राजनीति


सभामुखको तर्क : प्रतिनिधि सभाले आफैंलाई विघटन गर्नुपर्छ, यो नै लोकतान्त्रिक हुन्छ

सभामुखको तर्क : प्रतिनिधि सभाले आफैंलाई विघटन गर्नुपर्छ, यो नै लोकतान्त्रिक हुन्छ

नेपालखबर
असोज २, २०७८ शनिबार १६:१०, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनबारे नयाँ तर्क पेश गरेका छन्। यसअघि प्रधानमन्त्रीको सिफारिसमा दुई पटक विघटन भइसकेको प्रतिनिधिसभा आफैंले आफैंलाई विघटन गर्नुपर्ने तर्क सापकोटाले गरेका हुन्। 

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा विधायन व्यवस्थापन समितिले गरेको 'विधायिकी खुलापन-लोकतन्त्र मेला' कार्यक्रममा बोल्ने क्रममा उनले आफैंले आफैंलाई विघटन गर्नु उचित र लोकतान्त्रिक हुने तर्क गरेका छन्। 

'विघटनबारे यहाँ सुझावहरु आएका छन्। प्रतिनिधिसभा विघटन आफैंले गर्नुपर्ने प्रावधान आवश्यक छ', उनले भने, 'प्रतिनिधिसभा आफैंले विघटन गर्नु कानुनी रुपमा पनि उचित र लोकतान्त्रिक ठहरिन्छ। यसो भयो भने जनताको सार्वभौमिक अधिकारमाथि पनि हमला हुनेछैन।'

विघटन प्रस्ताव प्रतिनिधिसभामै सरकारले पेश गर्नु उचित हुने उनको तर्क थियो। यदि उक्त प्रस्तावलाई सभाले जनचाहना अनुसार ठान्यो भने विघटनतर्फ जान सकिने सापकोटाले बताए। 

छलफलका क्रममा नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलसहितले कार्यपत्रमाथि आफ्ना भनाइ राख्दै प्रतिनिधि सभाले आफैंलाई विघटन गर्नु उचित हुने कुरा अघि सारेका थिए। 

कामबाट सन्तुष्ट छैन 

सापकोटाले उक्त छलफलका क्रममा आफ्नो कामबाट आफैं सन्तुष्ट हुन नसकेको पनि तर्क गरेका छन्। संघीय संसदले आफ्नो कार्यसम्पादनमा व्यापक सुधार गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। 

'संसदको अहिलेको कामबाट सन्तुष्ट हुन सकेकै छैन। हाम्रो कार्यसम्पादनमा अझै सुधारेर अघि बढ्नु आवश्यक छ। म यसलाई सुधार्ने प्रयासमै लागिरहेको छु', उनले थपे।

सापकोटाले यो दुई वर्षको अवधिमा दलहरुभित्रको लोकतन्त्र कमजोर हुँदै गएको पनि टिप्पणी गरे। दलहरुमा जिम्मेवारी र कर्तव्यबोध हराउँदै गएको बताउँदै सापकोटाले आन्तरिक लोकतन्त्र पनि कमजोर बनिरहेको उल्लेख गरेका छन्। 

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि आफ्ना भनाइ राखे। उनले जनताले अनुभूति गर्ने गरी संविधान कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिएका छन्। उनले आफूहरुको कामले आफैंलाई सन्तुष्टि दिन नसकेको पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .