार बिहान राष्ट्रपति भण्डारीसँग शितल निवासमा बंगलादेशी राष्ट्रपति हमिदले भेट गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग भेट हुनेछ। सबै भेटहरु होटल म्यारियटमा हुनेछन्।
बिहीबार बंगलादेशी राष्ट्रपति हमिद पोखराको भ्रमणमा जानेछन्। बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा जाने उनी दिउँसो विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ। पोखराबाट साँझ राष्ट्रपति हमिद काठमाडौं फर्किने कार्यक्रम छ।
शुक्रबार बिहान चन्द्रगिरीमा भ्रमण गरी राष्ट्रपति हमिद साँझ पाँच बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ने साम्सले यसै साता नेपालखबरसँगको अन्तर्वार्तामा नेपाल र बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि बंगलादेशको शीर्ष नेतृत्व तहबाट भएको पहिलो नेपाल भ्रमण भएको बताएकी थिइन्। उनले सार्क, बिम्स्टेक लगायत अन्तर्राष्ट्रिय मञ्चका बैठकहरुमा सीमित नेपाल र बंगलादेशका नेताहरुबीच भेटघाटलाई हमिदको भ्रमणबाट दुईदेशबीचको सम्बन्ध सुदृढ गर्न सहयोग गर्ने बताएकी थिइन्।
‘बंगलादेशको उच्चतम नेतृत्वबाट सार्क, बिम्स्टेकका लागि बाहेक नेपालको भ्रमण कहिल्यै पनि भएको थिएन। अहिले पहिलोपटक हुँदैछ। हामी नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिन चाहन्छौँ। यो भ्रमणका क्रममा हामी दुवै देशबीचको अत्यन्त राम्रो सम्बन्धलाई थप महत्व दिन चाहन्छौं,’ उनले अन्तरर्वार्तामा भनेकी छिन्।
पाकिस्तानसँगका गृहयुद्धपछि सन् १९७१ मा विभाजन भएर स्वतन्त्र भएको बंगलादेशलाई मान्यता दिने नेपाल सातौ देश भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तर, यसअघि बंगलादेशका तत्कालिन राष्ट्रपतिले २०४५ असोजमा केहि घन्टाका लागि नेपालको भ्रमण गरेको पाइएको छ। बंगलादेशका पूर्व नेपाली राजदूत मोहन लोहनीका अनुसार तत्कालीन राजा वीरेन्द्रको निमन्त्रणमा तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद एर्सादको भ्रमण भएको थियो।
‘केही घण्टाका लागि तत्कालीन बंगलादेशी राष्ट्रपति हुसेन मोहम्मद एर्साद नेपाल आउनु भएको थियो। नेपालकै राजाका निमन्त्रणमा आउनु भएको हो। करिब चार घण्टा बसेर स्वदेश फर्किनु भएको हो,’ पुरानो दिन सम्झिदै लोहनीले नेपालखबरसँग भने, ‘त्यस समयमा नदीको अध्ययनको विषयमा मिलेर काम गर्ने छलफल भएको थियो। नेपालले त्यसमा सहमति भएपनि तत्काल डेटा (तथ्यांक) आदान प्रदान गर्न भने अनिच्छुक भयो। त्यो बैठकमा म पनि सहभागी रहेको थिए।’
लोहनीका अनुसार त्यसलगत्तै एक सातापछि राजा वीरेन्द्रले सार्कका अध्यक्षको हैसियतमा बंगलादेशको भ्रमण गरेको बताए।

प्रतिक्रिया