ad ad

राजनीति


विरोध खतिवडा : एमालेबाट चार पटक सांसद, मन्त्री बन्न कांग्रेसको सरकार

विरोध खतिवडा : एमालेबाट चार पटक सांसद, मन्त्री बन्न कांग्रेसको सरकार

नेपालखबर
असोज २२, २०७८ शुक्रबार १६:११, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन्।

२०४८ देखि चार पटक मकवानपुरबाट प्रत्यक्ष प्रतिनिधि सभा निर्वाचित भएका खतिवडाले मन्त्री हुन भने शेरबहादुर देउवा सरकार नै कुर्नुपर्यो। 

एमालेले २०५१ देखि पटक पटक सरकारको नेतृत्व गर्दा खतिवडा परेका थिएनन्। तर उनी मन्त्री हुन संयोगवश कांग्रेस नेतृत्वको सरकार कुर्नुपर्यो।

३० वर्षपछि सरकारमा सहभागी हुने उनले सौभाग्य पाएका छन्। संयोग कस्तो छ भने, एमाले विभाजन भएपछि खतिवडाले मन्त्री बन्ने अवसर पाए।

हक्की स्वभावका खतिवडालाई माधवकुमार नेपालले सरकारको नेतृत्व गरेर पठाएका छन्। हेटौँडा, उपमहानगरपालिका ४ का खतिवडा २०१७ सालमा जन्मिएका हुन्। 

२०३५ सालमा अनेरास्ववियुको काठमाडौं जिल्लाको अध्यक्ष भएर राजनीति थालेका उनी २०३७ देखि २०४० सम्म अनेरास्ववियुको केन्द्रीय सदस्य थिए। 

एमालेका केन्द्रीय सदस्य रहेका उनी २०७५ मा एमाले र माओवादी एकता भएर बनेको नेकपाको केन्द्रीय सदस्य थिए। हाल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य छन्।

प्रतिनिधि सभा निर्वाचनमा २०४८, २०५१ र २०५६ मा मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित उनी ०७४ मा भने क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्। 

सार्वजनिक लेखा समितिका सदस्य रहेका खतिवडा प्रष्ट वक्ताका रुपमा चिनिन्छन्। उनकी कान्छी छोरी श्रृंखला खतिवडा मिस नेपाल भएकी थिइन्। 

संसदीय राजनीतिमा अनुभवी नेताका रुपमा उनी चिनिन्छन्। विरोध, बार एसोसिएसनका सदस्य पनि हुन्। कानुनमा स्नातक उनकी श्रीमती मुनु सिग्देल बागमती प्रदेश सभाकी सदस्य हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .