ad ad

राजनीति


गृहमन्त्री खाणको गृहजिल्ला रुपन्देहीमा को बन्ला कांग्रेस सभापति?

गृहमन्त्री खाणको गृहजिल्ला रुपन्देहीमा को बन्ला कांग्रेस सभापति?

सुदीप भण्डारी
मंसिर ९, २०७८ बिहिबार १७:२७, काठमाडौँ

रुपन्देहीमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन टुंगिएसँगै जिल्ला नेतृत्वमा को आउला भन्ने धेरैको चासो बढेको छ।

वर्तमान सभापति अब्दुल रज्जाकले दुई कार्यकाल नेतृत्व सम्हाली सकेकाले विधानले अब उनलाई फेरि दोहोरिन दिँदैन। पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिधिमा पराजित भएसँगै उनी मैदानबाट बाहिरिएका छन्। 

गत संसदीय चुनावमा रुपन्देही ३ मा विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका अर्का आकांक्षी युवराज गिरि पनि महाधिवेशन प्रतिनिधि आउन सकेनन्। 

यी बाहेक संस्थापन र इतर पक्षबाट दुई–दुई जनाको नाम कांग्रेसका जिल्ला सभापतिको उमेदवारको रुपमा चर्चामा छ। कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाणले पार्टीको जिल्ला नेतृत्व लिन लामो समयदेखि तयारीलाई तीब्र पारेका छन्।

रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन्। उनले क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। यो क्षेत्रमा खाण पक्षले एकलौटी रुपमा जितेको हो। 

रामकृष्णले जिल्ला सभापतिमा आफ्नो दाबी स्वभाविक भएको बताए।

‘दुई कार्यकाल जिल्ला सचिव भएँ। स्वभाविक रुपमा सभापतिमा मेरो दाबी छ’ उनले भने, ‘छलफल हुँदैछ, म भन्दा माथिका नेताले के भन्नुहुन्छ त्यसलाई पनि मध्येनजर गरेर अघि बढ्नुपर्ला।’

देउवा पक्षकै हालका जिल्ला उपसभापति फणीन्द्र शर्माले सभापतिमा आकांक्षा व्यक्त गरेका छन्। 

‘आकांक्षा त स्वभाविक नै हो। नेताहरुसँग बस्दैछौँ। छलफल गर्छौं के हुन्छ’ उनले भने। 

शर्मालाई जिल्ला सभापतिको उम्मेदवारमा सांसद भरतकुमार शाहले अघि सार्ने चर्चा छ। केन्द्रमा देउवा पक्षका भए पनि जिल्लामा बालकृष्ण खाण र भरत शाहको आ–आफ्नो समूह छ।

रामकृष्ण खाणको विरुद्धमा शाह पक्षबाट उम्मेदवार खडा गर्ने वा संस्थापन इतर पक्षलाई सहयोग गर्न सक्ने कतिपय कार्यकर्ताको बुझाइ छ। 

संस्थापन इतर अर्थात रामचन्द्र पौडेल पक्षबाट रामबहादुर कार्की र थानेश्वर घिमिरे मध्ये एकजना जिल्ला सभापतिको उम्मेदवार हुने सम्भावना छ। 

‘उहाँहरु दुई जनाले इच्छा व्यक्त गर्नुभएको छ। अरु छलफल जारी छ’ इतर पक्षका एक नेताले भने, ‘भोलि विहानसम्म एक जनाको नाम टुंगो लाग्छ।’

कार्की रुपन्देही २ का पूर्वक्षेत्रीय सभापति हुन्। भर्खर भएको क्षेत्रीय अधिवेशनबाट उनी यही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए। 

थानेश्वर घिमिरे तरुण दलका पूर्वजिल्ला अध्यक्ष हुन्। गत चुनावमा सियारी गाउँपालिकाको अध्यक्षका उम्मेदवार समेत रहेका घिमिरे रुपन्देही ४ बाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन्। 

रुपन्देहीमा ५ वटा क्षेत्र मध्ये ३ वटा क्षेत्रमा चुनाव भएको थियो। जसमा क्षेत्र नम्बर १ र ३ मा देउवा पक्षले जितेको छ। क्षेत्र नम्बर २ मा रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन्। क्षेत्रमा मतदान गरेका कार्यकर्ताले नै जिल्लाको नेतृत्व चयन गर्ने हुन्। 

क्षेत्रीय सभापतिका उम्मेदवारले मात्र पाएको मतलाई आधार मान्दा जिल्लाका तीन वटा क्षेत्रमा देउवा पक्षको ९ सय ३५ मत आएको छ। पौडेल पक्षका क्षेत्रीय सभापतिका उम्मेदवारको ८ सय ५९ मत आएको छ। 

क्षेत्र नम्बर ४ र ५ मा भने सर्वसम्मत भएको थियो। ४ मा रामचन्द्र पौडेल पक्षको बर्चस्व छ। क्षेत्र नम्बर ५ मा भरत शाहको पक्षमा संस्थापन र इतर दुवै पक्षका नेता छन्। त्यसलै यी दुई क्षेत्रका कार्यकर्ता कति कसको पक्षमा छन् स्पष्ट देखिएको छैन। 

कांग्रेसको रुपन्देही जिल्ला अधिवेशन गृहमन्त्री बालकृष्ण खाणको प्रतिष्ठासँग पनि जोडिएको छ। अधिवेशनलाई मध्यनजर गर्दै केही दिन अघिबाट उनी रुपन्देहीमै छन्। लुम्बिनी प्रदेश अधिवेशनको संयोजकसमेत भएकाले उनी त्यसको तयारीमा पनि लागेका छन्।

जिल्ला अधिवेशन अन्तर्गत रुपन्देहीमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता र शनिवार मतदान हुने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .