ad ad

राजनीति


‘रवीन्द्र मिश्र ११ मा एक हुन सक्छन्, पार्टी प्रमुख हुन योग्य छैनन्’

‘रवीन्द्र मिश्र ११ मा एक हुन सक्छन्, पार्टी प्रमुख हुन योग्य छैनन्’

यज्ञराज जोशी
भदौ २१, २०७८ सोमबार १८:४३, काठमाडौँ

डा. सूर्यराज आचार्य तत्कालीन साझा पार्टीको स्थापनाकालदेखि नै सक्रिय नेता थिए। पूर्वाधारविज्ञ आचार्य पार्टीका दस्तावेज, घोषणापत्र, नीति तथा संगठनात्मक संरचना निर्माणमा निकै लागिपरे।

लामो समय पार्टीको प्रवक्ता रहेका आचार्य तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टी एकता गरी विवेकशील साझा दल बनाउने अभियानका सूत्रधार पनि थिए। तर पार्टीमा रवीन्द्र मिश्रपछिका शीर्ष नेताका रूपमा हेरिएका आचार्य ठीक एक वर्षअघि हठात् पार्टीबाट अलग भए। 

साझा पार्टीका सबै संरचना भंग गरी पार्टीलाई तल्लो तहबाटै पुनर्गठन गरौं भन्ने आफ्नो प्रस्ताव अस्वीकृत भएपछि आचार्य पार्टीबाट अलग भएका हुन्। आफ्ना एकदमै निकट मित्र तथा पार्टी अध्यक्ष रवीन्द्र मिश्र तथा अन्य साथी आफ्नो कुरामा ‘कन्भिन्स’ नभएपछि बाध्य भएर पार्टी छाड्नुपरेको उनको भनाइ छ। 

‘पार्टीलाई ग्रासरुट (तल्लो तह) सम्म लिएर जाऔं भन्ने प्रस्ताव मैले गरेको थिएँ। केन्द्रीय समिति विघटन गरेर केही समय केन्द्रीय समितिको अधिकार केन्द्रीय संयोजकलाई दिएर पार्टीका सबै समिति विघटन गरौं र देशव्यापी पार्टी निर्माणको अभियान थालौं भन्ने मेरो जोड थियो’, उनी भन्छन्, ‘अर्कापट्टि पार्टीमा अहिलेको संरचनालाई नै निरन्तरता दिउँ भन्ने मत रह्यो। पार्टीका नेतृत्व तहका साथीले यतिबेला अहिलेकै संरचना ठीक छ भनेपछि उहाँहरूलाई काम गर्न सजिलो हुन्छ भनेर हार्दिकताका साथ नै मैले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी अलग्गिने निर्णय गरेको हुँ।’

आचार्यसँगै त्यतिबेला पार्टीका अर्का प्रभावशाली नेता मुमाराम खनालले पनि पार्टी छाड्ने घोषणा गरेका थिए। वामपन्थी राजनीतिक पृष्ठभूमिबाट वैकल्पिक राजनीतिमा आएका खनाल तत्कालीन माओवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदै साझा पार्टीमा आबद्ध भएका थिए। 

उनीहरू पार्टीबाट अलग्गिनुको एउटा कारण थियो– अध्यक्ष मिश्रले गरेको विवेकशील नेपाली दलसँग पुनः एकता गर्ने प्रस्ताव। जुन एकता वर्ष दिन नपुग्दै पुनः भंग हुने अवस्थामा पुगेको छ।

विवेकशीलसँग पुनः एकताको कुरा चलिरहँदा आचार्य र खनालले भने तत्काल नगरौँ भन्दै असहमति जनाएका थिए। त्यसका लागि पार्टीका सबै संरचना भंग गरेर स्थानीय तहबाटै पुनर्गठन गर्नुपर्ने उनीहरूको सर्त थियो। त्यही अडान उनीहरूको बहिर्गमनको कारण बन्यो।

उनीहरू पार्टीबाट बाहिरिएसँगै मिश्रको अग्रसरतामा साझाले विवेकशीलसँग गत वर्ष मंसिरमा पुनः एकता गर्यो। 

आचार्य र खनाल, सुरुमा विवेकशील पार्टी अलग हुनाको कारणबारे केन्द्रीय समितिमा समिक्षा गरिनुपर्ने र त्यसपछि मात्रै एकताका लागि अघि बढ्नुपर्ने अडानमा थिए। तर अध्यक्ष मिश्रले उनीहरूको कुरा सुनेनन्। बरु भने, ‘विगतका कुरा कोट्याएर केही हुन्न। एकता गरौं। वैकल्पिक राजनीतिमा तरंग ल्याऔं।’

मिश्रको त्यो अभिव्यक्तिलाई राजनीतिक रूपमा अपरिवक्व र अहिले त्यसको परिणाम भोग्नु परिरहेको टिप्पणी गर्छन् आचार्य। 

‘साझाले विवेकशील पहिले किन छुटेर गए भन्ने आकलन नै नगर्नु गल्ती भयो। केन्द्रीय समितिमा रवीन्द्रजीले पनि प्रस्ताव ल्याउनुभएन’, आचार्य सम्झिन्छन्, ‘रवीन्द्रजीले फुटका कारण नराम्रो भयो, आम मानिसले किन फुट्यो भनेर सोध्यासोध्यै गरे भन्नुभयो। जुट्यो भने त भयंकर तरंग ल्याउँछ भन्ने सोच्नुभयो र एकताको आधार विचार, दृष्टिकोण, कार्यशैलीबारे समिक्षै नगरी हतारिएर एकता गर्नु गल्ती भयो। जुन मिश्रको राजनीतिक अपरिपक्वता थियो।’ 

अहिले पुनः एकता भएको वर्ष दिन नपुग्दै विवेकशीलबाट आएको ठूलो समूह र केही साझाका प्रभावशाली नेता छुट्टिने लगभग निश्चित भइसकेको छ। जसमा पार्टीका संयोजक मिलन पाण्डे, प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, रञ्जु दर्शना, प्रदेश सांसद रमेश पौड्याललगायतका नेता छन्।

अध्यक्ष मिश्रले ‘संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनतम संग्रह’ राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझा पार्टीमा विभाजन आएको हो। अध्यक्ष मिश्र आफ्नो दस्तावेज केन्द्रीय समितिमा पेस गर्न  चाहन्छन् भने संयोजक पाण्डे मिश्रको प्रस्ताव पश्चगामी भएको दाबी गर्दै निषेध गर्ने पक्षमा छन्। 

सोही कारण गत हप्ता अध्यक्ष मिश्र र संयोजक पाण्डेले अलग–अलग रूपमा केन्द्रीय समितिको बैठक राखे। जसले पार्टी विभाजनको बीउ रोपिसकेको छ। मिश्रले राखेको केन्द्रीय समितिको बैठकले पाण्डे पक्षलाई ‘समानान्तर गतिविधि नरोके कारबाही गर्ने’ चेतावनीसमेत दिइसकेको छ। 

पार्टीको विधानको धारा ३.१ मा संघीयता संस्थागत गर्न सहयोग पु¥याउने भनिएको छ। यस्तै २०.१० धारामा पार्टीको प्रथम महाधिवेशनसम्मलाई कायम रहनेगरी केन्द्रीय समितिमा अध्यक्ष र संयोजक रहने व्यवस्था गरिएको छ।

तर अध्यक्ष मिश्रले ‘मार्ग परिवर्तन’ भन्दै ‘विधानविपरीत’ संघीयता खारेजीको प्रस्ताव ल्याएर र एकलौटी ढंगले केन्द्रीय कमिटीको बैठक राखेर पार्टी विभाजनलाई निम्ता दिएको आरोप पाण्डे पक्षले लगाएको छ।

अध्यक्ष मिश्रले ‘विधानविपरीत क्रियाकलाप’ गर्दै दम्भ प्रस्तुत गरेका कारण पार्टीमा विग्रहको अवस्था आएको संयोजक पाण्डेको दाबी छ। मिश्रलाई विश्वास गर्नु नै आफ्नो ठूलो भूल भएको उनको टिप्पणी छ। 

‘एकीकरणका क्रममा भएका सम्झौता मिश्रले मान्दिनँ भन्नुहुन्न भन्ने लागेको थियो’, पाण्डेले नेपालखबरसँग भने, ‘मेरो गल्तीचाहिँ उनले हस्ताक्षर गरेका कुरा मान्छौं भन्ने कुरामा विश्वास गर्नु थियो। अहिले सजाय भोगिँदै छ।’

साझा पार्टी सुरु गर्दा सँगै रहेका डा. सरोज धिताल, डा. दिनेश प्रसाई, सिद्धि अर्याल, रेशु अर्याल, ओमप्रकाश अर्याल, उज्ज्वल थापा, गोविन्द नारायण् जस्ता व्यक्तिहरूले पनि उनीहरूको साथ छोडिसकेका छन्। जो साझाका प्रभावशाली नेताका रूपमा थिए। 

उनीहरूमध्ये अधिकतर व्यक्ति राजनीति गर्नै नहुने मानिस भएको टिप्पणी गर्छन्, आचार्य। केन्द्रीय कमिटीको बैठक पनि उनीहरूको बिदाका दिन पारेर राखिदिनुपर्ने अवस्था रहेको उनले सुनाए। छाडेर जाने अधिकतरले पार्टीको बनाउने भन्दा पनि भत्काउने काम गरेको आरोप आचार्यको छ।   
 

‘उहाँहरू राजनीति गर्नै नहुने व्यक्ति हो। कोही प्राज्ञ, कोही व्यवसायी, कोही एक्टिभेस्ट। तर राजनीतिक पार्टीको केन्द्रीय कमिटी भनेको एक्टिभिस्टहरूको समूह होइन’, आचार्य भन्छन्, ‘पार्टीका एजेन्डा, संगठन, कार्यशैली कसको जिम्मेवारी कति महत्त्वपूर्ण हुन्छ त्यो महत्त्वपूर्ण हो। उहाँहरूलाई मैले नेताका रूपमा कहिलै देखिनँ। उहाँहरूको कार्यशैली पार्टी बनाउनेभन्दा भत्काउने, पार्टी बनाउन नदिने थियो।’ 

दाहालको मत भने आचार्यको भन्दा भिन्न छ। पार्टीमा विभिन्न पृष्ठभूमिका मान्छेहरू रहेको र उनीहरूको पनि पार्टी निर्माणमा केही न केही योगदान रहेकाले अवमूल्यन गर्न नमिल्ने उनको तर्क छ। 

‘विभिन्न पृष्ठभूमिका भए पनि उहाँहरूको राजनीतिक महत्त्व थियो। पार्टीमा योगदान थियो’, दाहाल भन्छन्, ‘संकट दुईपक्षीय हुन्छन्। मनोविज्ञान फरक भए पनि नेताको काम सबैलाई जोड्न सक्नु हो। मुख्य नेताले त्यसलाई जोड्न सक्नुभएन। किन स्वामित्व दिन सकिएन, समेट्न सकिएन त्यसको मूल दोष नेतृत्वले लिनुपर्छ।’

मिश्रको नेतृत्वमा समस्या?
अध्यक्ष मिश्रको प्रस्तावबाट असन्तुष्ट पार्टीका प्रशिक्षण विभाग प्रमुख केशव दाहाल मूल नेतृत्वमा समस्या देख्छन्। 

‘मुख्य नेतामा सबैलाई समेटेर जाने कुरामा कमजोरी भयो’, दाहाल भन्छन्, ‘सबैका आआफ्ना पृष्ठभूमि, बुझाइ छन्। पार्टी निर्माणमा योगदान छ। सबै चिजलाई सम्मान गरेर स्वामित्व दिन नसक्ने समस्या पार्टीमा देखियो।’

यस्तै डा. दिनेश प्रसाईं रवीन्द्र मिश्रको छाती सानो र उनमा इगोको समस्या रहेको टिप्पणी गर्छन्। सोही कारण साझाका संस्थापक नेताहरू अहिले कोही नरहेको उनको दाबी छ। 

‘युवाहरूको जोस र वरिष्ठहरूको होसले केही गर्न सकिन्थ्यो कि भन्ने लागेको थियो’, उनले भने, ‘जति सानो पार्टी, उति ठूलो छाती बनाउनुपर्ने, बल्लबल्ल मान्छे समेटिएका थिए, तिनलाई सँगै लिएर जानुपर्ने थियो, तर मिश्रको निकै सानो छाती देखियो। उहाँमा इगोको समस्या पनि छ।’

आचार्य भने मिश्रमा थुप्रै कमजोरी भए पनि वैकल्पिक राजनीतिका लागि उनी प्रमुख अभियन्ता भएको दाबी गर्छन्। 

‘मिश्रको नेतृत्व शैलीप्रति भने मेरा केही असहमति छन्। तर विवेकशीलको समूह भन्दा रवीन्द्रलाई विश्वास गर्छु’, आचार्य भन्छन्, ‘५ वर्षपछि नेपालमा वैकल्पिक पार्टीले राजनीतिक सत्ता नै लिने वातावरण बनेछ भने त्यसको ११ सदस्यीय सचिवालयमा रवीन्द्र मिश्र सही व्यक्तित्व हो। तर त्यो पार्टीको लिड मिश्रले गर्न सक्नुहुन्न।’

‘राजनेता हुनाका लागि के के गुण चाहिन्छ भनेर रवीन्द्र मिश्रले किताब नै लेखेका छन्’, आचार्यले थपे, ‘उहाँकै मापदण्ड उहाँमाथि लगायो भने उहाँ वैकल्पिक राजनीतिक पार्टीको कार्यकारी प्रमुख हुनाका लागि योग्यता पुग्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .