ad ad

राजनीति


फेरिँदै बागमती सरकार, कसरी गर्लान् तीन दलले भागबन्डा?

फेरिँदै बागमती सरकार, कसरी गर्लान् तीन दलले भागबन्डा?

सागर न्यौपाने
असोज २४, २०७८ आइतबार १३:५७, काठमाडौँ

केन्द्रमा सत्ता गठबन्धन गरिरहेका दल बागमती प्रदेशमा आजै बहुमत पेश गर्ने तयारीमा छन्। 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदैछिन्। 

एमाले विभाजित भएकाले शाक्यले विश्वासको मत लिन सक्ने अवस्था छैन। उनले विश्वास प्रमाणित गर्न अन्य दलको सहयोग लिनुपर्ने हुन्छ। जुन असम्भव जस्तै छ। 

शाक्यले विश्वासको मत पाउन नसकेमा आइतवारै माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश प्रमुखकहाँ बहुमत दाबी गर्ने एक सांसदले बताएका छन्। 

बागमती र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने केन्द्रको चार दलीय गठबन्धनले सहमति गरिसकेको छ। यस्तो अवस्थामा बागमतीमा अब एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन्। 

प्रदेशसभाका १ सय ९ सांसदमध्ये सरकार दाबी गरिरहेको गठबन्धनमा ५८ सांसद छन्। तर मुख्यमन्त्री शाक्यको पक्षमा एमालेका ४३ मात्रै सांसद छन्। 

आइतवार दिउँसो ३ बजे बस्ने बैठकको एजेण्डा नै मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिने छ।

विश्वासको मत लिनुअघि शाक्यले राजीनामा दिए आजै नयाँ सरकार गठन हुन सक्छ।

शाक्य गत भदौ २ गते मुख्यमन्त्री बनेकी हुन्। उनले त्यसबेला केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको सल्लाहमा मुख्यमन्त्री बनेको बताएकी थिइन्। 

तर भदौ ९ गते माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले दलको मान्यता पाएको थियो। त्यसको जानकारी प्रदेश सभामा भदौको २५ गते मात्रै दिएकाले शाक्यले एक महिना बढी समय सरकार चलाउन पाएकी छन्। 

एमाले फुटेर समाजवादी बनेपछि शाक्य अल्पमतमा परेको अवस्थामा गठबन्धनले आफ्ना ५८ सांसद उपस्थित गराएर प्रदेश प्रमुखकहाँ बहुमत पेश गर्न सक्छ। 

यदि मुख्यमन्त्री शाक्यले राजीनामा नदिइ विश्वासको मत लिन चाहे संसदमा मतदान हुनेछ। मतदानमा जाँदा भने प्रक्रिया लम्बिन्छ।

मतदान सकिएपछि आएको नतिजा प्रदेश प्रमुखलाई पठाइन्छ। त्यसपछि मात्रै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्दा समय लाग्न सक्छ।

प्रचलन अनुसार ३ दिनको समय दिएर नयाँ सरकार गठन आह्वान हुने गरेको छ। यदि त्यसो भएमा दसैँ अगाडि नयाँ सरकार बन्ने सम्भावना कम छ। 

त्यहीकारण विपक्षी गठबन्धनले छिटो प्रक्रिया सुरु गर्ने गरी तयारी थालेको छ।

एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अघि सारिसकेको छ।

पाण्डेले नेपालखबरलाई बताए अनुसार आइतवारै प्रदेश प्रमुखलाई बहुमत पेश गर्ने तयारी छ।

‘हामीसँग ५८ जना सांसद हुनुहुन्छ,’ पाण्डेले भने, ‘बहुमत रहेको दाबी प्रदेश प्रमुख समक्ष आजै पेश गर्छौँ।’

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले पनि प्रदेश प्रमुखसमक्ष आइतवारै बहुमत दाबी गरेर सरकार बनाउने बताए।

‘मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमत रहेको भन्दै राजीनामा दिए नयाँ मुख्यमन्त्री छान्ने प्रक्रिया आजै हुन्छ,’ जमरकट्टेलले भने, ‘उहाँको राजीनामा नआए अलिकति प्रक्रिया लम्बिन सक्छ।’

प्रदेशसभामा भएको मतदान, त्यसपछि त्यसको परिणाम सबै प्रदेश प्रमुखलाई दिएपछि यदि अहिलेको मुख्यमन्त्रीले विश्वासको मत लिन नसके अनि प्रदेश प्रमुखले नयाँ चयनको प्रक्रिया सुरु गर्न पाउँछन्। गठबन्धन आजै प्रक्रिया सक्नुपर्ने अडानमा छ। 

‘आजै प्रक्रिया अघि बढाएर सक्नुपर्छ भनेका छौँ’, एक सांसदले नेपालखबरसँग भने, ‘तर, मुख्यमन्त्री शाक्यको चाहना भने दसैँपछि गर्न पाए हुन्थ्यो भन्ने रहेछ, तर विपक्षी गठबन्धनले कुर्ने कुरै भएन।’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई हटाएर प्रधानमन्त्री शेरबहादुर देउवाले यादवप्रसाद शर्मालाई भदौ ३ गते नियुक्त गरेका थिए।

उनलाई त्यहाँ पठाउनुको कारण नै गठबन्धनलाई समस्या नहोस् भनेर हो।

त्यही भएर बागमती प्रदेशमा आजै नयाँ सरकार बनेको घोषणा हुन सक्ने सम्भावना धेरै रहेको सांसदहरु बताउँछन्।

सकभर दसैँ विदा हुनुअघि नै नयाँ मन्त्रिमण्डल बनाएर जाने रणनीति गठबन्धनले बनाएका छन्। 

कस्तो बन्ला सरकार?  
प्रदेशमा रहेका ३ दलको स्पष्ट बहुमत रहेकोले सत्तामा तिनै दलबीच भागवण्डा गर्नेछन्। माओवादी केन्द्रको २३ सिट रहेकोले उसले धेरै मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ।

तर, तीन दलबीचमा मन्त्रालयको संख्या कति बनाउने निर्णय भइसकेको छैन।

मन्त्रालय भागबण्डा मिलाउन पनि ११ मन्त्रालय बनाउन छलफल भइरहेको छ। 

‘९ र ११ मा कति बनाउने निर्णय भइसकेको छैन,’ अर्का सांसदले भने, तीन दलबाट सम्मानजनक भागबण्डाका लागि ११ बनाउने भन्ने छ।’ 

‘ठूलो दलको हिसावले माओवादीले ४ वटा मन्त्रालय दाबी गरेर शक्तिशाली मन्त्रालय लिन्छ,’ ती सांसदले भने, ‘कांग्रेसलाई पनि सम्मानजनक स्थान दिइन्छ। सरकारकै नेतृत्व गर्ने भएकोले एकीकृत समाजवादीले ३ वटा मन्त्रालय लिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .