राजनीति


एमालेले प्रमुख दुष्मन घोषणा नगर्ने, नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी

माओवादी अस्थिर, मधेसवादी दल संकीर्ण
एमालेले प्रमुख दुष्मन घोषणा नगर्ने, नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १५:५३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढुलमुले र यथास्थितिवादी भए पनि नेपाली कांग्रेस नै आफूहरुको मुख्य प्रतिस्पर्धी रहेको निष्कर्ष निकालेका छन्। 

ललितपुरको गोदावरीस्थित सनराइज हलमा राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा ओलीले कांग्रेसलाई एमालेको मुख्य प्रतिस्पर्धी भनेका हुन्। 

'नेपाली काङ्ग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ', उनले भनेका छन्, 'तर यही यो पार्टी हाम्रो मुख्य प्रतिस्पर्धी पनि हो।'

उनले माओवादी केन्द्रबारे पनि बोलेका छन्। उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले अस्थिर, अवसरवादी र विभाजनकारी भनेका छन्। 

त्यसैगरी मधेस केन्द्रित दल सङ्कीर्ण रहेको पनि उनको निष्कर्ष छ। 'मधेस केन्द्रित दल संकिर्ण, यथास्थितिवादी र राष्ट्रियताका विषयलाई असर पुर्‍याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ', ओलीले भनेका छन्। 

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै अहिले पनि कतिपय दलहरु राजतन्त्र फर्काउन लागिरहेको बताएका छन्। 'कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्', ओलीको प्रतिवेदनमा भनिएको छ, 'यसमा हाम्रो आपत्ति र विरोध छ।'

उनले बहुदलीय प्रतिस्पर्धाको नीति लिएकाले कुनै पनि दललाई दुश्मन घोषणा नगर्ने बताएका छन्। 'बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिष्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्छ', ओलीले भनेका छन्। 

ओलीले नेपालको विभेदपूर्ण वितरण प्रणालीले नेपालीहरुलाई समस्या भएको पनि बताएका छन्। 

'नेपाली जनता न्याय, समानता, विकास र समृद्धि चाहन्छन्। यति ठूलो परिवर्तन पश्चात् आफ्ना दशकौँ पुराना आशा र सपना पूरा हुने उनीहरुको अपेक्षा बिल्कूल जायज र स्वाभाविक छ', उनले भनेका छन्, 'तर वर्तमान उत्पादन पद्धति पछ्यौटे छ, जसले उनीहरुका आकाङ्क्षा पूर्तिमा बाधा पारिरहेको छ। वितरण प्रणाली विभेदपूर्ण छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad