राजनीति


फेरि जनयुद्धमा हामफाल्छु, तर हतियार बोकेर भूमिगत हुन्नँ : प्रचण्ड

पहिलो पटक प्रधानमन्त्री हुँदा पार्टीबाटै हटाइएको दाबी
फेरि जनयुद्धमा हामफाल्छु, तर हतियार बोकेर भूमिगत हुन्नँ : प्रचण्ड

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १७:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि जनयुद्ध थाल्ने भए आफू हामफाल्न तयार रहेको बताएका छन्। 

सपनाको पाण्डुलिपि गीति संग्रह विमोचनका क्रममा शुक्रबार काठमाडौंमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

उनले विश्वका कयौँ देशमा कम्युनिष्ट आन्दोलन र युद्धहरू पराजित भइरहँदा नेपालमा आफ्नो नेतृत्वमा यति ठूलो उपलब्धी गर्न सफल भएको बताए।

'विश्वमा आन्दोलनहरु करिब करिब कतिपय ठाउँमा पराजित भएका थिए। नेपालमा अहिलेका उपलब्धी हाम्रै बलमा भएका हुन्', उनले भने, 'तर जनयुद्धका नाममा हामी सधैँ लडिरहने हो भने हाम्रो पनि हालत खस्ता नै हुन्छ भन्ने देखेपछि हामी शान्ति प्रक्रियामा आएका हौँ। नायक भन्ने मान्छेले नै परिस्थिति अनुकुल छैन है भन्ने निचोड निकालेकै हो।'

अध्यक्ष दाहालले देशमा फेरि एउटा जनयुद्ध चाहिएको बताए। 'फेरि एउटा जनयुद्ध सुरु गर्ने हो भने म त हामफाल्न तयार छु। तर अहिले नै हतियार बोक्ने र भूमिगत हुने भनेको छैन', उनले भने, 'प्रतिक्रियावादीले यसैगरी घेरा हाल्ने हो भने दलाल पुँजीपतिका निर्वाचन प्रणाली र शासकीय स्वरुप उल्ट्याउन सकिन्छ। हाम्रो आह्वानमा पुस ५ को कदमविरुद्ध जस्तै मानिसलाई सडकमा उतारे व्यवस्था परिवर्तन गर्न सकिन्छ।'

उनले माओवादी आन्दोलन चुकेको विषयमा समीक्षा हुनुपर्ने पनि बताए। 'मैले आजकाल भनेको सुन्नु भएको छ नि तपाईंहरुले, आत्मसमीक्षा गर्न जरुरी छ। कहाँ कहाँ त्रुटी भयो खोजौँ म पनि समीक्षा गर्छु', उनले भने, 'प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ मानिस काठमाडौंमा आए। उनीहरु संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने काममा लागेका थिए। तर हामीले मर्न समेत तयार भएर व्यवस्था जोगाउन सफल भयौँ।'

उनले एमाले एकताबाट केपी शर्मा ओलीदेखि आफूले ज्ञान पाएको दोहोर्‍याए। 'ओलीसँगको एकताले ज्ञान पाएँ। देशका लागि लाभदायी हुन सक्छ। केपीसँग ज्ञानले सबैलाई फाइदा हुन्छ', उनले भने, 'समय आयो भने ज्ञान साटासाट गर्नेछु। अब सबै ज्ञान जोडेपछि हामी कसो महान ज्ञानी नबनिएला! यसलाई मैले आत्मालोचना गरेको हो भनेर पनि बुझ्नु होला।'

भेट नगराउनु 
प्रचण्डले आफूलाई डा. बाबुराम भट्टराईसँग एकै मञ्चमा नराख्न पनि अपिल गरे।

'यसअघि बाबुरामजीसँग राखेर बहस गराउनुभयो। तर बाबुराम र म सँगै बोल्दा दूरी बढेको छ घटेको छैन', उनले भने, 'यस्तो कार्यक्रममा आएपछि उहाँले बोल्नु हुन्छ। बोल्न त नहुने हो तर उहाँले बोल्दै नमिल्ने कुरा बोल्नु हुन्छ। मार्क्‍सवादसँग संगतै नमिल्ने कुरा बोल्नुहुन्छ। महान् काम गर्छु भनेर महन्थ ठाकुरसँग मिल्नुहुन्छ। के चाहिँ गर्नुहुन्छ भन्ने लाग्छ। एकै ठाउँमा राखेर नबोलाउनुस् हामीलाई।'

बाबुराममाथि कटाक्ष गर्दै उनले महान् काम गर्न हिँडेका बाबुरामले खोलेको नयाँ शक्ति पार्टी पनि हराइसकेको बताए। 

'म त महान नयाँ खोजीमा छु भन्नहुन्छ। तर नयाँ शक्ति भन्नु भयो कहाँ गयो? मार्क्सवादमा नयाँ चिज थप्ने भन्नु हुन्छ के थप्ने रहेछ?', उनले भने, 'बाबुरामहरुसँग भेटाएर बहस नगराए हुन्थ्यो। आज पनि किरणजी र विप्लवजी आउनु भएन ठीकै भयो।'

उनले सबैजनाले रियलाइज गरेपछि भेट हुने बताए। 'हामीले गल्ती गरे पनि, बाटो बिराए पनि जनयुद्धको मूल्य कम हुँदैन', उनले भने, '१७ हजार प्रतिक्रियावादीहरु मान्छे मारेका अपराधीहरू भन्ने कुरामा एकमत छन्। प्रचण्ड, किरण, विप्लव एकै छन उनीहरुका लागि। हाम्रो आन्दोलन बिग्रिएको हो। बाहिरकाले त बिगार्न खोजेकै हुन् घेराबन्दी गरेकै हुन्।' 

प्रचण्डले जनयुद्धले नेपालमा ठूलो राजनीतिक परिवर्तनका बहाकका रुपमा सम्मान पाएको बताए। उनले आफूलाई पार्टीबाटै हटाउन खोजिएको पनि बताए। 

'मलाई पहिलो पटक प्रधानमन्त्रीबाट हटाउन पार्टीबाटै योजना बनाइएको हो', उनले भने, 'माओवादी जनयुद्धलाई बदनाम र विखण्डित गराउने प्रयास अहिले पनि भइरहेका छन्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad