राजनीति


चार दिन जोखिमपूर्ण पैदल यात्रापछि छाङरु पुग्यो जनगणना टोली

चार दिन जोखिमपूर्ण पैदल यात्रापछि छाङरु पुग्यो जनगणना टोली

गोकुल जोशी
मंसिर ८, २०७८ बुधबार ८:२, काठमाडौँ

भारतले बाटो नदिएपछि जनगणना टोली आफ्नै भूमिबाट चार दिन जोखिमपूर्ण पैदल यात्रा गरी दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु पुगेको छ। 

जनगणना कार्यालय (दार्चुला) का प्रमुख पदमराज पाण्डेका अनुसार जनगणना टोली सोमबार दिउँसो छाङरु पुगेको हो। 

‘जनगणना टोली सोमबार छाङरु पुगेको खबर प्राप्त भएको छ। त्यसपछि सम्पर्क हुन सकेको छैन’, उनले मंगलबार दिउँसो नेपालखबरसँग भने, ‘जनगणनाको काम सुरु भइसकेको छ, करिब दुई दिनमा काम सकिन्छ।’  

गत कात्तिक २५ गते देशभर जनगणना थालिएको हो। तर दार्चुलाको व्याँस गाउँपालिका–१ का तिंकर र छाङरुमा भारतीय प्रशासनले जनगणना टोलीलाई त्यहाँ जान उसको भूमिमा पर्ने सहज सडक प्रयोगको अनुमति नदिँदा ढिलाइ भएको हो। 

जिल्ला प्रशासन कार्यालय (दार्चुला) ले कात्तिक २५ र ३० गते जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन भारतको धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो।

तर भारतीय प्रशासनले बाटो बिग्रिएको बहाना बनाउँदै अनुमति दिएन।  अन्य मानिसलाई भने त्यो बाटो हिँड्न दिएको थियो। 

त्यसपछि शुक्रबार सदरमुकाम खलंगाबाट जनगणना टोली आफ्नै भूमिको नेपाली बाटोबाट छाङरु र तिंकरका लागि प्रस्थान गरेको थियो। करिब ४ दिनको जोखिमपूर्ण पैदल यात्रापछि सोमबार मात्रै टोलीले छाङरु पुगेको हो। 

तिंकरबासी चिसो छल्न खलंगा झरेपछि जनगणनामा चुनौती थपिएको छ। व्याँस गाउँपालिका–१ तिंकरबासी घर छाडेर चिसो छल्न खलंगा झरेको वडा सचिव विनोद बुढाथोकीले बताए।

‘तिंकरबासीका घरमा ताल्चा लागेका छन्। पशुचौपाया लिएर चिसो छल्न त्यहाँका बासिन्दा आइतबार नै हिँडेका थिए’, उनले नेपालखबरसँग भने, ‘बुढापाकाहरू गाडी चढेर भारतको बाटो भएर खलंगा पुगिसकेका छन्, पशुचौपाया लिएर केही बाटोमा छन्।’

छाङरु र तिंकरबासी हिँउदका ६ महिना खलंगा झर्ने गर्छन्। जनगणना टोली छाङरु र तिंकरमा खटिएको छ, तर तिंकरबासी भने खलंगा झरेकाले जनगणना कसरी गर्ने भन्ने द्विविधा थपिएको छ। 

‘जनगणना टोलीसँग बाटोमा भेट भयो भने त त्यहीँ जनगणना हुन्छ। तर भेट भएन भने गाह«ो छ’, वडा सचिव बुढाथोकीले भने, ‘छाङरुवासी १०/१२ दिन ढिलो गरेर खलंगा झर्छन, जाडो छल्न खलंगाा झर्ने र गर्मी छल्न तिंकर चढ्ने चलन भएको छ।’ 

उनका अनुसार छाङरुबाट तिंकर करिब ११ किलोमिटरको दूरीमा छ। तिंकरमा ४० परिवारको बसोबास छ।

तीन सदस्यीय जनगणना टोलीमा रहेका गणक बाटो कठिन हुनाले हिँड्न नसकेर दुम्लिङबाट सदरमुकाम खलंगा फर्केका थिए।

जनगणना कार्यालय (दार्चुला) का सहायक जनगणना अधिकृत खगेन्द्र कार्की, गणक राजेन्द्र कार्की र एक जना कार्यालय सहयोगी छाङरु र तिंकरका लागि गएका थिए। गणक हिँड्न नसकेर फर्किएपछि सहायक जनगणना अधिकृत, कार्यालय सहयोग मात्रै छाङरु गएका थिए। 

तिंकर र छाङरुमा १ सय १३ परिवारको बसोबास छ। तिंकर र छाङरुमा पहिलो चरणको सुपरीवेक्षण मात्रै हुन सकेको छ।

तिंकरवासीको बसाइँसराइले जनगणनामा केही प्रभाव नपार्ने जनगणना कार्यालय (दार्चुला) का प्रमुख पाण्डे बताउँछन्। 

‘खलंगा र छाङरु, तिंकरमा गरेर दोहोरो बस्ती छ। त्यहाँ भएका मानिसलाई खलंगामा को को बस्छन् भन्ने थाहा हुन्छ। एकै घरका मानिस हुन्छन्’, उनले भने, ‘खलंगाका मानिसको महाकाली नगरपालिका–४ मै गणना हुन्छ, तिंकर र छाङरु रहेका मानिसको त्यही गणना हुन्छ।’

जनगणनामा कोही नछुट्ने उनको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad