राजनीति


विद्याले अनिच्छा देखाए कास्की २ मा नेकपाबाट सोमनाथ

विद्याले अनिच्छा देखाए कास्की २ मा नेकपाबाट सोमनाथ

सागर न्यौपाने
कात्तिक १५, २०७६ शुक्रबार १२:३०,

मंसिर १४ मा हुनलागेको तीनै तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ।

प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नम्बर २, प्रदेशसभाअन्तर्गत बाग्लुङ २ (ख), दाङ ३ (ख) र भक्तपुर १ (क) तथा धरान उपमहानगर प्रमुखसहित स्थानीय तहमा ४८ पद रिक्त छन् । ५२ वटै रिक्त पदमा उम्मेदवारी टुंगो लगाउन नेकपाको सचिवालय बैठक शनिबार बिहान बस्न लागेको छ।

सचिवालयले नाम टुंगो लगाएपछि मात्रै त्यसबारे औपचारिक रुपमा आइतबार नाम घोषणा गर्ने तयारी भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए। महासचिव पौडेलका अनुसार नेकपाले सबै पदको नाम टुंगो लगाइसकेको छ। त्यसको घोषणा मात्रै आइतबार गर्न लागिएको हो। ‘करिब-करिब उम्मेदवार टुंगो लागिसकेको छ, आइतबार सचिवालयको बैठकपछि औपचारिक घोषणा गर्नेछौं’, नेपालखबरसँग कुरा गर्दै महासचिव पौडेलले भने। प्रतिनिधिसभा र प्रदेशसभाका लागि मात्रै सचिवालय बैठकले उम्मेदवारको नाम सार्वजनिक गर्ने उनले बताए। स्थानीय तहको हकमा भने सम्बन्धित तहकै सिफारिसका आधारमा उम्मेदवार घोषणा हुनेछ।

उपनिर्वाचनका लागि यही २१ गते मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले प्रकाशित गरिसकेको छ। नेकपाले यसअघि बुधबार नै सचिवालयको बैठक बोलाएर उम्मेदवार घोषणा गर्ने तयारी गरे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएका कारण सचिवालय बैठक बस्नसकेको थिएन। दुई दिन स्वास्थ्य उपचार गराई प्रधानमन्त्री ओली बिहीबार राति सरकारी निवास बालुवाटार फर्किसकेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको छलफलपछि शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो।

शनिबार बिहान ११ बजे सचिवालयको बैठक बोलाइएको र उम्मेदवारको अन्तिम नामावलीबारे छलफल हुने नेकपा स्रोतले जनायो। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गएको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो। उक्त निर्वाचन क्षेत्रमा रवीन्द्रकी श्रीमती विद्या भट्टराई प्रमुख दाबेदारका रुपमा रहेकी छिन्। उनी त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक रहेका कारण यदि उनले अनिच्छा जनाएमा सोमनाथ प्यासीलाई उम्मेदवार बनाउने तयारी छ। प्यासी प्रधानमन्त्री ओलीनिकट नेता मानिन्छन्।

यसैगरी भक्तपुर प्रदेशसभा १ ‘क’ मा नेकपाले रमेश बुढाथोकी, डिपी ढकाल, मोहनवीर श्रेष्ठको नाम जिल्ला कमिटीले सिफारिस गरेको थियो तर, महिलाको नाम नभएपछि ३ नम्बर प्रदेश कमिटीले नारायणी फुँयालको नाम सिफारिस गरेको प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले जानकारी दिए।

दाङ ३ (ख) मा विमला वली र शोभाराम बस्नेतको नाम सिफारिस भएको छ। जसमा वली नै उपयुक्त उम्मेदवार भनेर प्रदेश कमिटीले सिफारिस गरेको छ। त्यस्तै, बाग्लुङ २ (ख) को रिक्त पदको उम्मेदवारको लागि राष्ट्रिय जनमाेर्चासँग चुनावी तालमेल गर्ने सहमति गरिसकेकाेले यसकाे अन्तिम निर्णय केन्द्रले नै गर्ने नेकपाका बाग्लुङ जिल्ला अध्यक्ष इन्द्रलाल सापकाेटाले बताए।

सुनसरीको धरान उपमहानगरपालिका मेयरमा नेकपाले प्रकाश राई, बेनु काफ्ले (महिला नेतृ) र फोकवान सुब्बाको नाम सिफारिस गरेको छ। यसमा प्रकाश राई उम्मेदवार बन्ने निश्चित रहेको नेकपा नेताहरु बताउँछन्।

त्यस्तै, महोत्तरीको पिपरा गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र पाँचथरको फाल्गुनानन्द गाउँपालिकामा अध्यक्ष पद रिक्त छ। यसैगरी हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपप्रमुखसहित ३६ जिल्लाका ४१ वडाध्यक्ष पदका लागि सम्बन्धित कमिटीकाे सिफारिसमा उम्मेदवार घाेषणा गर्ने नेकपाकाे तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .