ad ad

राजनीति


एमाले कञ्चनपुरमा किचलोः दोधारा चाँदनीमा समानान्तर नगर कमिटी गठन

एमाले कञ्चनपुरमा किचलोः दोधारा चाँदनीमा समानान्तर नगर कमिटी गठन

गोकुल जोशी
मंसिर ६, २०७८ सोमबार ९:३४, काठमाडौँ

नेकपा (एमाले) कञ्चनपुरमा नगर कमिटी गठनको क्रममा देखिएको विवाद चर्किदै गएको छ। जिल्लाको दोधारा चाँदनी नगर कमिटी गठनको क्रममा असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ। 

‘एकलौटी हिसाबले आफ्नो मान्छेलाई समेटेर नगर कमिटी गठन गरिएको’ भन्दै असन्तुष्ट पक्षले नगरमा समानान्तर गतिविधिलाई तीव्रता दिएपछि एमालेभित्रको असन्तुष्टि छताछुल्ल भएको छ।

नगर कमिटी गठनमा असन्तुष्ट किशोर लिम्बु पक्षले दोधाराचाँदनी नगरपालिकामा समानान्तर कमिटी गठन गरेको छ। लिम्बुले आइतबार आफ्नो नेतृत्वमा समानान्तर नगर कमिटी गठन गरेका हुन्। 

‘पार्टी नेतृत्वले मनलाग्दी तरिकाले आफ्ना मान्छे राखेर नगर कमिटी गठन गरेको थियो। हामीलाई यो स्विकार्य छैन,’ लिम्बुले भने, ‘यहाँका कार्यकर्ता साथीहरुको चाहना अनुसार नयाँ कमिटी बनाएका छौँ।’

जिल्ला नेतृत्वको विभेदकारी निर्णयको बिरोधमा समानान्तर कमिटी बनाइएको उनले बताए । ‘पार्टी नेतृत्वले हाम्रो कुरा सुनेन । एकलौटी तरिकाले हामीलाई किनारा लगाउँदै प्रक्रिया नै नपुर्याइ कमिटी गठन गरिएपछि हामीले अर्को कमिटी बनाएका हौँ,’ उनले भने।

कमिटी घोषणा कार्यक्रममा अघिल्लो कमिटीमा बसेका ३९ जना सदस्यसहित सयौँ कार्यकर्ताको उपस्थिति रहेको उनको दाबी छ । आइतबार नै बसेको नगर कमिटी बैठकले पार्टी सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय समेत रहेको लिम्बुले जानकारी दिए।
 
समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन्। दोधाराचाँदनी नगर कमिटीको अध्यक्षका लागि लिम्बु र ओम बस्नेत आकांक्षी थिए । लामो समयसम्म उनीहरुबीच सहमति नजुटे पछि एमाले (कञ्चनपुर)ले हरीसिंह धनाडीको नेतृत्वमा नगर कमिटी गठन गरेको थियो।

दुवै आकांक्षीको सहमतिमा धनाडीलाई अध्यक्ष बनाइएको एमाले कञ्चनपुरको दाबी छ। यस्तै अध्यक्षका आकांक्षी बस्नेत दोधाराचाँदनी नगर कमिटीको उपाध्यक्ष चयन भएका थिए।

तर, दोधाराचाँदनी नगर कमिटी अध्यक्षका प्रत्यासी लिम्बुले आफूलाई झुक्याएर नगर कमिटी बनाएको आरोप लगाए । लिम्बु दोधारा चाँदनीमा लामो समयदेखि एमालेको संगठन निर्माणमा सक्रिय छन् । उनी वि.सं. २०६९ सालदेखि एमाले दोधाराचाँदनीको नेतृत्वमा छन्।

नगर कमिटीका बहुमत सदस्यहरुले कमिटी अवैधानिक रुपमा गठन गरिएको भन्दै नेकपा एमाले (कञ्चनपुर)मा बदरका लागि निवेदन समेत दिएका थिए।

अध्यक्ष र निर्वाचन मण्डल नै गठन नगरी एकलौटी ढङगबाट धनाडीको नेतृत्वमा कमिटी गठन गरिएको लिम्बु पक्षको आरोप छ। 

धनाडीको नेतृत्वको नगर कमिटीको उपाध्यक्षमा ओम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओमप्रकाश रोकाया र कमला आग्री चयन भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .