ad ad

राजनीति


माओवादी सुदूरपश्चिम नेतृत्वमा ८ नेताको दाबी, कसले मार्ला बाजी?

सुदूरपश्चिममा माओवादी प्रदेश कमिटी पदाधिकारीले अझै पाएन पूर्णता
माओवादी सुदूरपश्चिम नेतृत्वमा ८ नेताको दाबी, कसले मार्ला बाजी?

गोकुल जोशी
पुस १५, २०७८ बिहिबार १३:३२, काठमाडौँ

महेन्द्रनगर। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा प्रदेशको नेतृत्व लिन नेताहरुबीच रस्साकस्सी चलेको छ। 

नेतृत्वको लागि आकांक्षी बढी हुँदा माओवादी केन्द्रले सुदूरपश्चिममा नेतृत्वसहित प्रदेश कमिटी पदाधिकारी टुंग्याउनसकेको छैन। 

माओवादी केन्द्रले सहमतिमा नेतृत्व टुंग्याउने तयारी गरे पनि आकांक्षीबीच सहमति हुन नसकेपछि नेतृत्व टुंग्याउन नसकेको हो। 

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा ८ जनाले दाबी गरेका छन्।

वर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य शरदसिंह भण्डारी, केन्द्रीय सदस्य वीरमान चौधरी, नेपबहादुर चौधरी, कञ्चनपुर इन्चार्ज देवीलाल चौधरी, बैतडी इन्चार्ज नरेन्द्र कुँवर, राष्ट्रिय सभा सदस्य हरी चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मान बहादुर धामी र प्रदेश कमिटी सदस्य हरी ज्ञवालीले अध्यक्षमा आँकाक्षा देखाएका छन्। उनीहरु प्रदेशको नेतृत्व हत्याउन शक्तिकेन्द्रसँगको लबिङमा सक्रिय छन्।

प्रदेश सम्मेलन सम्पन्न भएको झण्डै एक महिना पुग्नै लाग्दा पनि प्रदेश कमिटीले पूर्णता पाउनसकेको छैन।

मंसिर २४ र २५ गते धनगढीमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सम्मेलन आयोजना गरेको थियो। तर, नेतृत्वका आकांक्षीले आफ्नो दाबीबाट पछि नहट्दा प्रदेशले नयाँ नेतृत्व पाउन सकेन।

नेतृत्वका आकांक्षीबीच सहमति खोज्न सम्मेलन कात्तिक २८ गतेसम्म लम्ब्याइयो। यद्यपि यसबीचमा पनि सहमति जुट्न सकेन।

नेतृत्वका आकांक्षीहरुबीच सहमति नजुट्दा प्रदेश कमिटी पदाधिकारीले पूर्णता पाउन नसकेको माओवादीका एक नेताले बताए। 

‘नेतृत्वमा धेरै साथीहरुको आकांक्षा छ, उहाँहरु कोही पनि पछाडि हट्न नमानेपछि नेतृत्व टुंग्याउन नसकिएको हो’, ती नेताले भने।

आठौँ राष्ट्रिय सम्मेलनबाट एकाएक महाधिवेशनतर्फ मोडिएको माओवादी केन्द्रको महाधिवेशन काठमाडौँमा जारी छ। 

प्रदेश सम्मेलनमार्फत नै पदाधिकारी टुंग्याउनुपर्ने भए पनि आकांक्षीबीच सहमति नजुट्दा सदस्य मात्रै टुंग्याएर पहिलो प्रदेश सम्मेलन सम्पन्न भएको थियो।

सुदूरपश्चिममा माओवादीको नेतृत्वको लागि आकांक्षी बढी हुँदा नेताहरुको व्यवस्थापनमा चुनौती रहेको ती नेताको दाबी छ।

‘केन्द्रीय कमिटीमा गएका नेताहरु पनि प्रदेश अध्यक्षको आकांक्षी छन्। कोही केन्द्रमा नगएर प्रदेशको नेतृत्वका लागि बसेका नेताहरु छन्’, ती नेताले भने, ‘त्यसैले आकांक्षी बढी हुँदा उहाँहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती छ।’

राष्ट्रिय महाधिवेशनपछि पदाधिकारी टुंग्याइने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव देवीलाल चौधरीले बताए। 

‘महाधिवेशनपछि प्रदेश पदाधिकारीले पूर्णता पाउँछ’, उनले भने, ‘प्रदेश सम्मेलनलगत्तै महाधिवेशनको चटारोमा थियौँ, हामीले छलफल गर्न पाएनौँ, त्यसैले ढिलाइ भएको हो।’

सहमति भए सर्वसम्मत नभए चुनावी प्रक्रियाबाट भए पनि राष्ट्रिय सम्मेलनपछि पदाधिकारी टुंग्याइने उनले बताए। 

उनका अनुसार सम्मेलनले २ सय २३ सदस्य प्रदेश कमिटी चयन गरेको थियो। अध्यक्षसहित ९ सदस्यीय पदाधिकारी टिम भने टुंग्याउन बाँकी छ। 

अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्षसहित माओवादी केन्द्रले २ सय २३ सदस्यीय प्रदेश कमिटी बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .