राजनीति


एमालेलाई खिमलालको प्रश्न : प्रतिनिधिसभाको विवादमा राष्ट्रियसभाको खाँबो चिथोर्ने?

एमालेलाई खिमलालको प्रश्न : प्रतिनिधिसभाको विवादमा राष्ट्रियसभाको खाँबो चिथोर्ने?

नेपालखबर
असोज १८, २०७८ सोमबार १२:४६, काठमाडौँ

राष्ट्रियसभाका सदस्य डा.खिमलाल देवकोटाले आफूहरुलाई एक महिनादेखि बोल्न नदिएको आरोप लगाएका छन्। 

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा एमाले सांसदहरुले गरिरहेको अवरोधबारे नियमापत्ति जनाउँदै देवकोटाले यस्तो बताएका हुन्। 

'एक महिनादेखि हामीलाई बोल्न दिइएको छैन। राष्ट्रियसभामा हाम्रो मुख थुनिएको छ', उनले भने, 'यही सभामा सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्द प्रयोग भएका छन्। यसमा म नियमापत्ति गर्दछु।'

उनले एमाले सांसदहरुले सभामुखलाई अपमान गर्दै नेताको नेताको आदेशपालक र तल्लो तहको शब्द प्रयोग गरेर गाली गरिएको पनि बताए। 

'सभामुखप्रति प्रयोग गरिएका शब्दहरू संसदको रेकर्डबाट हटाउन ध्यानाकर्षण गराउँछु', उनले भने, 'संविधानको धारा १०५ अनुसार सर्वोच्चमा विचाराधीन मुद्दामा बोल्न पाइँदैन। संविधानले बन्देज गरेका विषयमा संसदमा हुलहुज्जत गर्न मिल्छ? जथाभावी बोल्न मिल्छ?'

प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रियसभामा अवरोध गर्नु ठीक नभएको उनले बताए। 'प्रतिनिधिसभाको कुरालाई त्यो ठीक छ बेठीक छ छाडिदिऊँ। प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रियसभाको खाँबो चिथोर्न पाइँदैन', उनले भने, '२०६६ सालमा मातृका यादव र जगत यादवलाई कारबाहीको सूचना टाँस्न तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पाँच महिना लगाएका थिए। ४४ दिनमा उपसमिति बनाएर ९६ दिनमा प्रतिवेदन बुझेका थिए। अनि मात्रै सूचना टाँसिएको थियो।'

यो सन्दर्भ उनले सभामुख अग्नि सापकोटाले एमालेका १४ सांसदलाई कारबाही नगरेको विषयमा जोडेर निकालेका थिए। 'माओवादीका टोपबहादुर रायमाझी र प्रभु साह मन्त्री खानै एमालेमा गएकाले कारबाही भएको हो। २८ जनाले विश्वासको मत नदिएका हुन् कारबाही चाहिँ १४ जनालाई किन?', उनले सोधे, 'उहाँहरु आफैँले पनि कुचोले बढार्नेलाई हावाले लगेको भनेका छन्। वैशाखको कुरा भदौमा कारबाही किन? उहाँहरुले कुन नैतिकताको आधामा कारबाही गर भनिरहनु भएको छ? 

उनले संसदका सभामुख र अध्यक्ष जस्तो गरिमामय पदले कुनै अमुक दलले जे भन्यो त्यही कारबाही गर्ने भन्ने नहुने पनि उल्लेख गरे। उनले सभामुखमाथि एमाले सांसदहरुले प्रयोग गरिएका शब्द रेकर्डबाट हटाउन पनि माग गरे। 

देवकोटाले दुई दुई चोटी प्रतिनिधिसभा विघटन गर्दा नबोलेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पनि प्रश्न गरे।

'संसबाहिर पनि सर्वोच्चमा मुद्दा चलिरहेको विषयमा बोल्न हुँदैन भनिएको छ। तर उहाँ आफैँले सांसदहरुलाई उचाल्दै हुनुहुन्छ', उनले भने, 'संविधान र कानुनको अपमान हुने हर्कत अहिले भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad