ad ad

राजनीति


युवराज लामा भन्छन्ः माओवादीमा एकदेखि १० सम्म प्रचण्ड हुन्, ११ नम्बरबाट अरु सुरु हुन्छन् (भिडिओ)

युवराज लामा भन्छन्ः माओवादीमा एकदेखि १० सम्म प्रचण्ड हुन्, ११ नम्बरबाट अरु सुरु हुन्छन् (भिडिओ)

लक्ष्मी जि.सी
पुस १६, २०७८ शुक्रबार १७:२८, काठमाडौँ

युवराज लामा मुख्यतः चलचित्रकर्मीकै रुपमा स्थापित नाम हो। तर, उनले आफूलाई एउटा क्षेत्रमा मात्र सीमित भने राखेनन्। चलचित्र निर्माण, निर्देशन, अभिनय गर्दागर्दै उनी चलचित्र विकास बोर्डको अध्यक्ष बने। त्यसपछि उनी आफ्नो पुरानो क्षेत्र खेलकुदमा फर्किए। खेलाडी र प्रशिक्षकका रुपमा वर्षौँअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को चक्कर काटेका उनी २०६८ मा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा राखेप सदस्य सचिव बने। तुलानात्मक रुपमा उनी सफल सदस्य सचिव मानिन्छन्।

२०७२ मा सदस्य सचिवको कार्यकाल पुरा गरेपछि उनी होटल तथा पयर्टन व्यवसायीका रुपमा सक्रिय छन्। चुप लागेर बस्ने आदत भने उनको छैन। बारामा होटल व्यवसायसँगै पयर्टन विकासका योजना बनाउने काममा सक्रिय रुपमा लागेका छन्। समयमासमयमा काठमाडौं फर्कन्छन्। यति बेला उनी काठमाडौंमै छन्। माओवादी केन्द्रको आठौं महाधिवेशनको प्रतिनिधि बनेर यस पटक उनी संघीय राजधानी आइपुगेका हुन्। 

लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रशंसक हुन्। सामाजिक सञ्जालमा पनि विभिन्न विषयमा आफ्नो विचार राखिरहेका हुन्छन्। उनलाई कसैले प्रचण्डको ‘पिछलग्गु’ भन्दा पनि खासै फरक मान्दैनन्। महाधिवेशनमा आउने अधिकांशको जस्तै लामा पनि पार्टी अध्यक्षका रुपमा प्रचण्डकै निरन्तरता चाहन्छन्। 

लामा आफ्नो धारणा प्रष्ट राख्ने व्यक्तिका रुपमा परिचित छन्। अहिले पार्टीको महाधिवेशनमा प्रस्तुत अध्यक्षको प्रतिवेदन र अध्यक्षका बारेमा पनि उनी प्रष्ट छन्। माओवादी केन्द्र र नेकपा एमाले २०७४ फागुन ७ गते पार्टी एकता भएर नेकपा बनेको थियो। तर, लामालाई भने त्यो एकता मन परेको थिएन। 

‘माओवादी र एमाले एकता भएपछि मेरो राजनीतिक सक्रियता सुषुप्त अवस्थामा गयो।  त्यो एकता प्रक्रियाबाट माओवादीले लिएको एजेन्डा सही ठाउँमा पुग्दैन भन्ने मलाई लागेको थियो,’ लामा स्मरण गर्छन्, ‘संघीयता, समावेशी लोकतन्त्रको पक्ष र विपक्षमा रहेको पार्टी एक भएपछि त्यो ठिक हुँदैन भन्ने लागेपछि म चुपचाप बसेँ। यद्यपि पार्टी छाडेको भने थिइनँ।’

उनको विचारमा पार्टी एकता मतका लागि, रणनीतिक र सत्ताका लागि ठिक भए पनि अन्य हिसाबले सही थिएन।  

‘कालो र सेतो मिसाउँदा कुनै एक रङ देखिँदैन। त्यो एकता त्यस्तै थियो,’ उनले भने, ‘त्यसैले म सक्रिय भइनँ।’ 

‘एमाले जहाँ पनि एमाले दल हुनपर्छ र जे मा पनि एमाले हुनपर्छ भन्ने थियो,’ उनको आरोप छ, ‘एमाले एउटै नश्ल र जातिका व्यक्तिले सञ्चालन गरेका कारण एउटै प्रवृत्ति छ। माओवादीमा सिंगो देश देखिन्छ।’

माओवादीले तत्कालीन समयमा लिएको एजेन्डा चित्त बुझेर नै आफू २०६५ सालमा पार्टीमा आबद्ध भएको लामा बताउँछन्। 

चलचित्र विकास बोर्ड र राखेपको जिम्मेवारी दिएपछि मात्र उनी माओवादी बनेको भन्ने आरोप पनि लाग्ने गरेको छ। लामा त्यसलाई अस्वीकार गर्छन्। 

‘बोर्ड र राखेपमा पद दिएको कारण म माओवादी बनेको होइन। पार्टी सत्तामा नहुँदा प्रवेश गरेको हुँ,’ उनले थपे, ‘यहाँ जमिनसँग जोडिएका मान्छेहरु छन्। त्यसैले म माओवादी भएको हो। हो कतिपय लेनिन र मार्क्सका कुरा म बुझ्दिनँ। तर, माओवादी भएपछि दिएको जिम्मेवारीमा मैले काम गरेको हो।’ 

काठमाडौँमा माओवादीको आठौँ महाधिवेशन जारी छ। आफ्नोतर्फबाट त्यसमा केही सहयोग गर्नपर्छ भनेर केन्द्रीय प्रतिनिधिको रुपमा महाधिवेशनमा भाग लिइरहेको लामा बताउँछन्। 

‘अध्यक्ष प्रचण्डले पेस गरेको दस्तावेजमा अहिलेको राजनीति अध्यारो ठाउँमा पुग्यो भन्ने छ। सीमित मान्छेको हातमा अर्थनीति पुग्यो भन्ने छ,’ उनmले भने, ‘आर्थिक रुपमा उत्पादन, वितरण र त्यसबाट मुनाफा कमाउने भन्ने थियो तर अहिले त्यस्तो छैन। बैंक कहिले घाटामा गएको छैन तर बैंकबाट ऋण लिएकाहरु घाटामा गएका छन्। यस्तै पर्यावरणको विषयमा स्पष्ट नीति दस्तावेजले बोलेको छ।’  

महाधिवेशनपछि माओवादी २०६४ कै अवस्थामा फर्कनसक्छ भन्ने ठोकुवा गर्ने अवस्था नभए पनि अब पार्टी बलियो हुनेमा लामा विश्वस्त छन्। 

‘दस्तावेजमा जनयुद्ध कालदेखि २०६२/६३ जनआन्दोलन सम्म र त्यसपछि २०७८ सम्मको माओवादी र पार्टीले चालेको राजनीतिक रणनीतिहरुको गम्भीर र निर्ममतापूवर्क समीक्षा भएको छ। पार्टी अध्यक्षले यो गल्ती मेरो कारणले भएको भनेर पनि समीक्षा गर्नुभएको छ। अहिलेको दस्तावेज माओवादी र देशलाई नै नयाँ कार्यदिशा दिने खालको छ,’ उनले थपे। 

अन्य अधिकांश सहभागीजस्तै लामा पनि माओवादीमा प्रचण्डको विकल्प तत्कालका लागि देख्दैनन्। 

‘मलाई प्रचण्डको झोले र पक्षपाती भन्ने आरोप लाग्ने गरेको छ तर प्रचण्डको भिजन र उहाँको विचार हेर्दा एकदेखि १० सम्म प्रचण्ड आफैँ उठ्ने हो। अन्य साथीहरु ११ नम्बरबाट बाट सुरु हुन्छ,’ उनले भने, ‘धेरैले प्रचण्डले केही गरेन, आफैँ प्रचण्ड हुन्छु भनेर गएका छन्। बाबुराम जानुभयो। मोहन वैद्य जानु भयो। उहाँहरुको हालत हेर्नुभएको छ? अहिले उहाँहरु कहाँ हुनुहुन्छ। प्रचण्ड कहाँ हुनुहुन्छ? कति त अहिले एकता प्रक्रियामा आउनु भएको छ। प्रचण्ड एकैपटक प्रचण्ड भएका होइनन्।’ 

लामाको बुझाइ छ, नेतृत्व परिवर्तन त हुन्छ नै तर अहिले हतार गर्नुहुन्न। युवा र त्यागी नेताहरुले मेहनत गर्नुपर्ने उनको सुझाव छ। लामा आफँै भने केन्द्रमा आउन हतारिएका छैनन्। 

‘म आउनुपर्छ भन्ने छैन। म काम गर्ने मान्छे हुँ। पार्टीले काम दिँदा पार्टीको काम गर्ने हो। काम नदिदा आफ्नो काम गर्ने हो,’ उनले भने।

लामा चुरे संरक्षण तथा पर्यटन प्रवर्तन अभियानमा पनि सक्रिय छन्। त्यसको सञ्जाल २१ जिल्लामा विस्तार भइसकेको छ। त्यसका उनी केन्द्रिय संयोजक हुन्। त्यसका अलावा होटल तथा पर्यटन व्यावसायी महासंघमा आबद्ध छन् भने पार्टीको खेलकुद विभागमा पनि छन्। 

‘पद भन्ने कुरा ठूलो होइन, काम जहाँबाट पनि गर्न सकिन्छ,’ उनी भन्छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .