राजनीति


माधव नेपाललाई ओलीको घोचपेचः चोइटिएर जाँदा राम्रो भयो, एमालेमा ल्याङल्याङ सकियो

माधव नेपाललाई ओलीको घोचपेचः चोइटिएर जाँदा राम्रो भयो, एमालेमा ल्याङल्याङ सकियो

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १५:२९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालले पार्टी छोडेर अर्को पार्टी बनाएकोमा राम्रो भएको प्रतिक्रिया दिएका छन्। 

उनले नेपाल र झलनाथ खनालसहितका नेताहरु चोइटिएर जाँदा राम्रो भएको र अब एमालेमा ल्याङल्याङ सकिएको बताएका हुन्। 

मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले भने, ‘अब एमालेमा ल्याङल्याङ सकियो, एमालेका मतदाता घटेका छैनन्।’ 

उनीहरुले पार्टी छोडे पनि एमाले प्रवेश गर्नेको कमी नरहेको ओलीको भनाइ थियो। 

‘केही मानिसले छाड्दा ९ सयदेखि ४५ सयसम्म मानिस प्रवेश गरेका छन्’, उनले एमाले प्रवेश गर्नेको संख्या देखाउँदै भने, ‘नेपालगन्जमा ४५ सय, धनकुटामा ९ सय, झापामा १५ सय प्रवेश गरे।’

एमाले झनै सुदृढ र व्यापक भएको र जनताले पनि एमालेको साथमै छौँ भन्ने सन्देश दिइरहेको उनको दाबी थियो। 

उनले देशको संविधान जारी गर्दा विवाद भएको उल्लेख गर्दै एमालेको नीति र विधान महाधिवेशनमा पास हुँदा कुनै विवाद नआएको बताए। 

‘संविधान जारी गर्दा विवाद थियो तर एमालेको नीति विधान महाधिवेशनमा पास हुँदा विवाद भएन’, ओलीले भने। 

अबको चुनावबाट एमाले नै बहुमतसहित सरकारमा आउने पनि ओलीले दाबी गरे। 

‘तर अरूलाई भन्न मिलेन’, एमाले छोड्नेहरुतर्फ संकेत गर्दै उनले थपे, ‘आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने काम भयो। एमाले फुटाउन २० प्रतिशतमा झारियो।’ 

माधव नेपालहरुले पार्टी फुटाउने चेस्टा गरेको भन्दै उनले उनीहरुलाई पार्टी मान्न नसकिने स्पष्ट पारे। 

यसको साथै महाधिवेशनमा माधव नेपालहरुलाई नबोलाउने पनि ओलीले बताए। 

‘उनीहरू पार्टी नै होइनन्, त्यही भएर नबोलाउने’, उनले भने। 

त्यस्तै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति पनि तीखो टिप्पणी गरेका छन्। 

प्रचण्डको चुनाव क्षेत्र भएको जिल्लामा एमालेले महाधिवेशन गर्न नहुने भन्ने नरहेको उनको भनाइ थियो।  

‘रोल्पामा गरौँ अलिक अगाडि लडेका थिए, सिरहामा गरौँ लडेका थिए’, उनले भने।  

ओली प्रचण्डलाई झापा आएर महाधिवेशन गर्न सुझाव समेत दिए। 

उनले भने, ‘म चितवनबाट हिँडेँ भने पनि मलाई सिध्याउन आयो भन्छन् प्रचण्डले।’ 

सीपी मैनालीले महाधिवेशन सकेपछि केही मानिस यहीँ आएर महाधिवेशन गर्नुपर्छ भनेको आफूले थाहा पाएको भन्दै ओलीले थपे, ‘प्रचण्डले दमकमा मेरै निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गरे हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad