नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको इतिहासकै निकम्मा प्रधानमन्त्री भएको बताएका छन्।
‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने, त्यो पनि २० प्रतिशतमा झारेर, देउवा त चारपटक असक्षम भइसके', रिपोर्टर्स क्लबमा शनिबार बोल्दै उनले भने, 'यसपटक त खत्तम नै पारे। अब कांग्रेस नै डुब्दैछ। देउवाको काम हेरेर के भन्नु? देउवाजी मात्रै होइन, अब पाँच दलीय गठबन्धन असफल भयो। प्रधानमन्त्रीका रुपमा देउवा निकम्मा भए। अब कांग्रेसलाई ठूलो धक्का पर्छ गठबन्धनलाई पनि धक्का पर्छ।’
उनले एकथरीले संसद् विघटन गर्दा संविधान र लोकतन्त्र बलियो बनाउन भनेको बताउँदै संसद् पूनःस्थापित भएपछि अर्कोथरिले पनि त्यही संविधान र लोकतन्त्र बलियो बनाउने भनेकोमा आफूलाई आश्चर्य लागेको बताए।
‘संसद् विघटन गरेपनि लोकतन्त्र बलियो बनाउन भन्छन्। पूनःस्थापना भएपछि पनि लोकतन्त्रको लागि भन्छन्। यो कस्तो कुरा हो ? संविधान कच्चा नभएको भए आजको अवस्था कसरी आउँथ्यो ? अहिले पहिलोपटक बजेट होलिडे भयो मुलुकमा। लोकतन्त्र र संविधान नै हामीले हेर्ने हो, अहिले त्यागी र तपश्वी नेता हामीसँग छैनन्', उनले भने, 'पुष्पलाल, बीपी, गणेशमान, मदन भण्डारीजस्ता नेता छैनन्, अहिलेको नेता असफल भए। सिस्टम नै गलत छ। राष्ट्रपति या देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ भनेर त हामीले पहिलेदेखि नै भन्दै आएको हो नि। यसको लागि संविधान नै परिमार्जन गरौं।'
उनले प्रत्यक्ष राष्ट्रपतिको कुरा गर्दा अधिनायकवाद आउने भन्दै कतिपयले कटाक्ष गरेको पनि बताए।
'कतिपयले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गर्दा अधिनायकवादको कुरा गर्छन्, तर चेक एण्ड ब्यालेन्स राखौं न। दुईतिहाइ मत ल्याउँदा पनि निरंकुश भयो नि। अहिलेका पात्रहरु पटक्कै ठीक भएनन्', उनले भने, 'शीर्ष नेताहरुलाई त्यही दलका दोस्रो तहका नेताहरुले विदा गर्नुपर्छ। माथिल्लो तहका नेताहरु सबैलाई रिटार्यड गर्नुपर्छ। देशको औषधि गर्ने चिकित्सकहरु ६० वर्षमा रिटायर्ड हुनुपर्ने, अनि ८०, ९० वर्ष पुगिसक्दा पनि नेताहरुलाई रिटार्यड गर्नुपर्दैन?’
Shares
प्रतिक्रिया