राजनीति


यी हुन् देउवाबाट महामन्त्री आश गरेका कांग्रेसका पाँच नेता

यी हुन् देउवाबाट महामन्त्री आश गरेका कांग्रेसका पाँच नेता

केशव सावद
कात्तिक २, २०७८ मंगलबार १५:५६, काठमाडौँ

मंसिर दोस्रो साता तय भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि अहिलेसम्म कयौँले उम्मेदवारी घोषणा गरिसकेका छन्। कांग्रेसमा सभापतिपछि महामन्त्री पद सबैभन्दा आकर्षक बन्ने गरेको छ। खासगरी मुख्य नेतृत्व हात पार्न चाहने दोस्रो र तेस्रो पुस्ताका नेताहरुको रोजाइ बन्ने गरेको छ यो पद।

कांग्रेसमा युवा पुस्ताको प्रतिनिधिका रुपमा परिचित गगन थापा, विश्वप्रकाश शर्मालगायतले महामन्त्रीमै उठ्ने घोषणा गरिसकेका छन्। कांग्रेसमा दुई जना महामन्त्री रहने व्यवस्था छ।

अझ संस्थापन गुटमा महामन्त्री पदका आकांक्षी धेरै छन्। संस्थापनबाट महामन्त्रीको होडमा रहेका नेताहरुमा सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्व सिँचाइमन्त्री एनपी साउद गरी पाँच जना छन्।

प्रवक्ता शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते सुन्दरीजलस्थित बीपी संग्रहालयमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए। तर, त्यसको एक दिनपछि नै उनी सभापतिका प्रत्यासी निधिको निवासमा देखिएपछि उनले देउवाको साथ छाडेको चर्चा चुलिएको थियो।

तर, उनले त्यसको खण्डन गर्दै आफूले देउवाकै समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिने दाबी गर्दै आएका छन्। देउवाको समूहबाट महामन्त्री पदको आकांक्षा राख्नेमा उनी सबैभन्दा कान्छा नेता हुन्। 

पाँचै जना नेताहरु यतिबेला सभापति देउवाले महामन्त्री पदको उम्मेदवारी आफूलाई दिने आशमा बसेका छन्। यद्यपि, देउवाले कसैलाई पनि महामन्त्रीको उम्मेदवार बनाउने वचन नदिएको बालुवाटारनिकट स्रोतले जनाएको छ। 

तर, पाँचै जना नेताहरुले निकट नेता–कार्यकर्ताहरुलाई आफू महामन्त्रीको उम्मेदवार बन्नेमा ढुक्क रहन आश्वासन दिँदै आएका छन्। 

सभापति देउवाले आकांक्षी पाँचमध्ये दुई जनालाई महामन्त्रीको उम्मेदवार बनाउने निश्चित छ। तर, को–को उम्मेदवार बन्छन्, अहिले नै यकिनसँग भन्न नसकिने संस्थापन पक्षीय नेताहरुको भनाइ छ।    

‘आकांक्षा त अलि धेरैले राख्नुभएको छ। तर, पाँच जनाले अलि बढी नै दाबी गरिरहनुभएको अवस्था हो,’ सभापति देउवानिकट एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘अहिले नै ककसले पाउनुहुन्छ भन्न सहज छैन।’ 

सबै नेविसंघका उत्पादन
रोचक पक्ष के छ भने संस्थापनबाट महामन्त्री दाबी गरिरहेका यी पाँचै जना नेता भातृ संगठन नेविसंघमार्फत कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन्। डा. महत नेविसंघका पाँचौँ केन्द्रीय अध्यक्ष बलबहादुर केसीको पालामा महामन्त्री थिए। 

सञ्चारमन्त्री कार्की नेविसंघको चौथो केन्द्रीय अध्यक्ष हुन्। उनी २०३९ सालमा नेविसंघको अध्यक्ष बनेका थिए। कार्कीले २०४० सम्म नेविसंघको नेतृत्व सम्हालेका थिए। 

गृहमन्त्री खाण नेविसंघको छैटौं केन्द्रीय अध्यक्ष हुन्। उनी २०४४ देखि २०४८ सम्म नेविसंघका अध्यक्ष थिए। 

नेविसंघको सातौँ अध्यक्ष हुन्– पूर्व सिंचाईमन्त्री साउद। उनी २०४८ देखि २०५३ सम्म नेविसंघको अध्यक्ष थिए। 

प्रवक्ता शर्मा भने नेविसंघका १० औँ अध्यक्ष हुन्। उनले २०५७ देखि २०५९ सम्म नेविसंघ हाँकेका थिए।

महामन्त्रीका आकांक्षी सबैजसो बलियो जनमत भएका नेता परेपछि सभापति देउवालाई महामन्त्रीको उम्मेदवारी टुंग्याउन सहज नदेखिएको नेताहरुको भनाइ छ।   

महामन्त्रीका आकांक्षीहरुको व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा देउवाका विश्वासपात्र मानिने एक केन्द्रीय सदस्यले भने, ‘व्यवस्थापन हुन्छ, हुँदैन भन्ने छैन नि। कसैलाई विकल्प दिनुपर्छ। कसैको चित्त बुझाउनुपर्छ। कसैलाई पालो पर्खाउनुपर्छ।’

देउवा पक्षकै अर्का एक नेताले अवसर पाइसकेकालाई मनाएर अवसर नपाएकाहरुलाई महामन्त्री बनाउने छलफल पनि भइरहेको दाबी गरे।

‘आकांक्षीमध्ये दुई जना मन्त्री बन्नुभएको छ। उहाँहरुलाई मनाएर बाँकी रहेका तीन जनामध्येबाट महामन्त्रीको उम्मेदवार बनाउने कि भन्ने अनौपचारिक छलफल पनि भइरहेको छ,’ ती नेताले भने। 

देउवा समूहकै अर्का प्रभावशाली नेताले पनि उक्त छलफल अनौपचारिक रुपमा चलिरहेको पुष्टि गरे। तर बाँकी तीनमध्य दुई जना पनि यसअघि मन्त्री भइसकेका नेता हुन्। त्यसैले अहिले मन्त्री रहेका भएपनि खाण र कार्कीजस्ता सशक्त दाबेदार नेतालाई महामन्त्री बन्नबाट रोक्न देउवालाई सजिलो छैन।  

‘पूर्णबहादुर खड्कालाई महामन्त्रीमा मनोनित गर्दाका बखत नै उहाँहरु (खाण र कार्की) आकांक्षी हो। तर, यसपल्ट फर्स्ट लटमै मन्त्री बनाइनुभयो,’ ती नेताले भने, ‘उहाँहरुलाई महामन्त्रीमा थप शक्तिशाली बनाउन हो कि अरुलाई महामन्त्री बनाउन हो भन्ने अन्यौल छ।’

कांग्रेसले मंसिर ९–१३ का लागि महाधिवेशन तय गरेको छ। संस्थापन पक्षीय नेताहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छन्।

संस्थापनइतर समूहमा रहेका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा औपचारिक रुपमै गरेका छन्। 

इतर समूहका अर्का आकांक्षी डा. शेखर कोइराला पनि सार्वजनिक रुपमै सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन्। इतर समूहको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि आफूनिकट नेताहरुसँग उम्मेदवारी दिने बताउँदै आएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .