आफ्ना बुबा विरोध खतिवडा स्वास्थ्यमन्त्री बनेपछि पूर्वमिस नेपाल श्रृंखला खतिवडा निकै खुसी भएकी छन्।
हाल अमेरिकामा रहेकी उनले सामाजिक सञ्जालमार्फत बुबालाई बधाई तथा सफलताकाे शुभकामना दिँदै अपेक्षा पनि व्यक्त गरेकी हुन्।

‘तपाईंको छोरी हुन पाउँदा म गर्व महसुस गर्छु। जनताको सेवाप्रति तपाईंको समर्पण देखेर म सधैँ अचम्म पर्थे। कहिल्यै ठूलो सपना देख्नुभएन, तर अरूका ठूला सपनाहरू पूरा गरिदिन तपाई खटिएको देख्दा म आफैँलाई पनि कतिपटक डाहा लाग्थ्यो’ , श्रृंखला खतिवडाले लेखेकी छन्, ‘प्यारो बुबा, मलाई आशा छ- अब तपाईं झन् व्यस्त रहनुहुनेछ। तपाईंको अपार ज्ञानले पक्कै पनि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनेछ। उही तपाईंकी प्यारी छोरी तथा शुभचिन्तक!’
‘मिस नेपाल–२०१८’ विजेता श्रृंखला उच्च शिक्षा अध्ययनका सिलसिलामा अहिले अमेरिकामा छिन्।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेको उम्मेदवार बनेर मकवानपुर २ बाट सांसदमा निर्वाचित खतिवडा हिजो (शुक्रबार) मात्र नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन्।
एमालेबाटै अलग भएर माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले आफ्नाे स्थापनाकाे डेढ महिना नपुग्दै शुक्रबार सत्ताराेहण गरेकाे हाे।
एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाँक्री पर्यटनमन्त्री, प्रेम आले सहरी विकासमन्त्री, तनहुँका किसान श्रेष्ठलाई श्रममन्त्री र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बनेका हुन्।
Shares

प्रतिक्रिया