ad ad

राजनीति


खुलातर्फको कांग्रेस केन्द्रीय सदस्यमा आधा नयाँ अनुहार

भ्रातृसंगठनका नेता आइपुगे माउपार्टी हाँक्न
खुलातर्फको कांग्रेस केन्द्रीय सदस्यमा आधा नयाँ अनुहार

कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित नया अनुहारहरु


केशव सावद
पुस ४, २०७८ आइतबार २१:९, काठमाडौँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा खुला केन्द्रीय सदस्यतर्फ झण्डै आधा नयाँ अनुहारको ‘उदय’ भएको छ। 

केन्द्रीय कार्यसमितिमा नवोदित नेतामा कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनमा आवद्धदेखि यसअघि असफल भएकाहरु निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार ३५ मध्ये १६ जना पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

खुला केन्द्रीय सदस्यहरुको सम्पन्न मतपरिणाम अनुसार कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लोकप्रिय मतका साथ विजयी भएका छन्। 

पार्टीको ‘नर्सरी’ को रुपमा लिइने नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजीव ढुंगाना र शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीको केन्द्रीय सदस्यका रुपमा ‘इन्ट्री’ भएको छ। 

१४ औँ महाधिवेशनबाट नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र पूर्वमहामन्त्री कुन्दनराज काफ्ले पनि केन्द्रीय सदस्यका रुपमा मातृ पार्टी कांग्रेसको राजनीति सुरु गर्ने अवसर पाएका छन्। 

यस्तै १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित नेता उदय शमशेर राणा र रामहरि खतिवडा पनि यसपटक लोकप्रिय मतका साथ निर्वाचित भएका छन्।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ‘सीईओ’ पदबाट राजीनामा दिएर प्युठानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका डा. गोविन्दराज पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

इन्जिनियरिङ पेशामा आवद्ध इन्जिनियर मोहन आचार्य पनि १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा ‘इन्ट्री’ गर्ने नेतामा पर्छन्। 

गुण्डा नाइकेको छवि बनाएका युवा नेता गणेश लामासँगै दिनेश कोइराला, गुरु बराल, उमेशजंग रायमाझी पनि केन्द्रीय कार्यसमितिमा नवोदित नेताको सूचीमा पर्दछन्। 

पूर्वमन्त्रीसमेत रहेका कांग्रेस बर्दियाका पूर्वसभापति सञ्जयकुमार गौतम र कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य पनि कांग्रेस केन्द्रीय कार्यसमितिमा खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका छन्। 

खुलातर्फ ३५ जना निर्वाचित हुने केन्द्रीय सदस्य पदका लागि ९९ जनाको उम्मेदवारी परेको थियो। निर्वाचित केन्द्रीय सदस्यमध्ये १६ जना पहिलो पटक पार्टीको केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका हुन्। 

अन्य १९ जना केन्द्रीय सदस्य यसअघि नै केन्द्रीय कार्यसमितिका विभिन्न पद ओगटी सकेका नेतामा पर्दछन्। जसमध्ये निवर्तमान महामन्त्री डा. शशांक कोइराला सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन्। 

डा. कोइरालाको नाम शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंह प्यानलमा राखिएको थियो। देउवा प्यानलबाट खुला केन्द्रीय सदस्य पदमा सर्वाधिक मत भने एनपी साउदले ल्याएका छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .