असंलग्न राष्ट्रहरूको १८औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु पुगेका प्रधानमन्त्री ओली आज (आइतबार) स्वदेश फर्किंदै छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार कतार एयरवेजको नियमित उडानमार्फत दोहा हुँदै प्रधानमन्त्री अहिले बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।
प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलगायत २१ सदस्यीय टोली लिएर गत बिहीबार बाकु गएका थिए।
सम्मेलन क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्राध्यक्ष एवं राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गरेका थिए।
असंलग्न परराष्ट्रनीति भनेको कुनै एक राष्ट्रले अर्को राष्ट्रको सैनिक कारबाही तथा गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने नीति हाे।
नेपाललगायत विश्वका विभिन्न देशले यस्तो नीति अँगालेका छन्। त्यस्ता देश संगठित हुँदै आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन्। यस वर्षको शिखर सम्मेलन पनि फलदायी भएको असंलग्न परराष्ट्र नीति अँगालेका राष्ट्रहरूको भनाइ छ।

प्रतिक्रिया