ad ad

राजनीति


उत्तर कोरियाको प्योङयाङ नगर प्रमुख काठमाडौंमा, मेयर शाक्यसँग शिष्टाचार भेट

उत्तर कोरियाको प्योङयाङ नगर प्रमुख काठमाडौंमा, मेयर शाक्यसँग शिष्टाचार भेट

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ३:६,

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग उत्तर कोरियाको प्योङयाङ नगरका प्रमुख चा हुइ रिमले शिष्टाचार भेट गरेका छन्।

एक हप्ता लामो भ्रमणका लागि ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार काठमाडौं आइपुगेका रिमले आएकै दिन साँझ मेयर शाक्यसँग भेट गरेका हुन्।

भेटका क्रममा मेयर शाक्यले प्योङ्याङ्सँग भगिनी सम्बन्ध स्थापना गर्ने समयमा उत्तर कोरिया पुगेको स्मरण गर्दै त्यसयता सक्रिय संवाद नभएको दुई नगरबीच यस वर्षको इन्द्रजात्राले संवाद सुरु गराएको बताए।

‘गएको इन्द्रजात्रामा हामीले महानगरसँग भगिनी सम्बन्ध भएका सबै नगरलाई जात्रा अवलोकनका लागि बोलाएका थियौं। त्यस क्रममा यहाँहरू आउन सक्नुभएन । म आशा गर्छु, आउँदो वर्षको जात्रामा यहाँहरू अवश्य आउनु हुनेछ,’ आपसी सहयोगका विषयमा कुरा गर्दै मेयर शाक्यले भने, ‘आवश्यकताअनुसार आउँदा दिनमा प्योङ्याङ्ले सहरी सेवा व्यवस्थापनका लागि प्रविधिमा सहयोग गर्न सक्छ।’

त्यस क्रममा बोल्दै प्योङ्याङ्का मेयर रिमले भगिनी सम्बन्ध स्थापना भएदेखिकै पहिलो भ्रमण भएकाले काठमाडौं महानगर, यहाँको विकास र जनताका आवश्यकताबारे परिचित हुनु अहिलेको भ्रमणको उद्देश्य रहेको बताए।

‘हामी शान्ति र काठमाडौंसँगको आत्मीय सम्बन्ध चाहन्छौं। यस कोणबाट काठमाडौंको भ्रमण हाम्रा लागि उपलब्धिमूलक हुने मलाई लागेको छ,’ रिमले भने।

प्रतिनिधि मण्डलमा २ जना डिस्ट्रिक्ट चेयरम्यानसहित नगरका उच्च अधिकारी र अन्तराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरू छन्। शिष्टाचार भेटका क्रममा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ् मान पनि सहभागी थिए। प्रतिनिधिमण्डल यही कात्तिक २६ गते स्वदेश फर्किनेछ।

शिष्टाचार भेटपछि प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गरिएको थियो। त्यस अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, कार्यपालिका सदस्यहरू, समितिका पदाधिकारीहरू तथा विभागीय प्रमुखहरूको सहभागिता थियो।

उत्तर कोरियाको प्योङ्याङ् नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने क्रममा सन् २००१ मा काठमाडौं नगरको प्रतिनिधि मण्डल त्यसतर्फ गएको थियो। त्यसको १ वर्षपछि भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो। त्यसबेला महानगरको प्रमुख केशव स्थापित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .