राजनीति


कांग्रेस प्रदेश अधिवेशन : गण्डकी सभापतिमा रघुनाथको उम्मेदवारी

कांग्रेस प्रदेश अधिवेशन : गण्डकी सभापतिमा रघुनाथको उम्मेदवारी

वाशुदेव मिश्र
मंसिर १२, २०७८ आइतबार १९:५१, काठमाडौँ

नेपाली कांग्रेसको जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी छ। जिल्ला अधिवेशन सकिँदै गर्दा मंसिर १६ गते हुने प्रदेश अधिवेशनतिर सबैको चासो बढेको छ। पहिलो पटक विधानमा व्यवस्था गरिएको प्रदेश समितिको अध्यक्ष,पदाधिकारी तथा सदस्यहरूमा उम्मेदवारी घोषणा सुरु भएको छ । 

प्रदेश सभापतिको लागि यसअघि नै कास्कीका युवा नेता देवराज चालिसेले उम्मेदवारी घोषणा गरिसकेका छन् भने तनहुँ कांग्रेसका पूर्वसभापति रुघुनाथ पौडेलले आइतबार आफूलाई सभापतिको प्रत्यासीमा उभ्याएका छन्।

कास्कीकै पाका नेता शुक्रराज शर्माले पनि सोमबार पत्रकार सम्मेलनमार्फत् सभापतिको दावेदारी प्रस्तुत गर्ने तयारी गरिसकेका छन्। महामन्त्रीमा कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीको उम्मेदवारी घोषणा भएको छ।

पूर्वमन्त्री तथा कास्की कांग्रेसका पूर्वसभापति यज्ञबहादुर थापा, गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली तथा पर्वत कांग्रेसका पूर्वसभापति अर्जुन जोशी पनि सभापतिको दौडमा छन्।

तीमध्ये शुक्रराज शर्मा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलको क्याम्प परिवर्तन गरी सभापति देउवा क्याम्पबाट सभापति लड्न खोज्दैछन् भने अर्जुन जोशी देउवा समूहकै प्रभावशाली नेता हुन्।

सभापतिमा आकांक्षीहरु बढ्दा १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन पेचिलो हुने देखिएको छ। केन्द्रीय सदस्यको प्रत्यासी बन्न आँट नगर्ने धेरै पुराना र नयाँ नेताहरुको आँखा प्रदेश समितिमा परेको हो। 

सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै रघुनाथले आफ्नो उम्मेदवारी कांग्रेसलाई बलियो बनाउने उद्देश्यमा समर्पित रहेको जिकिर गरे। वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थनमा आफू सभापतिको प्रत्यासी बनेको बताउने रघुनाथले महामन्त्री शशांक कोइरालाको समर्थन पाउने आशा व्यक्त गरे।

‘मलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले अगाडि बढ् भन्नुभएको छ’,उनले भने, ‘महामन्त्री शशांक कोइरालाले पनि साथ दिने आश्वासन दिनुभएको छ।’

उनले यसअघि नै उम्मेदवारी घोषणा गरेका तथा वरिष्ठ नेता रामचन्द्र समूहमै रहेका देवराजभन्दा आफू योग्य भएको जिकिर गरे। एउटै समूहमा भएपनि १३ औं महाधिवेशनको उपक्रममा देवराज चालिसेले आफूलाई सहयोग नगरेको तीतो पनि उनले पोख्न भ्याए। 

‘१३ औँ महाधिवेशनमा देवराजजी मलाई हराउनै लागिपर्नु भएको थियो। उहाँले नै विभिन्न तरिकाले मलाई हराउनुभयो। वागी लडेर मलाई हराउन लाग्नुभएको थियो’, रघुनाथले भने, ‘यदी रामचन्द्र पौडेल र शेरबहादुर देउवाले मलाई यो कारणले तँ योग्य छैनस् भनुन्, म छाड्न तयार छु।’ 

रघुनाथ तनहुँको जिल्ला कार्यसमिति ३ पटकसम्म सभापति रहेर काम गरेका व्यक्ति हुन्।

२०५३ सालमा पहिलोपटक जिल्ला सभापति पदमा निर्वाचित उनले गिरिजाप्रसाद कोइरालाको आह्वानमा जिल्लामा कांग्रेस भवन खरिद गरेका थिए। २०२४ सालमा उच्च शिक्षा अध्ययन गर्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय उनी पूर्वशिक्षक पनि हुन्।

लामो समय तनहुँ कांग्रेसको सभापति रहे पनि उनले सांसदको टिकट भने पाएनन्। आफैँले पढाएका विद्यार्थीहरुले सांसदको टिकट पाउँदा र सधैँ रामचन्द्रसँगै रहँदा पनि आफूमाथि अन्याय भएको उनले गुनासो गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .