बाँकेको राप्ती सोनारी गाउँपालिका-१ गाभरमा तीनवटा बाघले एकसाथ घेरेका तीनजना गोठालाको हात्तीको सहायतामा सकुशल उद्धार गरिएको छ।
स्थानीय ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया कालिका खड्कालाई शनिबार बाँके राष्ट्रिय निकुञ्जका दुई हात्तीको सहायतामा उद्धार गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।
भैंसी र बाख्रा चराउन घर नजिकैको सामुदायिक वनमा गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिकै तीनवटा बाघले घेरेका हुन्। बाघले मान्छे र बाख्रालाई घेरा हालेपछि आफूहरुले रुखमा चढेर ज्यान जोगाएको ओलीले बताए।
बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले उद्धार गरेर घर पुर्याएको छ। बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उनीहरुको उद्धार गरेका बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जानकारी दिए।
त्यस क्षेत्रका स्थानीयलाई पटकपटक बाघले आक्रमण गर्दै आएको छ। ‘जंगलमा पुनः बाघ देखिएको जानकारी आएपछि हात्तीसहित नेपाली सेना परिचालन गरेका छौँ,’ चौधरीले भने।
गाभरको जंगलमा केही दिनअघि मात्रै एक जना भारतीय नागरिकलाई बाघले आक्रमण गरेको थियो।
Shares

प्रतिक्रिया