नवौं महाधिवेशनमा जितेका एमालेका तीन नेतालाई चितवनमा जारी दसौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको सूचीबाट ‘आउट’ गरेका छन्।
सर्वसम्मतीका लागि आइतबार मध्यराति ओलीले बन्दसत्रमा पेस गरेका १९ पदाधिकारीमा नवौं महाधिवेशनबाट निर्वाचन जितेर उपाध्यक्ष बनेका भीम रावल, उपमहासचिव बनेका घनश्याम भुसाल र सचिव बनेका भीम आचार्य नपरेका हुन्। उनीहरू १० बुँदै सम्झौता गरेर एमालेमै रहेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता हुन्।
उता नवौं महाधिवेशनमा सचिव पदमै हारेका विष्णु रिमाल भने एकैचोटि उपहासचिवमा पदोन्नति हुन सफल भएका छन्। नवौं महाधिवेशनमा आफूलाई सचिव पदमै हराएकाहरूलाई उछिन्दै रिमाल उपमहासचिवको सूचीमा परेका हुन्। उनी ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए।
–फर्केर हेर्दा : एमालेको नवौं महाधिवेशनमा कसले कति मत ल्याए?
दसौं महाधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिएका ओलीले आइतबार मध्यराति ३०१ जना केन्द्रीय सदस्य र १९ पदाधिकारीको सूची पेस गरे पनि भीम रावल, घनश्याम भुसाललगायतले असहमति जनाएपछि आज चुनाव हुने सम्भावना छ। रावलले त ओलीलाई चुनौती दिँदै अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
Shares

प्रतिक्रिया