ad ad

राजनीति


'अहिलेको संकट ओलीकै कारण आएको हो, देउवाको कुनै दोष छैन'

'अहिलेको संकट ओलीकै कारण आएको हो, देउवाको कुनै दोष छैन'

नेपालखबर
असोज २, २०७८ शनिबार १८:५१, काठमाडौँ

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अवस्थाको सिर्जना एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण भएको दाबी गरेका छन्।

संसद् विघटन गर्ने र संविधान मिच्ने काम ओलीले गरेको भन्दै त्यसलाई अहिलेको सरकारले ट्रयाकमा ल्याउने काम गरिरहेको उनले बताए। 

रिपोर्टर्स क्लबमा शनिबार बोल्दै उनले सरकारको अहिले नै मूल्यांकन गर्न पनि नहुने तर्क गरे। उनले शेरबहादुर देउवा नेतृत्वको सरकार कांग्रेसको एकमना सरकार नभएको उल्लेख गर्दै गठबन्धनका अन्य दलका कारण सरकारलाई पूर्णता दिने विषयमा ढिलाई भइरहेको स्पष्ट पारे। 

उनले कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनु चिट्ठा परेको जस्तै भएको पनि सुनाए।

‘यो सरकार गठन भएको दुई महिना प्लस भयो, अहिले नै सरकारको मूल्यांकन गर्न मिल्दैन। आजको समस्याको इपिसेन्टर नै केपी ओली हो। यो अवस्था कसले ल्यायो ? त्यसको मूल्यांकन जनताले गर्छन्। हिजो केपी ओलीले संसदमा एमसीसी पास गर्न सभामुखलाई धम्की दिने? आज प्रतिपक्षमा हुँदा भूमिका फरक छ भनेर बोल्ने? उहाँको भूमिका हेर्नुस् न। उहाँको पार्टी कांग्रेस र प्रचण्डले फुटाएको हो र? उहाँकै कारणले फुटेको हो', प्रधानले भने, 'बरु, सुरुमा त हाम्रो सभापतिजीको ओलीसँग सहकार्य थियो। चुनावमा जाँदा कांग्रेसलाई फाइदा हुन्छ भनेर। तर, पछि हामी संसद् विघटनविरुद्ध आन्दोलनमा होमियौँ, संविधान बचाउने जिम्मा कांग्रेसको काँधमा छ।’

उनले अहिले कांग्रेसको एकमना सरकार नभएको उल्लेख गरे।‘एकमना सरकार हुँदा केपी ओलीले तीन वर्षसम्म केही गर्न सकेनन्। बरु, उल्टै उनले आफ्नै दलका नेताहरुको मानमर्दन गरे, तर आज हाम्रो सभापतिले प्रचण्डको मानमर्दन गरेको छैन', उनले भने, 'हामीले त सम्मानका साथ पर्खिएको हो। मन्त्रिमण्डल विस्तार भएपछि डेलिभरको कुरा आउँछ। नागरिक समाजका अगुवाले बाटो देखाउने हो। त्यसलाई प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ।’

वर्तमान सरकारसँग जनताले गल्ती नगरोस् भन्ने अपेक्षा राखेको पनि उनले सुनाए। उनले संविधान कार्यान्वयन गर्ने निकायमा बस्नेहरु संघीयता पक्षधर भएको भए राम्रोसँग कार्यान्वयन हुने थियो भन्ने पनि टिप्पणी गरे। 

‘केपी ओली त सरकारको नेतृत्वमा हुँदा संविधान कुल्चिने काम भयो, नेतृत्वमा संघीयता पक्षधर बस्यो भने त्यो राम्रो कार्यान्वयन हुन्छ’, उनले भने। 

प्रधानले नेपालको संविधान २०७२ विश्वकै राम्रो संविधान भएको दाबी गरे। 'हाम्रो संविधान विश्वमै अहिलेसम्मकै यो जस्तो राम्रो छैन। हामीकहाँ राष्ट्रपति महिला बनेको छ। अधिकारका सुनिश्चितता गरिएको छ', उनले थपे, 'यो संविधान कार्यान्वयन गर्दा नेताले बिगारेको हो। तर, यो संविधान राम्रो छ। संविधान बचाउनको लागि गठबन्धन बनेको हो।’

उनले सरकारले केही दिनमै पूर्णता पाउने पनि दाबी गरे। सरकारले पूर्णता पाएपछि सरकारले द्रुत गतिमा सेवा प्रवाह गर्ने उनको विश्वास छ। सरकारले अहिले कोभिड–१९ लाई प्राथमिकतामा राखेर काम गरेको पनि उनले सुनाए। उनले एमसीसीको लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .