नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा अन्य दलबीच तालमेलको सम्भावना कम रहेको बताएका छन्।
राजधानीको बत्तीसपुतलीमा आइतवार आयोजित पत्रकारसँगको अन्तरक्रियाका क्रममा महतले यस्तो बताएका हुन्।
उनले चुनावी तालमेलबारे धेरै टिप्पणी नगर्ने बताउँदै यसबारे कांग्रेसमा पनि एकमत नरहेको उल्लेख गरेका छन्।
'निश्चित ठाउँमा चुनावी तालमेल हुन सक्छ', महतले अगाडि भने, तर पार्टीभित्र चुनावी तालमेलबारे सबै नेताहरूबीच एकमत छैन।'
एमसीसीबारे
महतले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा छैन भनेर भ्रम फैल्याइएको बताएका छन्।
उनले कुरा बुझ्दै नबुझी एमसीसीबारे जनतामाझ भ्रम छरिएको गुनासो गरे। अबदेखि मित्र राष्ट्रहरूसँग सहयोग माग्दा निश्चित मापदण्ड बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
'मित्र राष्ट्रसँग सहयोग माग्दा समान मापदण्ड बनाउनुपर्छ', उनले भने, 'एमसीसीबारे भ्रम सिर्जना गरियो। हुँदै नभएको बहस गरियो। जनतालाई दिग्भ्रमित गरियो । यो देशको हितमा छैन भनेर अनावश्यक हल्ला गरियो।'
महतले एमसीसी मात्रै नभएर नेपालले लिने अन्य परियोजनाबारे पनि अध्ययन गर्नुपर्ने बताएका छन्।
'एमसीसी नलिने हो भने नेपालले विदेशी निकायबाट लिने समग्र सहयोगको तुलनात्मक अध्ययन गर्नुपर्यो', उनले भने, 'अध्ययन गर्दा एमसीसी खराब रहेछ भनेर निष्कर्ष निकाल्नु पर्यो। हुँदै नभएको कुरा गरेर जनतालाई दिग्भ्रमित पार्नु भएन।'
Shares

प्रतिक्रिया