ad ad

राजनीति


रामचन्द्रको राजनीतिक ‘अबिच्युरी’ : जसलाई कोइराला परिवारले सधैँ निकट राखे, ‘आफ्नो’ ठानेनन्

रामचन्द्रको राजनीतिक ‘अबिच्युरी’ : जसलाई कोइराला परिवारले सधैँ निकट राखे, ‘आफ्नो’ ठानेनन्

सीताराम बराल
मंसिर २६, २०७८ आइतबार २२:४, काठमाडौँ

२०४६ को परिवर्तनपछि नेपाली कांग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछिको पुस्ताका तीन नेताको एउटा समूह नामका कारण निकै चर्चित थियो। 

नामको अघिल्लो ‘अल्फाबेट’ मिलाएर ‘आरएसएस’ नामकरण गरिएको त्यस समूहका नेतात्रय थिए– रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य। 

रामचन्द्र पौडेल (आर) को नाम सबैभन्दा अगाडि राखेर समूहको नाम ‘आरएसएस’ राखिएको थियो। शैलजा अहिले यो संसारमा छैनन्। राजनीतिमा सक्रिय रहेका दुई नेतामध्ये एक पौडेल नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा पदीय प्रतिस्पर्धाबाटै अलग भएका छन्। 

आम निर्वाचन–२०७९ मा विजयी भएर कांग्रेसले अवसर पाए र जारी १४औं महाधिवेशनबाट निर्वाचित सभापतिको पनि निगाह प्राप्त गरेर पौडेल गणतन्त्र नेपालको राष्ट्रपति बने भने छुट्टै कुरा। नत्र अब उनको राजनीतिक भविष्य र नियति के–कस्तो हुने हो, यतिबेला पौडेल आफैं अन्योलमा छन्। 

सभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गर्दै पौडेलले जारी गरेको विज्ञप्ति हेर्दा निराशै–निराशा देखिन्छ।

‘एक समय थियो, त्यो बेला धेरै कांग्रेसीजनले पार्टीको नेतृत्व पौडेलले गर्छन् भन्ने सोच्थे’, लामो समय नेपाली कांग्रेसको राजनीति गरेका पूर्वमन्त्री जयप्रकाश गुप्ता भन्छन्, ‘चौधौं महाधिवेशनसम्म आइपुग्दा पौडेलले जुन नियति भोग्नुपरेको छ, यसलाई उहाँको राजनीतिक जीवनको दु:खान्त भन्दा हुन्छ।’  

शब्द विन्यास गरेर अर्थ खोज्दा ‘दुःखान्त’ शब्दको अर्थ कुनै व्यक्तिको दुःखद अन्त्य हुनु हो। यसर्थ गुप्ताले भनेजस्तै नेपाली कांग्रेसको जारी चौधौं महाधिवेशन पौडेलको राजनीतिक जीवन ‘दुःखान्त’ नै हुन पुगेको छ। किनभने पार्टीको सभापति नै नबनेपछि सरकार प्रमुख (प्रधानमन्त्री) वा राष्ट्रप्रमुख (राष्ट्रपति) को जिम्मेवारी पाउन पनि सहज हुँदैन।

कांग्रेसभित्र अझै प्रभावशाली कोइराला परिवारबाट आफूलाई धेरै टाढा राख्न नसके पनि यो परिवारको पूर्ण विश्वास प्राप्त गर्न नसक्दा पौडेलले यस्तो नियति भोग्नुपरेको जानकारहरू बताउँछन्। 

२०७२ मा सुशील कोइरालाको निधनपछि कोइराला परिवारको राजनीतिक विरासत धान्न सक्ने दह्रो राजनीतिक व्यक्तित्वको विकास भइसकेको थिएन। यस्तो बेला कोइरालाहरूको वर्चस्व रहेको तत्कालीन संस्थापनको बिँडो पौडेलले थामिदिएका थिए। 

यसै आधारमा पौडेल नेपाली कांग्रेसको १३औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने, तर चुनाव हारे।

पौडेलको पराजयको कारण बन्यो– संस्थापन (तत्कालीन) पक्षको सर्वसम्मत नेता बन्न नसक्नु।

सुशील रहँदासम्म कोइराला समूहमै रहेका कृष्णप्रसाद सिटौलाले सभापतिमा दिएको उम्मेदवारी र दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेका कारण पौडेल हार्न पुगेका थिए। 

१३औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा हार भोगेको २ वर्षपछि पौडेलले अझ ठूलो पराजयको चोट सहन पर्यो। २०४८ देखि प्रतिनिधि सभा र संविधान सभामा विजय हासिल गरिरहेका पौडेल २०७४ को आम निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारसँग तनहुँ–१ मा हारे। 

त्यो असफताले पौडेल २०७४–२०७९ बीचमा प्रधानमन्त्री बन्ने सम्भावना अन्त्य गरिदियो। त्यसो त पहिलो संविधान सभामा पनि उनी प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा १७ पटक हारेका थिए। 

नेपाली कांग्रेसको राजनीतिमा जतिबेला पौडेलको उदय भयो, त्यति बेलाको परिस्थिति विश्लेषण गर्दा पौडेलको यस्तो ‘दुःखान्त’ होला भनेर कल्पना पनि गर्न नसकिने गुप्ता बताउँछन्।

‘२०२७ मा नेपाल विद्यार्थी संघको स्थापना हुँदा विपिन कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, मच्छिन्द्र पाठक सबैभन्दा अग्र मोर्चामा थिए’, गुप्ता भन्छन्, ‘बौद्धिकता, लगनशीलता, इमान्दारिता आदि सबै हिसाबले पौडेलले नै भविष्यमा पार्टीको नेतृत्व गर्नेछन् भन्ने ठानिन्थ्यो।’ 

पञ्चायतविरुद्ध संघर्षरत धेरैजसो कांग्रेसीजनको अनुमानअनुसारै पौडेलले पार्टीभित्र ‘तरक्की’ गर्दै गए। २०४८ को आम निर्वाचनपछिको सरकारको मुख्य प्राथमिकता स्थानीय निर्वाचन थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पौडेललाई स्थानीय विकासजस्तो महत्त्वपूर्ण मन्त्रालय नै दिए।  

२०५१ को मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसले बहुमत गुमायो। एमालेको अल्पमतको सरकार बन्यो। विपक्षमा पुगेको कांग्रेसले प्रतिनिधि सभाभित्र एमाले इतरका शक्तिहरूको समर्थन जुटाएर सभामुखमा आफ्ना उम्मेदवारको जित हुने स्थिति सिर्जना गर्यो। विजय ‘कन्फर्म’ भएपछि पौडेल सभामुखको उम्मेदवार बनाइए।

२०५७ मा गिरिजाप्रसाद कोइराला पुनः प्रधानमन्त्री बनेपछि गृहमन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पौडेलले पाए। जनआन्दोलन २०६२–०६३ पछिको सरकारको प्राथमिकता माओवादी लडाकुहरूको व्यवस्थापनसहितको शान्ति प्रक्रिया थियो। पौडेलले शान्ति मन्त्रालयकै जिम्मेवारी पाए। 

यति हुँदाहुँदै पनि आफ्नो राजनीतिक जीवनमा गरेका केही ‘रणनीतिक गल्ती’का कारण पार्टीको चौधौं महाधिवेशनसम्म आइपुग्दा पौडेल नेतृत्वको दौडबाटै पछि हट्नुपर्ने दुःखद नियति भोग्न बाध्य हुनुपरेको राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण खनाल बताउँछन्। 

प्रा. खनालका भनाइमा– राष्ट्रिय र कांग्रेस राजनीतिमा कोइराला समूह (परिवार) विरुद्ध माहोल बन्दै गएका बेला पौडेल त्यही समूहप्रति बफादार देखिए।  

‘कोइराला समूहमै रहे पनि सुशील कोइरालाको निधनपछि कोइराला खेमा सम्हाल्न सकेको भए पनि पौडेलको यस्तो दयनीय स्थिति हुँदैनथ्यो’, खनाल भन्छन्, ‘तर उहाँले कोइराला परिवारकै समर्थन हासिल गर्न सक्नुभएन। र, चौधौं महाधिवेशनमा उहाँ सभापतिको प्रतिस्पर्धाबाटै बाहिरिनुपर्ने स्थिति सिर्जना भयो।’

प्रा. खनालले भनेजस्तै– कोइराला परिवारबाट सभापतिका आकांक्षी डा. शेखर कोइरालाले दाबी नछाड्दा पौडेल सभापतिको प्रतिस्पर्धाबाट पछि हट्नुपरेको हो। गणेशमान सिंह जीवित छँदासम्म कोइरालाविरोधी समूहमा रहे पनि देउवासँगको मतान्तरका कारण सुशील कोइरालानिकट पुगेका गणेशमान पुत्र प्रकाशमान सिंह पनि पौडेलका लागि सभापतिको उम्मेदवारी छाड्न तयार भएनन्।

जानकारहरूका भनाइमा– पौडेलको परिचय ‘कोइरालाहरूसँग निकट नेता’का रूपमा बने पनि कोइरालाहरूले भने उनलाई कहिल्यै ‘आफ्ना’ ठानेनन्। कारण थियो– गिरिजाप्रसाद कोइरालाविरुद्ध कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको संघर्ष उत्कर्षमा पुगेका बेला पौडेल भट्टराई–सिंहप्रति सहानुभूतिशील देखिनु।  

उता भट्टराई–सिंहले पनि पौडेल आफूहरूप्रति सकारात्मक रहे पनि कोइराला समूहमै रहेका कारण उनलाई उति विश्वास गरेनन्। यही कारण कोइराला परिवारविरुद्ध संघर्षको नेतृत्वका लागि भट्टराई–सिंह दुवैले देउवालाई साथ–सहयोग दिइरहे। 

गिरिजाप्रसाद कोइरालाको तेस्रो प्रधानमन्त्रित्वकाल (२०५७–०५८) मा खेलेको भूमिकाका कारण पौडेलले कोइरालाहरूको विश्वास अझ गुमाए।  

२०५८ को होलेरी काण्डताका पौडेल गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री थिए। होलेरी प्रहरी चौकीमा माओवादी आक्रमण (२०५८ असार) का कारण गिरिजाप्रसाद कोइरालाको सरकार नै संकटमा परेका बेला पौडेलले मन्त्री पदबाट राजीनामा दिए। जसले प्रधानमन्त्री कोइराला थप संकटमा परे। होलेरी काण्डमा सरकार–दरबारबीचको असमझदारी बाहिरिएपछि अन्ततः कोइरालाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्यो। 

पौडेलले साथ दिएका भए कोइराला प्रधानमन्त्री पदबाट बाहिरिनुपर्ने थिएन। कोइरालाको बहिर्गमनपछि देउवा प्रधानमन्त्री बने। 

देउवाले २०५९ मा नेपाली कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा पौडेल झण्डै फुटकै पार्टीतिर लागिसकेका थिए। स्रोतका भनाइमा– पार्टीको नेतृत्व देउवाले गर्ने भए आफूले प्रधानमन्त्री पद पाउनुपर्ने सर्त पौडेलको थियो। 

तर देउवा यो सर्त मान्न तयार भएनन्। त्यही कारण पौडेल देउवाले आफू सभापति बन्न आयोजना गरेको ‘विशेष महाधिवेशन’को उद्घाटनमा गएनन्, आउँछु भनेर पनि। 

आफूलाई साथ दिने वचन दिएर पनि प्रधानमन्त्रीको वचन नपाउँदा पछि हटेका कारण एकातिर पौडेलले देउवाको साथ गुमाए भने अर्कातिर प्रधानमन्त्री पदका लागि देउवासँग नजिकिएका कारण कोइराला परिवारले पनि उनलाई विश्वास गर्न छाड्यो। 

गिरिजाप्रसाद कोइरालासँगको निकटताकै कारण देउवाले ०४८ मा शक्तिशाली गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए। समयक्रममा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको आशीर्वादमा देउवाले कांग्रेसभित्र कोइरालाविरोधी मोर्चाको नेतृत्व गरे। १०औँ महाधिवेशनदेखि नै उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई सभापति पदमा चुनौती दिइरहे। उनलाई कोइरालाविरोधीहरूको साथ र समर्थन सदैव रह्यो। 

पौडेललाई भने सुशील कोइरालाको निधनपछि ‘कोइराला समूह’ भनेर चिनिने ‘तत्कालीन संस्थापन’ समूहकै विश्वास पाउन हम्मे पर्यो। २०७२ मा सम्पन्न १३औं महाधिवेशनमा संस्थापन समूहबाट सभापतिका प्रत्याशी बन्न उनले निकै ‘पापड’ बेल्नपर्यो। 

पौडेलले संस्थापन समूहलाई नेतृत्व दिन नसक्ने भन्दै डा.शेखर कोइराला, सुजाता कोइरालाले अन्तिम समयसम्म दाबी गरिरहे। शेखर र सुजाता अन्तिम समयमा ‘ब्याक’ त भए, तर लामो समय कोइरालाहरूसँग निकट रहेका संस्थापन पक्षकै कृष्ण सिटौला पौडेललाई नेता मान्न तयार भएनन्।  

सिटौलाको उम्मेदवारी र दोस्रो चरणको निर्वाचनमा सिटौलाले दिएको साथका कारण देउवाले पौडेललाई सभापतिमा सहजै जिते। 

१३औं महाधिवेशनमा भोग्नुपरेको पराजय पौडेलको राजनीतिक अवनतिका लागि पानीढलो रहेछ, जुन २०७४ को आम निर्वाचन (तनहुँ–१) मा भएको पराजयले पुष्टि गर्यो। ‘सभापति नभए पनि प्रधानमन्त्री बन्न सक्छन्’ भन्ने विश्वास तनहुँका मतदाताहरूमा हुँदो हो त पौडेलले पराजय भोग्नुपर्ने थिएन। 

हुन त उनी उमेरका कारण पनि राजनीतिबाट अवकाश लिनुपर्ने अवस्थामा पुगिसकेका छन्। तर समकालीनहरू सक्रिय नै रहेको अवस्थामा आफ्नो विदाईलाई उनले सहज मानेनन्। र, सभापतिको उम्मेदवारमा शेखर कोइराला र प्रकाशमान सिंहले समर्थन नगरेको भन्दै शनिबार आँसु झारे। 

उनी कति कमजोर भइसकेका रहेछन्– जारी १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्ने आँट गर्न नसकेको स्थितिबाटै प्रस्ट भयो। 

‘सभापतिमा प्रतिस्पर्धा गर्दिनँ भनेर उहाँले जस्तो विज्ञप्ति जारी गर्नुभएको छ, त्यो विज्ञप्ति अश्रुमिश्रित (आँसुमिश्रित) छ’, गुप्ताले भने, ‘नेपाली कांग्रेसभित्र लामो इतिहास बोकेको संघर्षशील नेताको नाम हो– रामचन्द्र पौडेल। तर चौधौं महाधिवेशनसम्म आइपुग्दा उहाँ कांग्रेसको ‘अशक्त नेता’ बनिसक्नु भएको रहेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .