ad ad

समाज


कमलपोखरीमा बालगोपालेश्वरको प्रतीक

कमलपोखरीमा बालगोपालेश्वरको प्रतीक

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार १२:१९,

काठमाडौँ महानगरपालिका–१ स्थित कमलपोखरीमा छठका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिरको प्रतीक निर्माण गरिएको छ।

करीब ३२ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको मध्यभागमा बनाइएको उक्त संरचना अस्थायी प्रकृतिको हो। कञ्चनजङ्घा अगरबत्तीले करीब रु छ लाखको लागतमा निर्माण गरेको उक्त मन्दिरले त्यस क्षेत्रको आकर्षण बढाएको छ भने पोखरी तथा त्यस आसपास स्थानमा सफाइ गरी चिटिक्क पारिएको छ। पोखरीमा आउने व्रतालु तथा घुम्न आएका भक्तजनलाई मन्दिर जानका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।

कमलपोखरी छठ पूजा समितिले विगत नौ वर्षदेखि यस स्थानमा आउने भक्तजनलाई पूजाका लागि आवश्यक व्यवस्था गर्दै आएको छ। समितिले यहाँ पूजाका लागि आउने भक्तजनका लागि यस पटक ३२० वटा घाटको प्रबन्ध गरेको समितिका सल्लाहाकार जीतेन्द्र झाले जानकारी दिए। अहिलेसम्म ३०० घाटको बुकिङ भइसकेको छ। दर्शन गर्न आउने भक्तजनको भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवकको समेत प्रबन्ध गरेको समितिले कार्यक्रमस्थलमा व्रतालु तथा भक्तजन बिरामी भएमा प्रारम्भिक उपचारको व्यवस्थाका साथै गम्भीर प्रकृतिका बिरामीका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। स्थानीय हिमालय नर्सिङ् होमसँग समन्वय गरी बिरामीलाई थप उपचारको व्यवस्थासमेत गरेको समितिले जनाएको छ। पोखरीको किनारमा बाँसले घेरिएको छ। बिजुली बत्तीले पोखरीको वरपर क्षेत्रलाई विशेष सिङ्गारिएको छ।

भक्तजनले विधिपूर्वक छठपर्व अन्तर्गत यसवर्ष शनिबार साँझ अस्ताउँदो सूर्य तथा आइतबार उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रम छ। छठी माताको पूजा तथा दर्शन गरेमा परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास गरिएको छ।

तराई क्षेत्रमा मात्र प्रचलनमा रहेको यो पर्व अहिले काठमाडौँ उपत्यकामा लोकप्रिय बन्दै गइरहेको छ भने नागपोखरी, गुह्येश्वरी, बल्खु, थापाथलीका साथै नदी आसपास क्षेत्रमा मनाइन्छ। रानीपोखरीमा पुनःनिर्माणका काम भइरहेकाले केही वर्षदेखि छठको पूजा हुनसकेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .