राजनीति


प्रजातन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै देउवाले पूर्वराजालाई भने : शासन गर्ने भए चुनाव लडेर आउनू

प्रजातन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै देउवाले पूर्वराजालाई भने : शासन गर्ने भए चुनाव लडेर आउनू

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवा । तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १२:५९, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन्। 

गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा बुधबार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताए। 

उनले प्रजातन्त्रविरुद्ध नलाग्न पनि पूर्व राजालाई चेतावनी दिएका छन्। पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै उनले शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए।

‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने, तर मलाई जेलमा थुनियो, त्यसकारण एकाएक जनता तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ', उनले भने, 'यसको खिलाफमा मान्छे लाग्न सक्छन्, त्यसकारण अगाडि बढे भइहाल्यो नि, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ, यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरु आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ।’

प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराए। उनले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए।

भिडियो

प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताए। उनले संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताए।

‘जनता भन्दा ठूलो अर्को शक्ति नै छैन हेर्नुस्, जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ, त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ, प्रजा भनेको जनता नै हो, यसमा अर्को पाटो हो निष्पक्ष चुनाव, कसैले पनि धाँधली गर्न नसकोस्, बद्मासी गर्न नसकोस्, त्यसैले निर्वाचन आयोग छ, त्यो अत्यन्तै स्वतन्त्र हुनुपर्छ, कुनै पार्टीसँग मिल्ने होइन, स्वतन्त्र रहने संस्था हो, निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार हिँड्छ', उनले भने, 'निष्पक्ष निर्वाचन आयोगका साथसाथै वडा–वडा बाट नै निष्पक्ष चुनावबाट जो आउँछ मान्नुपर्छ, उपाय नै छैन। जिते पनि हारे पनि सहस्र स्वीकार गर्नु हाम्रो कर्तव्य हो, सरकारले जनताप्रति काम गरेन भने अर्को आउँछ, जनताप्रति प्रजातन्त्रलाई कसरी उत्तरदायी बनाउने त्यता तिर लागौँ न हामी, मैले त धेरै पटक भनिसकेको छु।’

प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको बताए।  

उनले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढिरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताए।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण देशका हिमालहरूमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad