राजनीति


मैले भ्रष्टाचार गर्न दिन्न भन्दा भ्रष्टाचारीको मनमा ढ्यांग्रो बज्यो : केपी ओली

मैले भ्रष्टाचार गर्न दिन्न भन्दा भ्रष्टाचारीको मनमा ढ्यांग्रो बज्यो : केपी ओली

नेपालखबर
असोज २, २०७८ शनिबार १५:४८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सरकार राज्यसत्ता दुरुपयोगमा लागेको बताएका छन्। 
नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनआन्दोलन र लोकतन्त्रको उपलब्धीलाई कमजोर बनाउने खेल भइरहेको पनि बताएका छन्। 

उनले सजिला बेलामा गफ चुट्नेभन्दा अफ्ठ्यारा बेलामा साथ दिनेहरु महत्वपूर्ण हुने पनि बताए।

'सजिला बेलामा त ठूला गफ गर्नेहरु धेरै छन् बहादुर हुन्छन्। तर अफ्ठ्यारा बेलामा काम बहादुर चाहिन्छ', उनले भने, 'अहिले हामीलाई भत्काउन फुटाउन विभाजित गर्न लागेका छन्। राज्य सत्ताको दुरुपयोग गरेर धम्की दिन सक्छन्, जथाभावी सरुवा गर्न सक्छन्।'

राज्यसत्तालाई जायज कुरामा विरोध गरेर कर्मचारीले खबरदारी गर्न सक्ने उनले बताए। तर काम छाडेर असहयोग गर्न नहुने उनको तर्क थियो। 'काम नगर्ने भनेको होइन, यो बुद्धि त कांग्रेस माओवादीको हो', उनले भने, 'हामी राष्ट्र सेवक हौँ।'

ओलीले देशमा अझै पनि भ्रष्टाचार रहेको पनि बताए। 'देशमा अझै पनि भ्रष्टाचार छ। देखे कारबाही गर्ने, नदेखे त राम्रै सुते भइगयो। नदेखी भ्रष्टाचार गर्नु हुँदैन। हामी स्वच्छताको उदाहरण हुनुपर्छ', उनले भने, 'म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्दा भ्रष्टाचारीको मनमा ढ्यांग्रो बज्यो।'

ओलीले सबै उसतै हो भन्न हल्ला चलाइएको पनि बताए। 'सबै उस्तै त होनि भन्ने पार्नका लागि हल्ला चलाएका छन्। करका दरहरु परिवर्तन गरेर अर्बौँको तलमाथि पारिएको छ', उनले भने, 'सेटिङ होइन भन्ने कुनै ठाउँ नै छैन।'

कर्मचारीले कसैले घुस खुवाउन खोजेमा नखाने हिम्मत गर्नुपर्ने उनले बताए। 'घुस खुवाउन खोजे भने खान्न भन्ने हिम्मत गर्नुपर्छ। कमिसन एजेन्ट होइन, भ्रष्टाचारी होइन, भन्नुपर्छ कर्मचारीले', उनले भने, 'विरोधका तरिकाहरुलाई सम्यमित ढंगले लानुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .