ad ad

राजनीति


‘लो प्रोफाइल’का गुरु बराल : जसले देउवाको टिमबाट केन्द्रीय सदस्य जिते

जिल्लामा जमेनन्, तर शक्ति केन्द्र रिझाउन सिपालु
‘लो प्रोफाइल’का गुरु बराल : जसले देउवाको टिमबाट केन्द्रीय सदस्य जिते

वाशुदेव मिश्र
पुस ५, २०७८ सोमबार १३:५७, पोखरा

गुरु बराल पोखराकै हकमा एक ‘रहस्यमयी’ युवा नेतामा गनिन्छन्।

नेपाल विद्यार्थी संघको कास्की सभापति हुँदै केन्द्रीय उपसभापतिसम्म भएका बराल कास्की कांग्रेसभित्र रुचाइएका र प्रभाव राख्ने व्यक्ति पनि होइनन्। 

तर, उनैले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यका लागि २५ नम्बरमा आफ्नो ठाउँ सुरक्षित गरे। 

सञ्चारमाध्यममा नछाउने र जिल्लाकै राजनीतिमा पनि उतिसारो चर्चा नहुने उनले १८७० मत प्राप्त गरे। खुलातर्फका ३५ केन्द्रीय सदस्यमा उनी सम्भवत: सबैभन्दा 'लो प्रोफाइल' का नेता पनि

उनी ३५ जना खुला केन्द्रीय सदस्यमा २५ नम्बरमा परेर विजयी हुँदा कास्कीबाटै उम्मेदवारी दिएका पूर्वमन्त्री यज्ञबहादुर थापाले भने पराजय भोगे। 

काठमाडौंमा महाधिवेशनमा चलिरहँदा उनको चर्चा कहीँ सुनिएन। बरु मतगणना हुँदा शीर्ष ३५ भित्र पर्न थालेपछि एमाले नेता गुरु बरालसँग नाम जुध्दा धेरै कांग्रेस कार्यकर्ता पनि झुक्किए। 

गुरु बराल पार्टी सभापति शेरबहादुर देउवाको प्यानलमा अटाएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको सम्बन्ध पनि उस्तै छ।

कुनै बेला नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदा बराल देउवासँगै थिए। बीचमा उनी देउवासँग बिस्तारै टाढिँदै गए। कांग्रेसको १३ औं महाधिवेशनसम्म पनि उनको देउवासँग राम्रो सम्बन्ध थिएन। 

१३ औं महाधिवेशनको क्रममा बरालले  कास्की सभापतिमा लड्ने घोषणा गरे तर मैदानमा उत्रिएनन्। 

बरु उनले एकाएक २०७४ सालको चुनावमा प्रदेश सभा सदस्यको टिकट पाए। २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ ‘क’बाट प्रदेश सभा सदस्यमा उनी एमाले कास्की सभापति कृष्ण थापासँग ठूलो मतान्तरले पराजित हुन पुगे। 

थापाले १५ हजार ३ सय २९ मत प्राप्त गर्दा बरालले ८ हजार ३ सय २५ मत प्राप्त गरेका थिए। 

पोखराको आर्वामा जन्मेका बराल कास्की क्षेत्र नम्बर २ ‘क’ का परिचित अनुहार थिएनन्।

स्वर्गीय रवीन्द्र अधिकारीको जन्मथलो रहेको त्यस क्षेत्र यसै पनि एमालेको गढ मानिन्छ। वाम गठबन्धन भएको बेला त्यहाँबाट उम्मेदवारी दिनु नतिजाको पहिल्यै आंकलन बराबर थियो। 

२०७४ को प्रदेशसभा निर्वाचन त्यस्तै पनि भयो। तर गुरुले एमालेको पकड क्षेत्रमा गएर चुनावी प्रचारलाई व्यापक बनाए। 

चुनावी प्रचारमै नेपालखबरसँगको एउटा अन्तरंग भेटमा उनले भनेका थिए,‘रवीन्द्र अधिकारीको क्षेत्र निर्मलपोखरी–भरतपोखरीमा पुगेपछि थाहा भयो, हामी संगठन बनाउने काममा साह्रै कमजोर रहेछौँ। उत्तर कोरियामा गएर चुनाव लड्दै छु तर यहाँबाट म सिक्दैछु।’ 

उनले सिकेकै रहेछन्! १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका बराल एकाएक देउवाको टिममा अटाए। 

मै हुँ भन्ने हस्तीहरूले सो टिममा ठाउँ नपाउँदा गुरु कसरी खुलातर्फको सदस्यको लिस्टमा परे? अहिले देउवा टिममै रहेका कांग्रेसीहरु छक्क परेका छन्। 

‘देउवासँग दाइको सम्बन्ध कहिले जोडिँदै कहिले फुट्दै गरेको जस्तै थियो’, उनीबारे टिप्पणी गर्दै एक युवा नेताले भने,‘कास्कीमा उहाँले आफ्नो ग्राउण्ड बनाउन सक्नुभएन। तर शक्तिकेन्द्र चाहिँ मज्जाले रिझाउनु भएको रहेछ।’ 

पार्टीका नेतालाई नै प्रभाव पार्न सक्ने शक्तिकेन्द्रबारे भने उनले खुलाएनन्। ‘निष्ठा इमान्दारीता निरन्तरता’को नारा दिएर चुनावी मैदानमा उत्रेका बराल विद्यार्थी राजनीतिमा छँदा कास्कीमा खुबै खटिन्थे। 

नेपाल विद्यार्थी संघको राजनीति गरेर हाल कास्की कांग्रेसका सहसचिव नवीन सिग्देलको भनाइमा उनी फिल्डमै खटिने नेतामध्येमा पर्छन्। 

यसपटक नेवि संघको राजनीति गरेका प्रतिनिधिहरु धेरै आउँदा र युवाप्रतिको क्रेज बढ्दाको फाइदा पनि गुरुलाई मिलेको उनले टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .