ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज आइतबार सम्पन्न हुँदै छ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज अन्तिम दिनको छलफल बिहान ८ बजेदेखि भइरहेको छ।
‘अहिले समूहगत छलफल जारी छ’, कार्यालय सचिव तामाङले आइतबार बिहान नेपालखबरसँग भने, ‘पार्टी अध्यक्षलगायतले जवाफ दिएपछि महाधिवेशन सकिनेछ।’
आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिनेछन् भने महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन तथा उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिने कार्यक्रम छ।
कार्यालय सचिव तामाङले जवाफ दिने क्रम सुरु भएपछि बिहान ११ बजेदेखि मात्र पत्रकारलाई हलमा प्रवेश दिइने जानकारी पनि गराए।
यही असोज १५ गतेदेखि जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको एमालेले जनाएको छ।
यो पनि : एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको आलोचना, अन्तरविरोध हल गर्न नसकेको आरोप
Shares

प्रतिक्रिया