राजनीति


तिहारलगत्तै मोदी नेपाल आउने, त्यसपछि देउवा भारत भ्रमणमा जाने

तिहारलगत्तै मोदी नेपाल आउने, त्यसपछि देउवा भारत भ्रमणमा जाने

कोप-२६ को साइडलाइन वार्ताका क्रममा प्रधानमन्त्री देउवा र समकक्षी मोदी


केशव सावद
कात्तिक १६, २०७८ मंगलबार २१:२०, काठमाडौँ

विगतमा भइरहेको परम्परालाई तोड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन्। 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप-२६) मा सहभागी हुन गएका प्रधानमन्त्री देउवा र मोदीबीच मंगलबार भएको भेटवार्तामा यस्तो समझदारी बनेको हो। 

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार मंगलबार बिहान कोप-२६ सम्मेलनस्थल ग्लास्गोमा भएको साइड लाइन वार्ताका क्रममा मोदी तिहार लगत्तै नेपाल भ्रमणमा आउने समझदारी बनेको हो। 

'विगतको परम्परालाई तोड्दै देउवाले भारतीय प्रधानमन्त्रीलाई पहिले नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छ', परराष्ट्रका एक अधिकारीले नेपालखबरसँग भने, 'प्रधानमन्त्रीको निम्ता अनुसार तिहारपछि मोदी नेपाल आउनु हुनेछ।'

मोदीको नेपाल भ्रमणपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने ती अधिकारीले बताएका छन्। 

'भारतीय प्रधानमन्त्री मोदी तिहार लगत्तै नेपाल आइसकेपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुहुन्छ', परराष्ट्रका एक उच्च अधिकारीले भने, 'दुई नेताबीच आपसी सहयोग र समझदारी अझै बढाउँदै जाने पनि सहमति भएको छ।

असार २९ मा प्रधानमन्त्री भएका देउवालाई भारतले अहिलेसम्म भ्रमणका लागि रेड कार्पेट बिच्छ्याउन तयार भएको थियो।

तर कोप-२६ को साइड लाइन वार्तामा मोदी पहिले नेपाल आउन तयार भएका हुन्। पाँचौं पटक प्रधानमन्त्री भएका देउवाको पहिलो विदेश भ्रमण भने बेलायत भएको छ।

यसअघि नेपालका प्रधानमन्त्रीहरु सामान्यतया निकट सम्बन्ध रहेको भारतबाटै विदेश भ्रमणको सिलसिला सुरु गर्थे। तर भारतले निम्ता नदिएको अवस्थामा देउवाले कोप-२६ मा सहभागी हुँदै बेलायतबाट विदेश भ्रमण सुरु गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .