ad ad

राजनीति


विवेकशील साझाको विवादः अध्यक्ष मिश्रलाई कारबाही गर्ने पाण्डे पक्षको तयारी

विवेकशील साझाको विवादः अध्यक्ष मिश्रलाई कारबाही गर्ने पाण्डे पक्षको तयारी

यज्ञराज जोशी
कात्तिक ११, २०७८ बिहिबार १६:३०, काठमाडौँ

आफूहरुलाई पेलेरै अघि बढेको अध्यक्ष रविन्द्र मिश्रलाई कारवाही गर्ने तयारी विवेकशील साझा पार्टीमा संयोजक मिलन पाण्डे पक्षले गरेको छ।

पार्टी अध्यक्ष मिश्रले गत साउन ११ गते संघीयताको खारेजी र धर्म निरपेक्षमा जनमत संग्रहसहितको दस्तावेज सार्वजनिक गरेपछि त्यसमा पाण्डे समूहले तीव्र असन्तुष्ट जनाएको थियो। दुबै पक्षले दुईवटा केन्द्रीय कमिटि समेत बोलाएपछि पार्टी फुटको स्थितिमा पुगेको थियो।

पाण्डे पक्षलाई पाखाँ लगाउँदै बिहीबार बसेको केन्द्रीय समिति बैठकले भने मिश्रले सार्वजनिक गरेको दस्ताबेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ अङ्गीकार गर्ने निर्णय गर्दै दुई–तिहाइ भन्दा बढी मतले पारित गरेपछि अध्यक्ष मिश्रलाई नै कारवाही गर्ने तयारी पाण्डे समूहले गरेको हो। 

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकका अनुसार १२४ जना केन्द्रीय समितिमध्ये ९१ जना बहुमत केन्द्रीय सदस्यको उपस्थितिमा उक्त निर्णय गरिएको हो। 

तत्कालीन साझा र विवेकशील पार्टीबीच गतवर्ष मंसिरमा एकता भएपछि बनेको अन्तरिम विधानमा केन्द्रीय कमिटी बैठक अध्यक्ष र संयोजकको सहमतिमा बोलाउने उल्लेख थियो। तर पार्टी अनिर्णयको बन्दी बनेको भन्दै एकल कार्यकारी अधिकार अध्यक्षलाई दिने निर्णय समेत बैठकबाट भएको प्रवक्ता पाठकले भने। 

‘बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ,’ उनले भने, ‘पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।’

यो पनि: विवेकशीलमा लफडा: एक अर्कालाई कारबाही गर्न उन्मुख मिश्र र पाण्डे

योसँगै मिश्रले पार्टी फुटको औपचारिक घोषणा गरेको संयोजक पाण्डेले नेपालखबरलाई बताए। 

‘मिश्र जीले पार्टी फुटाए। यो बैकल्पिक राजनीतिलाई अगाडि बढाउँने मामलामा ठूलो धक्का हो,’ पाण्डेले नेपालखबरसँग भने, ‘रविन्द्र मिश्रको व्यक्तित्व महत्वकांक्षा, सांसद, नेता बन्ने आकांक्षाले दुखका पार्टी सिध्याउनुभयो।’

रविन्द्र मिश्र पक्षको केन्द्रीय कमिटि बैठकको निर्णय सार्वजनिक भएसँगै पाण्डे पक्षले पनि शुक्रबार २ बजे केन्द्रीय कमिटिको बैठक राखेको छ। उक्त बैठकको प्रमुख एजेन्डा अध्यक्ष रविन्द्र मिश्रलाई स्पष्टिकरण सोध्दै कारवाहीको दिशामा अघि बढ्ने छ। 

‘अध्यक्षलाई स्पष्टिकरण गर्छौ। उनले पार्टीको विधान मिचेका छन्। वैचारिक रुपमै धोका दिए,’ पाण्डे समूहका नेता हरिशप्रसाद भट्टले भने, ‘उहाँले राजनीतिक बेइमानी गरेका छन्। स्पष्टिकरण सोधेर उहाँलाई कारवाही गर्ने भोलि बस्ने केन्द्रीय कमिटिको मुख्य एजेन्डा छ।’

‘मैले पटक पटक वैधानिक संयुक्त बैठकको लागी प्रयत्न गरे। तर उहाँले फेरी आफू खुसी पार्टीको एकीकरण घोषणापत्रको मर्म विपरीत बैठक राख्दै पार्टी फुटको घोषणा गर्नुभयो,’ पाण्डेले केन्द्रीय कमिटि बैठक आह्वान गर्दै सदस्यहरुलाई लेखेको पत्रमा उल्लेख छ, ‘गत असोज २० गते पार्टी एकीकरण जोगाउन मैले ३ वटा प्रस्ताव केन्द्रीय कमिटीमा राखेको थिए। जहाँ महाधिवेशन गर्ने र यो विवाद टुङ्ग्याउने प्रस्ताव गरेको थिएँ। तर, त्यसको बदलामा रवीन्द्रजीबाट पार्टी एकीकरणको दस्ताबेज च्यातच्युत पार्ने एजेन्डा आयो। अब एक जना व्यक्तिको चरम महत्वाकांक्षाका निम्ति वैकल्पिक राजनीतिको बलि चढ्न सक्दैन। तसर्थ, अब पार्टी अघि बढ्छ।’ 

पाण्डे पक्षले बोलाएको बैठकको एजेन्डामा पार्टीमा बहसमा रहेका दस्ताबेजहरूबारे बारे छलफल हुने, न्याय तथा सुशासन आयोग गठनबारे, पार्टीमा अध्यक्ष र संयोजकको भूमिका समीक्षा गर्ने, महाधिवेशन मिति घोषणाबारे, स्थानीय निर्वाचन परिचालन समिति गठनबारे, वृहत् लोकतान्त्रिक प्रोग्रेसिभ ध्रुवीकरणबारे, पार्टीको विधान पारित गर्नेबारे, बागमती प्रदेश सभामा पार्टीको भूमिकाबारे, पार्टी प्रवक्ता नियुक्तिबारे छलफल हुने उल्लेख छ। 

अब कसरी अघि बढ्छ?

अध्यक्ष रविन्द्र मिश्र पक्ष अब आज पारित भएको निर्णय अनुसार नै अघि बढ्ने भएको छ। प्रवक्ता पाठकले बहुमतको निर्णय मान्दैन भन्नुले पाण्डे समूहमा लोकतान्त्रिक चरित्र नदेखिएको बताए। 

'अध्यक्षका एजेन्डाहरु आगामी अधिवेसनमा परीक्षण होलान् तर उहाँहरुले बहुमतलाई कदर गर्दैन भन्नुले लोकतान्त्रिक चरित्रलाई देखाउँदैन्,' प्रवक्ता पाठकले बताए।

​यता पाण्डे समूहले भने ​रवीन्द्रजीको नेतृत्वमा दोस्रो चोटि पार्टी फुटे सकेको र अब राजनितिक रूपमा पार्टी दुइटा भएको बताएको छ। पाण्डे पक्षले निर्वाचन आयोग र अदालतमा कानुनी लडाई लड्ने र आफूहरुले पार्टी अघि बढाउने जनाएको छ। 

पाण्डले समूहले भोलिको केन्द्रीय कमिटीबाट अध्यक्ष मिश्रलाई कारवाही गर्दै पार्टी पुर्नसंरचना गर्ने समेत जनाएको छ। 

यो पनि: एकताको एक वर्ष नपुग्दै फुट्ने भयो विवेकशील साझा

यो पनि: ‘रवीन्द्र मिश्र ११ मा एक हुन सक्छन्, पार्टी प्रमुख हुन योग्य छैनन्’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .