राजनीति


दीपक मनाङेको सम्पत्ति : बैंक खातामा १० लाख, १५ तोला सुन, घर छैन, गाईभैंसी पाल्न सेयर लगानी

दीपक मनाङेको सम्पत्ति : बैंक खातामा १० लाख, १५ तोला सुन, घर छैन, गाईभैंसी पाल्न सेयर लगानी

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १५:१, काठमाडौँ

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ 'दीपक मनाङे'ले  चार महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

सरकारी नियमअनुसार नियुक्तिको २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ।

तर मन्त्री मनाङेले ४ महिनापछि सम्पत्ति विवरण मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन्।

विवरण अनुसार एभरेष्ट बैंक, पोखरा शाखामा उनको नाममा १० लाख ४९ हजार ३ सय ३६ रुपैयाँ २१ पैसा जम्मा गरिएको छ।

उक्त रकम सांसद र मन्त्री भएका बेलाको तलब भत्ताबाट प्राप्त भएर जम्मा गरिएको उनले बताएका छन्। 

उनले वि.सं. २०५४ सालमा वैदेशिक रोजगारीबाट १५ तोला र वि.सं. २०७७ सालमा व्यापार व्यवसायबाट ७ तोलासहित २२ तोला सुन जोडेको उल्लेख गरेका छन्। 

मनाङेले २०६८ सालमा ४५ तोला चाँदी व्यापार, व्यवसायबाट किनेको पनि बताएका छन्। उनले पैतृक सम्पत्तिका रुपमा ८३ तोला मुगाको माला आफूसँग रहेको बताएका छन्। 

मनाङेले २०७३ सालमा कर्मा गुरुङबाट ४० लाख, २०७७ सालमा रमेश रानाबाट ४० लाख र २०७३ सालमा मनाङ फलफूल सप्लायर्सबाट ६० लाख रुपैयाँ ऋण लिएका थिए। जुन उनले अझै पनि तिरेका छैनन्।

उनले टीका भण्डारीबाट लिएको २ करोड ३५ लाख रुपैयाँ ०७१ सालमा तिरेको जनाएका छन्। 

टासी गुरुङबाट लिएको २ करोड ३५ लाख रुपैयाँ २०७२ सालमा तिरेको उनले उल्लेख गरेका छन्।

मन्त्री मनाङेले व्यावसायिक लगानी अन्तर्गत संघर्ष गाई भैँसी प्रालिमा ४० प्रतिशत सेयर रहेको जनाएका छन्। जसमा २० भैँसी र ५ वटा गाई पालिएका छन्।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा मनाङ प्रदेश सभा ‘ख’ बाट विजयी उनले स्थायी ठेगाना काठमाडौँ महानगरपालिका वडा नम्बर २९ उल्लेख गरेका छन्। 

उनले हाल बसोबास गरेको ठेगाना पोखरा महानगरपालिका वडा नम्बर १४ काजीपोखरी उल्लेख गरेका छन्।

आफ्नो नामको जग्गा अर्कैको नाममा बैनाबट्टा गरेको जनाएका छन्। उनले आफ्नो नाममा घर नरहेको पनि बताएका छन्। 

अचल सम्पत्ति विवरण महलमा उल्लेखित ‘घर विवरण’ उनले खाली छाडेका छन्। अर्थात् उनले आफ्नो नाममा काठमाडौं, पोखरा कहीँ पनि घर नजोडेको जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad