नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने कयौँ नेता महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। पराजित हुनेमा बहालवाला सांसददेखि भ्रातृ संगठनका पदाधिकारीहरु समेत छन्।
अहिलेसम्म कांग्रेसले विभिन्न जिल्लाहरुमा चार तहका कार्यसमितिहरूको अधिवेशन सम्पन्न गरिसकेको छ। एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका केही जिल्लाहरुमा भने पाँच तहका कार्यसमितिका लागि अधिवेशन सकिइसकेको छ। वडा, पालिका, प्रदेश सभा कार्यसमिति र प्रतिनिधि सभा कार्यसमितिको निर्वाचन सकिइसकेको छ।
यसरी पराजित हुनेमा काठमाडौंमा बसेर राजनीति गर्दै आएकादेखि जिल्लामा कार्यकर्ता माझ देखभेट गरिरहने चर्चित नेताहरु पनि छन्।
स्याङ्जामा प्रतिनिधि सभाका सांसद मोहनप्रसाद पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित भए।
स्याङजामै कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’, राष्ट्रिय सभाका पूर्वसदस्य एवं पूर्वजिल्ला सभापति खगेन्द्रराज रेग्मी, पूर्वसांसद एवं सभापति शंकरप्रसाद पाण्डे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
सुदूरपश्चिमको कञ्चनपुरमा जिल्ला सभापति हरिप्रसाद बोहरा र संविधानसभा सदस्य बलदेव बोहरा पराजित भएका छन्।
कांग्रेसको राजनीतिमा सक्रिय नेताहरु माझ परिचित नाम हो– कृष्णप्रसाद पौडेल। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले काठमाडौं–७ बाट महाधिवेशन प्रतिनिधिमा पराजय भोग्नु परेको छ।
उक्त क्षेत्रमा उनीसँगै आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे, केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसी र डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष भरतप्रसाद खरेल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
काठमाडौं–७ बाटै कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वमहामन्त्री सरोज कुमार थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुने अर्का चर्चित अनुहार हुन्।
यस्तै नेविसंघकी महामन्त्री महेश्वरी कुँवरले पनि पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट महिला खुलातर्फ महाधिवेशन प्रतिनिधिमा पराजित हुनुपरेको छ। उनलाई सभापति शेरबहादुर देउवाले २०७६ माघमा महामन्त्रीमा मनोनयन गरेका थिए। नैनसिंह महरले नेविसंघमा नेतृत्व सम्हाल्दा उनी सहमहामन्त्रीको भूमिकामा थिइन्।
यस्तै नेता लक्ष्मण घिमिरे पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुने चर्चित अनुहारमा पर्छन्। पूर्वमन्त्री घिमिरे रामेछापमा गत असोज तेस्रो साता सम्पन्न जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।
उनी कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं कांग्रेसका पूर्वप्रमुख सचेतक पनि हुन्। रामेछापमै नेविसंघका पूर्वमहामन्त्री गजेन्द्र कार्की पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।
बैतडीमा कांग्रेसबाट जिल्ला समन्वय समितिको संयोजक बनेका सिद्धराज भट्ट पनि पराजित हुने सुचीमा पर्दछन्। उनी बैतडीमा प्रदेश सभा प्रतिनिधिमा पराजित भएका हुन्।
उता कांग्रेसमा संस्थापन इतर मानिएका सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
उनी सुर्खेत क्षेत्र नम्बर २ मा सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। तर सुर्खेतमा संस्थापन पक्षले शतप्रतिशत नतिजा निकालेको छ।
Shares

प्रतिक्रिया