सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन सुझाव दिएका छन्।
कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिए मात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारे।
नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिन अघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने धारणा राखे। वरिष्ठ नेता पौडेलले ढिलाई गर्दै गए उनको बर्हिगमन अपमानजनक हुने तर्क गरे। उनले प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथि नै प्रहार गरेको आरोप समेत लगाए।
पौडेलले भने, ‘अरु संस्था त ध्वस्त भए, भए। देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ। सर्वोच्च अदालतको यो हाल भइरहेको छ। अबव अहिले प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नु भयो, ल ल म छोड्न त छोड्छु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुस्। मैले त हिजो भन्दिए–जति छिटो छोड्नु हुन्छ, त्यति सम्मानजनक। जति ढिलो छोड्नु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईँको।’
उनले थपे, ‘किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन्। सेटिङ गर्नु भएको क–कसले? यो देशका प्रधानमन्त्रीहरु सेटिङ गर्ने अदालतसित। प्रधानन्यायाधीशसँग सेटिङ गर्ने। तँलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु, आयुक्त दिन्छु, मेरो कुरा मान। मैले संवैधानिक परिषदलाई ध्वस्त पारेको पनि मान। संविधानको आत्मामाथि प्रहार गरेको साक्षी बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन? आज सर्वोच्च अदालतको के हालत भइरहेको छ? यो अवस्थामा देश किन पुग्यो?’
वरिष्ठ नेता पौडेलले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता समेत व्यक्त गरे। फरक प्रसंगमा उनले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताए। त्यसका लागि पुस्तान्तरण नभई नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उनको तर्क थियो।
Shares

प्रतिक्रिया