राजनीति


अदालतमा महराको बयानः १२ वर्षदेखि रक्सी किनेको छैन, बोकेर जाने कुरै भएन

अदालतमा महराको बयानः १२ वर्षदेखि रक्सी किनेको छैन, बोकेर जाने कुरै भएन

दीपक खरेल
कात्तिक १५, २०७६ शुक्रबार १२:३६,

बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र काठमाडौं जिल्ला अदालतमा धेरै वर्ष अघिदेखि आफूले कडा खालको मदिरा  (हार्ड ड्रिंक्स) सेवन नगरेको बताएका छन्। १२ वर्षदेखि बजारमा रक्सी नकिनेकाले बोकेर हिँड्ने प्रसंगै नभएको उनकाे जिकिर छ।

 काठमाडौं जिल्ला अदालतमा न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा शुक्रबार दिएको बयानमा उनले रक्सी बोकेर पीडितको कोठामा गएको अस्वीकार गरेका छन्। आफू पीडित बस्ने क्षेत्रमा गएपनि कोठामा प्रवेश नगरी बाहिरबाटै फर्किएको दाबी गरे ।

‘घटनाका दिन साढे ६ बजे म निवासमै पूर्व वनमन्त्री वकिल महमदसँग छलफलमा थिएँ, म र पीडितको त्यतिबेला फोन सम्पर्क भएको छैन,’ महराले बयानमा भनेका छन्। 

प्रहरीले भने पीडित महिलाको कोठाबाट बरामद भएकाे रक्सीको बाेतललाई पनि प्रमाणका रुपमा पेस गरेको छ। 

उनले बयानमा पीडितसँग असोज १२ को अपरान्ह सिंहदरबारस्थित कार्यालयमा उनको समायोजनको विषयमा छलफल भएको बताएका छन्। त्यसै विषयमा पीडित आक्रोश र आवेगमा आएर कार्यालयबाट निस्किएको र उनी यस्ता कारणले विक्षिप्त हुने गरेकाले सोही साँझ सम्झाउन भनेर उनी बस्ने डेरा नजिक पुगेको बताए ।

‘केही समयअगाडि यस्तै घटनाक्रमले अति नै विक्षिप्त भई सिभिल अस्पतालमा उपचार गराएको कुरा मैले उनको श्रीमानबाट थाहा पाएको थिएँ,’ महराले बयानमा भनेका छन्, ‘त्यतिबेला पनि उनको श्रीमान् काठमाडौं बाहिर भएको, मैले टेलिफोन गर्दा सम्पर्क हुन नसकेकोले एकपटक फेरि सम्झाउनु पर्छ भन्ने उद्देश्यले म निजी गाडीमा सुरक्षाकर्मी सहित अन्दाजी सातबजेपछि उनको कोठा रहेको इलाकामा गएको हुँ।’

उनलाई पटक पटक सम्पर्क गर्दा समेत सम्पर्क नहुन सकेपछि सोही गाडीमा आफू फर्केको महराले बताएका छन्। उनले बयानमा पीडित २०४७ देखि चार वर्षसम्म आफ्नै घरमा बसेको र उनी आफ्नो विद्यार्थी र आफू उनको अभिभावक भएको बताएका छन्। पीडितको विवाहमा समेत आफू अभिभावकको भूमिकामा रहेको बयान महराले दिएका छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .