ad ad

छापा खबर


यस्ता छन् जिल्ला न्यायाधीशले गरेका प्रश्नमा सांसद आलमका उत्तर

यस्ता छन् जिल्ला न्यायाधीशले गरेका प्रश्नमा सांसद आलमका उत्तर

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार २:३२,

चुनावका बेला बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टाको आगोमा हालेर जलाएको आरोपमा पक्राउ परेका सांसद अफ्ताब आलमको मुद्दामा बिहीबारदेखि थुनछेक बहस सुरु भएको  छ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि वकिलहरूले बहस गरेका थिए। बहस नसकिएकाले शुक्रबार पनि जारी रहनेछ ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमले दिएका बयान  दिएकाे बयान आजको नयाँ पत्रिकाले छापेको छ। 

 प्रश्न :  नेपालको संविधानले तपाईं आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको छ । यदि तपाईंले आफ्नोविरुद्ध बोल्नुभयो भने त्यो तपाईंको विरुद्धमा प्रमाण लाग्ने कुराको जानकारी गराइएको छ । यसको मतलब बुझ्नुभयो नि? 

उत्तर : नेपालको संविधानले आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको कुरा मलाई थाहा छ । मैले आफ्नो विरुद्ध बोल्यो भने मेरो विरुद्धमा प्रमाणमा लाग्ने कुरा मलाई बुझाउँदा बुझेँ । जानकारी पाएँ ।

प्रश्न : सो मुद्दाबाहेक तपाईंउपर फौजदारी मुद्दा परेको छ–छैन, परेको भए फैसला भई सजाय पाएको तथा हाल कारबाही अवस्थामा चलिरहेको छ–छैन? 

उत्तर : प्रस्तुत मुद्दाबाहेक मउपर कुनै फौजदारी मुद्दा परेको छैन । कारबाही अवस्थामा नरहेको हुँदा सजाय पाउने कुरा भएन । कुनै सजाय पाएको छैन । 

प्रश्न : प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता तथा जाहेरवालाहरू श्रीनारायण सिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरीशंकर राम चमारसँग चिजान, लेनदेन, कारोबार, रिसइबी छ–छैन ? 

उत्तर : प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता र जाहेरवालाहरू श्रीनारायणसिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरी शंकर राम चमारलाई मैले चिनेको छैन । नचिनेको हुँदा नाता, लेनदेन, रिसइबी, कारोबार केही पनि छैन । 

प्रश्न : तपाईंउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि तपाईंले प्राप्त गर्नुभयो, पढ्नुभयो, अभियोगका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार हुनुहुन्छ ? 

उत्तर : मउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि मैले प्राप्त गरेँ । अभियोगको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन म तयार छु । दिन सक्छु । 

प्रश्न :  तपाईं वारदात भएको भनिएको २७ चैत ०६४ बिहानदेखि बेलुकासम्म कुन कुन ठाउँमा के गर्दै हुनुहुन्थ्यो ? तपाईंको को–कोसँग भेटघाट भएको थियो ? 

उत्तर : वारदात भएको भनिएको मितिमा निर्वाचन प्रचारप्रसार गर्न बन्द थियो । त्यसैले म सो दिन बिहानदेखि बेलुकासम्म म राजपुरअन्तर्गतको आफ्नै निवासमा थिएँ । साथीहरूसँग निर्वाचनको अवस्थाबारे व्यवस्थापन गर्ने विषयमा छलफल गरी बसेको थिएँ । 

प्रश्न : अन्य प्रतिवादीहरू मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भनिने शेख सराज, शेख फजेल हक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साहसँग तपाईंको चिनजान छ छैन ? नाता सम्बन्ध पर्छ–पर्दैन ? चिनजान भए निजहरूको वतन खुलाइदिनुस् । 

उत्तर : प्रतिवादीमध्ये मोहम्मद महताब आलम मेरा सहोदर भाइ हो । अन्यलाई म चिन्दिनँ । 

प्रश्न : हत्या गरिएको भनिएको ओसी अख्तर, त्रिलोकप्रताप सिंह चिन्नुहुन्छ ? निजहरू तपाईंको चुनाव प्रचारमा थिए ? 

उत्तर : उनीहरूलाई मैले चिनेको छैन । त्यसो हुँदा ०६४ को चुनावमा मेरो प्रचारमा सहभागी गराएको छैन । 

प्रश्न : ०६४ को चुनावमा तपाईंको प्रचारमा भारतीय नागरिक पनि समेत थिए–थिएनन् ? 

उत्तर : ०६४ को चुनावमा मेरो प्रचारप्रसारमा भारतीय नागरिक कोही पनि सामेल थिएनन् । 

प्रश्न : १८ वैशाख ०६५ मा ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जाहेरी दरखास्तमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईंको राय के छ ? 

उत्तर : ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जोहरी दरखास्तमा उल्लिखित व्यहोरा सुनेँ । घटना भएको छैन । सबै काल्पनिक र झुटा हुन् । 

प्रश्न : ९ असार ०६५ मा अनुसन्धानका क्रममा गरेको बयान पढी सुनाइन्छ । त्यो बयान के हो ? त्यसमा लगाईको सही छाप तपाईंको हो ? 

उत्तर :  बयान सुनेँ । ठीक छ । बयान म आफैँले गरेको हुँ । बयानमा गरेको सहीछाप मेरै हो । 

प्रश्न :  राजा इँटा उद्योगमा भएको १५ वैशाख ०६५ मा भएको मुचुल्का पढी सुनाइन्छ । यसमा तपाईंको भनाइ के छ ? 

उत्तर : घटना भएको छैन । त्यसो हुँदा राजा इँटा उद्योगबाट प्रहरीले खरानी लगे–नलगेको थाहा भएन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .