राजनीति


कांग्रेस अधिवेशन : धनगढी उपमहानगरपालिकामा दुई जनाको दाबी, कस्ले मार्ला बाजी?

कांग्रेस अधिवेशन : धनगढी उपमहानगरपालिकामा दुई जनाको दाबी, कस्ले मार्ला बाजी?

यज्ञराज उपाध्याय र रुपेश स्वार


गोकुल जोशी
कात्तिक ३०, २०७८ मंगलबार १६:५, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण कैलालीमा नेपाली कांग्रेसको पालिका अधिवेशन प्रभावित भएको छ। 

मंगलबारदेखि सुरु गर्ने भनिएको पालिका अधिवेशन बन्दले प्रभावित भएर बुधवारका लागि सारिएको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार विभाग संयोजक नृप सुनारले जानकारी दिए।

‘बन्दका कारण अधिवेशन तालिका प्रभावित भएको छ’ उनले भने, ‘प्रतिनिधिहरू आउन नपाएकाले अधिवेशन सार्ने निर्णय गरेका छौँ। भोलिदेखि अधिवेशन सुरु हुने छ।’

वडा अधिवेशन सकिएपछि पालिका अधिवेशन गर्न तयारी थालिएको नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहले जानकारी दिए।

‘पालिका अधिवेशन आज गर्ने कार्यतालिका हो। अधिवेशनबाट पालिकाले नयाँ नेतृत्व पाउने छ’ उनले भने, ‘नेपाल बन्दले अधिवेशन गर्न नसकिने अवस्था आएको छ।’

१३ स्थानीय तह रहेको कैलालीमा केही स्थानीय तहमा सहमतिको आधारमा नेतृत्व चयन हुने भए पनि अधिकांशमा भने निर्वाचन हुने सम्भावना छ। पालिका सभापतिको लागि अधिकांश क्षेत्रमा दुई जना र केहीमा त्यो भन्दा बढीको आकांक्षी देखिएका छन्। 

धनगढीको सभापतिमा २ जनाको दाबी  
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाको अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा कांग्रेसको नेतृत्व कस्ले पाउने भनेर निकै चासोका साथ हेरिएको छ। 

कांग्रेस धनगढी उपमहानगरपालिकाको नेतृत्वको लागि दुई जना नेताले आकांक्षा देखाएका छन्। नेपाली कांग्रेस धनगढी उपमहानगरपालिकाको कार्यसमिति सभापतिमा नेताद्धय यज्ञराज उपाध्याय र रुपेश स्वारको दाबी छ। 

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूलधारको राजनीतिमा प्रवेश गरेका उपाध्याय धनगढी उपमहानगरपालिकाको कार्यसमितिमा सचिव पनि हुन्।

यस्तै, उद्योग वाणिज्य संघका पूर्व–महासचिव समेत रहेका स्वार पनि नगर सभापतिको दौडमा छन्।

‘नेतृत्वका आकांक्षीबीच सहमतिको प्रयास भइरहेको छ’ धनगढी उपमहानगरपालिकाका प्रवक्ता एवम् कांग्रेस नेता सन्तोष मुडभरीले भने, ‘सहमति नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिने छ।’

उनका अनुसार धनगढीस्थित निर्माण व्यवसाय संघ कैलालीको सभाहलमा नगरअधिवेशन सुरु भएको छ।

अन्य स्थानीय तहमा यस्तो छ प्रतिष्पर्धा
कैलालीको गोदावरी नगरपालिकाको सभापतिमा वीरबहादुर चोखाल र विष्णु बडेलाले दाबी गरेका छन्। 

लम्कीचुहा नगरपालिकामा इन्द्र कुँवर र भक्त चलाउने सभापतिमा भिड्दा घोडाघोडी नगरपालिकामा कालिराम चौधरी, बम बहादुर सिंह र चन्द्रु चौधरीले आकांक्षा देखाएका छन्।

गौरीगंगा नगरपालिकामा पहलविक्रम चन्द र मोहन साउँद, भजनी नगरपालिकामा टेकराज न्यौपाने र नवराज मिश्रले सभापतिमा दाबी गरेका छन्।

कैलारी गाउँपालिकामा एक जना (कृष्ण चौधरी) मात्रै आकांक्षी देखिएकाले उनलाई नै सर्वसम्मत सभापति बनाउने तयारी भएको छ। 

टीकापुर नगरपालिका, जोशीपुर, बर्दगोरिया, चुरे, मोहन्याल र जानकी गाउँपालिकामा सभापतिको आकांक्षीको टुङ्गो नलागेको कांग्रेस कैलालीका प्रचारप्रसार संयोजक सुनार बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad