ad ad

राजनीति


एकताको एक वर्ष नपुग्दै फुट्ने भयो विवेकशील साझा

रवीन्द्र मिश्रलाई विश्वास गर्नु गल्ती : मिलन पाण्डे
एकताको एक वर्ष नपुग्दै फुट्ने भयो विवेकशील साझा

यज्ञराज जोशी
भदौ १८, २०७८ शुक्रबार १५:३७, काठमाडौँ

विवेकशील साझा पार्टी एकताको एक वर्ष नबित्दै अन्ततः फुट नजिक पुगेको छ। बिहीबार पार्टीका दुई केन्द्रीय समिति बैठक गरेका दुई पक्ष एक भएर बस्न नसकिने अवस्थामा पुगेका हुन्। 

संघीयता र धर्मनिरपेक्षता खारेजी तथा हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने अडानसहित अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दस्तावेज ल्याएपछि पार्टीमा विग्रह सुरु भएको थियो। त्यसप्रति पार्टीका संयोजक मिलन पाण्डेसहितले असन्तुष्टि जनाउँदै आएका थिए।

तत्कालीन साझा र विवेकशील पार्टीबीच गतवर्ष मंसिरमा एकता भएपछि बनेको अन्तरिम विधानमा केन्द्रीय कमिटी बैठक अध्यक्ष र संयोजकको सहमतिमा बोलाउने उल्लेख थियो। तर दुवै नेताबीचको विवाद बढेपछि बिहीबार छुट्टाछुट्टै दुई केन्द्रीय कमिटी बैठक भएका हुन्। 

बिहीबार बिहान ११ बजे पाण्डे समूह र साढे १२ बजे मिश्रले बोलाएको केन्द्रीय कमिटी बैठक बसेको थियो। मिश्र पक्षीय केन्द्रीय समितिले असन्तुष्ट पाण्डे पक्षले समानान्तर गतिविधि नरोके कारवाही गर्ने निर्णय गरिसकेको छ।

‘अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ’, बैठकको पहिलो बुँदामा उल्लेख छ, ‘त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ।’

उक्त चेतावनीपूर्ण निर्णय नमानेर आफ्ना गतिविधि अघि बढाउने पाण्डे समूहको निर्णयसँगै पार्टी फुटनजिक पुगेको हो। पाण्डे समूहले सोमबार फेरि आफूपक्षीय समूहको केन्द्रीय कमिटी बोलाएको छ। उक्त केन्द्रीय कमिटी नरोके कारवाही गरिने साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बताएका छन्। 

‘केन्द्रीय कमिटीले नै समानान्तर गतिविधि गरे कारवाही गर्ने निर्णय गरिसकेको छ’, उनले भने, ‘फेरि पनि असन्तुष्ट साथीहरुले त्यस्तो हर्कत दोहोर्‍याए कडा कारवाही हुन्छ।’

उक्त कारबाहीसँगै पाण्डे समूह मिश्रसँग एकै पार्टीमा बस्न नसकिने निष्कर्षमा पुगेको छ। उक्त समूहका एक उच्च नेताले रवीन्द्र मिश्रसँग मिलेर अघि बढ्ने सम्भावना सकिएको बताए। 

‘रवीन्द्र मिश्रसँग सहमतिको आशा छैन। हामी सुरुमा स्टेप चाल्दैनौँ’, उनले भने, ‘कारवाही गर्न दिन्छौं। त्यसपछि प्रतिक्रिया दिन्छौं।’

ती नेताले उल्टै मिश्रले विधानविपरीत काम गरेका बताए। त्यसैले उनलाई समानान्तर गतिविधि गरेकोमा कारवाही गर्न सकिने चेतावनी उनले दिए।

पार्टी विधानअनुसार कारवाहीका लागि न्याय तथा सुशासन आयोग बनाउनुपर्ने हुन्छ। हालसम्म उक्त आयोग बनेको छैन। बिहीबार पाण्डे पक्षीय केन्द्रीय समिति बैठकले न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय समेत गरेको थियो।

पार्टी विधानको धारा ३.१ संघीयताको संस्थागत रुपमा सहयोग पुर्‍याउने भनिएको छ। तर मिश्रले विधानविपरीत ‘मार्ग परिवर्तन’को दस्तावेज ल्याएर संघीयता खारेजीको प्रस्ताव अघि सारेका छन। 

यस्तै पार्टीको धारा २०.१० मा पार्टीको प्रथम महाधिवेशनसम्मलाई कायम रहने गरी केन्द्रीय समितिमा अध्यक्ष र संयोजक रहने व्यवस्था छ। 

दुवैको आपसी समझदारीमा पार्टी काम कारवाही सञ्चालन हुने उल्लेख छ। यस बुँदालाई पनि मिच्दै मिश्र एक्लैले पार्टी केन्द्रीय समिति बैठक बोलाएको पाण्डे पक्षको आरोप छ। 

अध्यक्षले विधान विपरीत बोल्दै हिँड्ने संसारको कुन चाहिँ पार्टी छ। विधान बाहिर गएर बोल्ने छुट अरुलाई भए पनि अध्यक्ष, संयोजक, प्रमुख नेतालाई हुँदैन,’ उनले भने, ‘हामीले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया सुरु गरेका छौं। समानान्तर गतिविधि गर्ने र एकीकरणविरुद्ध लाग्नेलाई आयोगले कारवाही गर्नेछ।’ 

समानान्तर गतिविधि गरेकामा एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने स्थिति बनेपछि पार्टी फुटनजिक पुगेको हो। सोमबार पाण्डे पक्षको बैठकपछि दुवै पक्ष रणनीति निर्माणका लागि आन्तरिक छलफलमा छन्। 

पाण्डे समूहले सोमबारको केन्द्रीय समिति बैठकपछि आफूहरुमाथि कारवाही भए एकीकरणको अस्तित्व सकिने जनाइसकेको छ। 

‘कि उहाँले गर्नुहुन्छ (विभाजन) कि हामीले गर्छौ। कसले गर्छ भन्ने हो,’ ती नेताले भने, ‘अब राम्रो के हुन्छ भने रवीन्द्र मिश्रले नयाँ पार्टी खोल्नुहुन्छ। पुरानै साझा पार्टी लिएर जानुहुन्छ। राजनीति गर्ने यतिका साथीहरु छन। त्यो भएन भने नयाँ केही न केही भइहाल्छ।’

मिश्र पक्षीय एक नेताले यसअघि पनि पाण्डे समूहले पार्टी विभाजनको प्रयास गरेको र अहिले पनि त्यही बाटोमा अग्रसर भएको जनाए। 

‘यसअघि पनि फुटाउने प्रयास गरेका हुन्। तर मिलन पाण्डे कि केशव दाहालको नेतृत्व भन्नेमा विवाद भएर उहाँहरु त्यत्तिकै रहनुभयो,’ उनले भने, ‘पाण्डेको नेतृत्वमा विवेकशीलमा हुँदादेखि नै धेरै असन्तुष्ट थिए। दाहाल नेतृत्वमा आउनभन्दा किङ मेकर बन्न चाहान्छन्।’ 

अहिले पार्टी फुटाए २० प्रतिशत केन्द्रीय सदस्यहरु पाण्डे समूहमा जान सक्ने अनुमान ती नेताले सुनाए। पार्टीमा १३० जना केन्द्रीय सदस्य छन।  

मिश्रलाई विश्वास गर्नु गल्ती : पाण्डे

संयोजक पाण्डेले एकीकरणका क्रममा रवीन्द्र मिश्रलाई विश्वास गरेर गल्ती गरेको बताए। आफूले सम्झौता अनुसार नै काम होला भनेर एकीकरण गरे पनि मिश्रले दम्भ देखाएको उनको भनाई छ। 

‘हामीबीच सम्झौता अनुसार एकीकरण भएको हो। उहाँले  सम्झौता मान्दिन भन्नुहुन्न भन्ने मानेको थिएँ,’ पाण्डेले भने, ‘उहाँले धेरै चेतेँ, हामी नमिलेसम्म वैकल्पिक राजनीतिक उठ्दैन भनेकाले एकता भएको हो। समान अधिकारसहित एकता महाधिवेशनमा जाऔं, पार्टीलाई जिताऔँ भनेर आएका थियौँ।’

उनले विश्वास गर्दा धोका भएको बताए। ‘मेरो गल्ती चाहिँ उनले हस्ताक्षर गरेका कुरा मान्छौँ भन्ने कुरामा विश्वास पर्नु थियो’, उनले भने, ‘मैले पनि गल्ती गर्यो भन्ने हो भने सजाय भोग्न सक्छु।’

पाण्डेले बिहीबारको बैठकको अन्तिम समयमा पनि दुवै बैठक रोकौँ भनेर प्रस्ताव राख्दा मिश्रले नमानेको दाबी गरे। कुनै हालतमा बैठक रोकिँदैन भनेपछि आफूहरुले बैठकलाई निरन्तरता दिनुपरेको उनले बताए। 

गत वर्ष मंसिर २४ तत्कालीन साझा पार्टी र विवेकशील नेपाली दलबीच दोस्रोपटक एकता हुँदै विवेकशील साझा पार्टी बनेको थियो। त्यसअघि २०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो। 

तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै तत्कालीन संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि विभाजन भएको थियो।

विवेकशीलको महाधिवेशनबाट मिलन पाण्डे नेतृत्वमा आएपछि गत वर्ष मंसिरमा यी दुई दल एक भएका थिए। 

कारवाही हुन्छ : पाठक

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले समानान्तर गतिविधि नगर्नु भन्ने केन्द्रीय कमिटीको चेतावनी विपरीत कोही गएमा कारवाही हुने बताए।

‘पार्टीको हिजोको बैठकले नै तत्काल समानान्तर गतिविधि रोक्न भनेपछि समानान्तर गतिविधिलाई पार्टीले आँखा चिम्लिँदैन,’ पाठकले भने, ‘उहाँहरुलाई हिजैकै बैठकबाट कारवाही गर्नुपर्छ भन्ने साथीहरु हुनुहुन्थ्यो। तर त्यति कठोर बन्ने सोच हाम्रो छैन। अध्यक्षले उहाँलाई अन्तिम प्रयास गरौं आउनुस् भन्नु भएको हो।’

त्यसबाहेक पार्टीको केन्द्रीय कमिटी बैठकले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने टिप्पणी नगर्न पनि केन्द्रीय सदस्यहरूलाई भनेको छ। यदि त्यसो गरेमा पार्टीले कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .