ad ad

राजनीति


‘ओली महेन्द्रको बाटोमा, नेपाल-भारतबीच चीनलाई निम्त्याए’

‘ओली महेन्द्रको बाटोमा, नेपाल-भारतबीच चीनलाई निम्त्याए’

खगेन्द्र गिरी
कात्तिक २२, २०७६ शुक्रबार ३:२४,

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपाल र चीनबीच सुरक्षा सहकार्य बढेको भन्दै भारतका सुरक्षा विज्ञहरूले चासो बढाएका छन्।

नेपाल–चीन सम्बन्धमा दिल्लीका विज्ञहरूको मुख्य चासो नै सुरक्षा मामिलामा देखिएको छ, आर्थिक सहकार्यलाई सामना गर्न भारतले पनि नेपालसँग सहकार्य बढाउनु पर्ने उनीहरूको तर्क छ।

नेपाल–चीन सम्बन्धबारे अध्ययन गर्दै आएका भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले सी चिनफिङको नेपाल भ्रमण ‘ऐतिहासिक’ रहेको बताए।

‘सीको भ्रमणमा हिमालयपार रेलमार्ग र रणनीतिक तथा सुरक्षा साझेदारी अघि बढाउने सम्झौता भएको छ’, मेहताले दिल्लीबाट फोनमा नेपालखबरसँग भने, ‘त्यसैले त्यो भ्रमण महत्वपूर्ण र ऐतिहासिक भयो।’

नेपालको इतिहासमा चीनबाट यस्तो भ्रमण कहिल्यै नभएको उल्लेख गर्दै मेहताले थपे, ‘नेपालका तिनै तहको सरकारमा कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमत रहेका बेला यो भ्रमण भएको छ।’

असोज अन्तिम साता भएको सीको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धले नयाँ उचाई लिएको र अब नेपाल–चीन ‘रणनीतिक साझेदार’ भएको घोषणा गरियो। सीले नेपाललाई ‘ल्यान्डलक्ड’ बाट ‘ल्यान्डलिंक्ड’ मुलुक बन्न सघाउने बाचा गरे।

सीको ऐतिहासिक भ्रमणले नेपाल–चीन सम्बन्धको स्तरोन्नति मात्र गरेको छैन, अन्य छिमेकीसँगको सम्बन्धमा पनि तरंग पैदा गरेको छ। दिल्लीमा अहिले ‘नेपाल चीनतर्फ ढल्किएको’ भन्दै चिन्ता व्यक्त हुँदै आएको छ।

तर, सम्बन्धका अन्य पाटाभन्दा नेपाल र चीनबीच पछिल्लो समय बढेको सुरक्षा सहकार्य भारतका लागि टाउको दुःखाइको विषय बन्ने विज्ञहरूको धारणा छ।

इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आईडीएसए) का प्राध्यापक एसडी मुनी सी भ्रमणका बेला चीनले नेपालसँग सुरक्षा सझोदारी बढाएकाले दिल्ली सशंकित भएको बताउँछन्।

‘चीनसँग नेपालको आर्थिक सम्बन्ध बढ्दा भारतलाई केही फरक पर्दैन’, दिल्लीका नेपाल विश्लेषक मुनी भन्छन्, ‘तर, चीनले नेपालमा सामरिक स्वार्थमा बढी जोड दियो भने राम्रो हुँदैन। सी भ्रमणका क्रममा नेपाल–चीनबीच रणनीतिक मात्र होइन, सुरक्षा साझेदारीको कुरा पनि अघि बढ्यो, जसमा भारत सशंकित हुने ठाउँ छ।’

सन् २०१७ बाट नेपाल–चीनबीच संयुक्त सैन्य अभ्यास सुरु भएसँगै चीनले नेपाली सेनालाई दिने सहयोग वृद्धि गरेको छ। राष्ट्रपति सीको भ्रमणलगत्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीन भ्रमण गरेका थिए। सो भ्रमणमा चीनले १५ करोड युआन बराबरको सैन्य सहयोग दिने सम्झौता भएको थियो। त्यसअघि करिब १० करोड युआन सहयोगको घोषणा गरेको चीनले त्यसमा ५० प्रतिशत वृद्धि गरेको हो।

मुनीको मुख्य चासो यस्तै सुरक्षा सहकार्यमा देखिन्छ।

‘रक्षाको विषयमा चीनसँग सहकार्य गर्नुपर्ने गरी नेपाललाई कोबाट खतरा छ?’ उनको प्रश्न छ।

प्राध्यापक मुनी नेपाल–भारत सम्बन्धको दिशा दुई देशको सरकारमा निर्भर रहने बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्रकै बाटोमा हिंड्दा नेपाल–भारत सम्बन्ध बिग्रेको उनको आरोप छ।

‘जसरी राजा महेन्द्रले सन् १९६० र ७० को दशकमा नेपाल र भारतको बीचमा चीनलाई निम्त्याएका थिए, धेरै हदसम्म अहिले ओली पनि त्यही दोहो¥याइरहेका छन्’, मुनिले भने, ‘तैपनि भारत एक जिम्मेवार मुलुक भएकाले नेपाललाई केही भनेको छैन। नेपालको भलो हुने काममा भारतले समर्थन गर्नुपर्छ।’

‘रणनीतिक साझेदारी चिन्ताको विषय होइन’
आईडीएसएकै अर्का अध्येता डा. निहार नायक भने नेपालले भारतका मुख्य चासोलाई सम्बोधन गरुञ्जेल नेपाल–चीन रणनीतिक साझेदारीबाट भारतले चिन्ता लिनु नपर्ने बताउँछन्।

‘रणनीतिक साझेदारीको अर्थ के हो भने चीनको विदेश नीतिमा अहिले नेपाललाई बढी महत्व दिइएको छ, यसबाट चीनले नेपाललाई गर्ने सहयोगको परिमाण बढ्ने छ,’ उनले नेपालखबरसँग फोनमा भने, ‘जबसम्म नेपाल चीन सम्बन्ध रणनीतिक साझेदारीको सीमामा रहन्छ, तबसम्म भारतलाई कुनै समस्या छैन। तर, जब कुनै सैन्य गठबन्धन बन्छ, तब भारतलाई खतरा पैदा हुन्छ।’

उनले नेपाल–चीन रणनीतिक साझेदारी भारतविरुद्ध लक्षित नरहेको बताए।

‘भारत यतिमात्रै चाहन्छ, नेपालले भारतको कोर कन्सर्नलाई ध्यानमा राखोस्’, नेपालमा दिल्लीको त्यस्तो चासो खुलाउँदै डा. नायकले भने, ‘पाकिस्तानी लगानीमा चल्ने आयोजना, विदेशीको नियन्त्रणमा रहने ठूला पूर्वाधार परियोजना, भारतीय विद्रोहीलाई सुरक्षा सहयोगजस्ता भारतका मुख्य चासोका विषयलाई नेपालले सम्बोधन गरुञ्जेल रणनीतिक भनेपनि बृहत् भनेपनि त्यस्तो साझेदारीले भारतको टाउको दुखाउँदैन।

चीनको उपस्थितिले भारतीय प्रभाव खुम्च्यायो?
पछिल्ला वर्षहरुमा नेपालसहित दक्षिण एसियामा भारतले आफ्नो पकड गुमाउँदै गएको कुटनीतिक क्षेत्रका जानकारहरुको बुझाई छ। खासगरी दक्षिण एसियामा चीनको उपस्थितिले भारतको प्रभाव खुम्च्याएको तर्क गरिन्छ।

दिल्लीका प्रतिरक्षा विश्लेषक मेहता ‘दक्षिण एसियामा चीनको प्रभावलाई चुनौती दिन सम्भव नरहेको’ ठान्छन्।

‘अहिले चीनलाई दक्षिण एसियाको शक्ति मान्नुपर्छ, भुटानबाहेक यो क्षेत्रका सबै देशसँग उसको कुटनीतिक सम्बन्ध छ’, मेहताले भने, ‘नेपालको आर्थिक र राजनीतिक शक्ति सन्तुलन चीनको पक्षमा छ। तर भारतसँग नेपालको खुला सिमानाका कारण चीनले तत्काल भारतसँग बराबरी गर्न मुस्किल छ।’

तर, डा. नायक दक्षिण एसियामा चीनको प्रभाव बढ्दा भारतको प्रभाव खुम्चिएको मान्न तयार छैनन्।

‘भारत र चीन एकअर्काका दुश्मन होइनन्, हाम्रा नीति एकअर्काविरुद्ध लक्षित छैनन्’, उनले भने, ‘दुवै देशका नेता बारम्बार आपसी बैठक गरिरहेका छन्।’

नाकाबन्दी, अपूरा आर्थिक प्रतिबद्धताजस्ता कारणले नेपाल–भारत दूरी बढेको ठम्याइ भारतीय विश्लेषकहरुको छ। यसलाई कम गर्न भारतले आर्थिक सहायता बढाउनु पर्ने तर्क गरिएपनि त्यसमा चीनसँग सामना गर्न कठिन हुने ठम्याई उनीहरूमा देखिन्छ।

‘मुख्यगरी नेपालको आर्थिक विकासमा भारतले ध्यान केन्द्रित गर्नुपर्छ, सरकारले अघि बढाएको सुखी नेपाली, समृद्ध नेपाल लक्ष्यअन्तर्गत काम गर्नुपर्छ’, मेहता भन्छन्, ‘चीनको जति पैसा भारतसँग छैन, तैपनि भारतले नेपाली जनताको प्रेम जित्नुपर्छ।’

नेपालमा रेलमार्ग निर्माणबारे त्रिपक्षीय छलफल हुनुपर्ने मेहताको तर्क छ।

‘चिनियाँ रेल काठमाडौँ हुँदै पोखरा र लुम्बिनी पुग्नेछ तर यसबारे नेपालले भारतसँग कुराकानी गरेको छैन’, उनले भने, ‘रेल सिमानासम्म आयो भने त्यसले सुरक्षामा के अर्थ राख्छ, यसबारे नेपाल र भारतबीच छलफल हुनुपर्छ। भारतले पनि रक्सौल–काठमाडौं रेलमार्ग निर्माण गर्न लागेकाले नेपालमा रेलमार्ग विस्तारबारे दिल्ली र बेइजिङबीच छलफल हुनुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .