२०४८ को आठौं महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका शेरबहादुर देउवाले पहिलोपटक २०५७ माघमा १०औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका थिए। पोखरामा भएको त्यो महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा लडेका देउवाले ५ सय ७ मत ल्याएका थिए। गिरिजा ९ सय ३६ मत ल्याएर विजयी बने।
देउवाले फेरि २०६७ मा भएको १२औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिए। तर फेरि हारे, सुशील कोइरालासँग। दुईपटक कोइराला परिवारसँग सभापति पदमा हारेका देउवाले यसपटक १४औं महाधिवेशनमा भने तिनै कोइराला परिवारका सदस्य शेखर कोइरालालाई हराएका छन् र दोस्रो कार्यकालका लागि पनि कांग्रेसको नेतृत्वकर्ता बनेका छन्। ७६ वर्षका उनी अब फेरि कांग्रेस हाँक्दै छन्।
यतिबेला उनी देशका प्रधानमन्त्री पनि छन्। संयोग नै मान्नुपर्छ– गिरिजा र सुशीलसँग पराजित देउवाले दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा कोइराला परिवारकै सदस्यलाई हराएर चारवर्षे यात्रा सुरक्षित गरे।
काठमाडौंमा आयोजित कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा सभातिका पाँच उम्मेदवार (शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ) कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र निकटतम प्रतिस्पर्धी शेखर कोइरालाबीच मंगलबार पुनः चुनाव गर्दा देउवा विजयी भएका हुन्। बुधबार बिहान सार्वजनिक मत परिणामअनुसार देउवाले ८ सय ७८ मतले उछिन्दै कोइरालालाई हराएका हुन्।
विजयी देउवाले २ हजार ७ सय ३३ मत ल्याए भने पराजित कोइरालाले १ हजार ८ सय ५५ अर्थात् ४० प्रतिशतभन्दा बढी मत ल्याए।
निर्वाचन समितिका अनुसार दोस्रो चरणमा पहिलो चुनावमा भन्दा १ सय १९ मत कम खस्यो। अर्थात् कूल ४ हजार ६ सय २३ मत खस्यो।
२०५७ सालदेखि कांग्रेसको सभापति बन्ने देउवाकाे प्रयास १५ वर्षपछि रामचन्द्र पौडेललाई हराउँदै सफल भयाे- २०७२ मा।काठमाडौंमै भएको १३औं महाधिवेशन (२०७२ फागुन) मा देउवा पहिलोपटक कांग्रेसको सभापति बने। गिरिजाको निधनपछि कांग्रेसमा कोइराला ‘लिगेसी’ थेग्ने कोही नेता नभएका बेला उनी कांग्रेसको नेतृत्वमा पुगेका थिए।
रामचन्द्र पौडेललाई हराएर पार्टी सत्तामा पुगेका देउवाले स्थानीय, प्रदेश र संघीय चुनावमा भने सोचेजस्तो परिणाम ल्याउन सकेनन्। जसका कारण कांग्रेसभित्र उनीप्रति असन्तुष्टि चुलियो र १४औं महाधिवेशनमा उनको नेतृत्वलाई निरन्तरता दिन नहुने आवाज पनि उठ्यो।
तर नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर चर्काे आवाज उठाइरहेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले नै दोस्रो चरणको चुनावमा एकाएक निर्णय फेरे र देउवालाई नै समर्थन गरे, जसका कारण शेखर कोइरालालाई हराउँदै अन्ततः दोस्रो कार्यकालमा पनि उनैले निरन्तरता पाए।
पार्टी विभाजन
२०५७ सालमा गिरिजा कोइरालालाई हराएर सभापति बन्न प्रयास गरेपछि देउवा र कोइरालाबीच मतभेद बढ्यो। यसपछि देउवाले दरबार (ज्ञानेन्द्र शाह) सँग निकटता बढाए। यसबाट पार्टीभित्र झन् विवाद चुलियो। जसका कारण २०५९ असारमा देउवाले मुलुकको सबैभन्दा ठूलो पार्टी कांग्रेस फुटाए र नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरी सभापति बने।
यसपछि राजा ज्ञानेद्रले २०६१ जेठ २० मा उनलाई प्रधानमन्त्री पनि बनाए। तर पछि ज्ञानेन्द्रले असक्षमको आरोप लगाउँदै उनलाई सत्ताच्युत गरे र देशको बागडोर आफ्नै हातमा लिए। अनि देउवाले ०६२/०६३ को जनआन्दोलन हुँदै सुरु भएको शान्ति प्रक्रियापश्चात् २०६४ असोजमा पुनः मूल कांग्रेससँगै पार्टी एकीकरण गरे। त्यसबेला उनले वरिष्ठ नेतासहित ४० प्रतिशत हिस्सा पाए।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा २००३ सालमा जन्मिएका देउवा २५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए। उनले पटकपटक गरेर ९ वर्ष जेलजीवन बिताएका छन्। उनको राजनीतिक यात्रा निकै सफल मानिन्छ। २०४८ सालयताका ६ वटै संसदीय र संविधान सभा निर्वाचनमा उनी डडेलधुराबाट निर्वाचित भइरहेका छन्।
२०४८ मा गृहमन्त्री बनेका उनी त्यसको चार वर्षमै २०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०५८ साउन ११ मा दोस्रो पटक, २०६१ जेठ २० मा तेस्रोपटक, २०७४ जेठ २३ मा चौथोपटक र पछिल्लोपटक २०७८ असार २९ मा पुनः प्रधानमन्त्री बनेका हुन्।
आरोपै आरोप
पटकपटक प्रधानमन्त्री बने पनि देउवालाई सत्तामा टिक्न जम्बो मन्त्रिपरिषद् बनाएको, संसदमा पजेरोकाण्ड भित्र्याएको, संसद् भंग गरेर बहुदलीय व्यवस्था राजालाई सुम्पिएको र नेतृत्व पाउनकै लागि सबैभन्दा ठूलो पार्टी कांग्रेस फुटाएको आरोप लाग्ने गरेका छन्।
Shares

प्रतिक्रिया