ad ad

राजनीति


आमाले लेखेको पुस्तकका पाना देखाउँदै मानुषीले ओलीलाई भनिन्, ‘हावादारी’

आमाले लेखेको पुस्तकका पाना देखाउँदै मानुषीले ओलीलाई भनिन्, ‘हावादारी’

फाइल तस्बिर : एमाले अध्यक्ष केपी शर्मा ओली र मानुषी यमी भट्टराई।


नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ६:४, काठमाडौँ

माओवादी विद्रोहका बेला गरिबका छोराछोरीलाई युद्धमा होमेर डा. बाबुराम भट्टराईले आफ्नी छोरीलाई चाहिँ बेलायत पढ्न पठाएको भनेर आरोप लगाएपछि डा. भट्टराईपछि उनकी छोरीले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेकी छन्। 

आइतबार पार्टीको कर्णाली प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘जनयुद्धमा प्रचण्ड–बाबुराम त बाँचे। १७ हजार गरिब जनताका छोराछोरी मरे। बाबुरामका छोराछोरी त त्यसबेला बेलायतमा पढ्थे। हामी बेलायत जान भिसा पाउँदैन थियौँ। तर उनीहरूका छोराछोरी त बेलायत गएर पढे नि! त्यसरी पढाउने पैसा कहाँबाट आयो!’ 

लगत्तै डा. भट्टराईले ओलीलाई सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मित्र खड्गप्रसादजी, पूर्वप्रमजस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन्। त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न!’ 

स्मरण रहोस्, डा. बाबुराम भट्टराई माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र संघर्षका एक शीर्ष नेता हुन्। पूर्वप्रधानमन्त्री डा. भट्टराई अहिले भने जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष हुन्।  

बाबुपछि डा. भट्टराईकी छोरी स्वयं मानुषी यमी भट्टराईले पनि आफूविरुद्ध लागेको आरोपको खण्डन गर्दै पूर्वप्रधानमन्त्री ओलीलाई ‘हावादारी’ कुरा नगर्न चेतावनी दिएकी हुन्। यस क्रममा उनले प्रमाणस्वरूप आफ्नी आमा हिसिला यमीले लेखेको किताबका पाना पनि देखाएकी छन्। 

‘कतिन्जेल यस्ता हावादारी कुरा गर्नुहुन्छ पूर्वप्रमज्यू’, मानुषीले ट्विटरमा लेखेकी छन्, ‘मार्चको छात्रवृत्तिमा आमाले  ‘४९ मा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो। ५१ मै हामी नेपाल फर्किसकेका थियौँ। कुन आम्दानीको स्रोतबाट गएका थियौं...ईटीसी आमाको हालै प्रकाशित किताबमा उल्लेख छ। तथ्यसहित आरोप लगाउनु उपयुक्त होला!’

हेर्नुहोस् मानुषीको ट्विट–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .