नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धन आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंका कार्यकर्तालाई प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले एमाले आर्थिक समृद्धिको बाहक भएको र सत्ता गठबन्धनले समृद्धिको अभियानलाई अवरुद्ध पार्ने खोजेको आरोप लगाए।
नेपालको राष्ट्रिय राजनीतिक अहिले दुई ध्रुवमा विभाजित भएको, एकातिर देश बनाउने सपना बोकेको एमाले रहेको र अर्कोतिर अवसरवादी र अनैतिक गठबन्धन रहेको पोखरेलले बताए।
'जहाँ आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता, सामाजिक सद्भाव, समानता, देश बनाउने सपना बोकेको एउटा ध्रुव छ। त्यो एमाले हो। केपी ओलीले नेतृत्व गरेको छ,' उनले भने, 'अर्कोतिर गठबन्धन र त्यसका शक्ति पक्ष रहेका छन्। त्यो गठबन्धन र त्यसका सदस्यहरुले संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता विरुद्धका आचरणहरुलाई प्रतिनिधित्व गर्छ। आर्थिक विकास अभियान अवरुद्ध गर्न खोजेको छ। स्वाधिनता कमजोर पार्न खोजेको छ। यो गठबन्धन अवसरवादी र अनैतिक छ।'
पोखरेलले अहिले नै समाजवाद आयो भनेर बुझिहाल्न नपर्ने बताए। 'एमालेलाई सरकारबाट हटाउनका लागि बाहिरका भित्रका पनि भित्रकासँग कस्तो गठजोड भयो। त्यसकारण सामन्तवाद अन्त्य भयो भन्ने भ्रम पाल्नुहुँदैन। अवशेष बाँकी नै छ,' उनले भने।
पोखरेलले एमालेले चुनाव नजिते परिवर्तन उल्टिने पनि बताए। 'अब हामी चुनाव जित्छौं। दुर्भाग्यवश हामीले जितेनौ भने परिवर्तन उल्टोतिर जान्छ,' उनले भने।
पोखरेलले पार्टी संगठनमा अध्ययन र प्रशिक्षणको कमी औल्याए। 'दस्तावेज, निर्देशन, वक्तव्यहरु पढेको छैन। सामाजिक सञ्जालमा अल्झिएका छौं। त्यहीँ आधारमा धारणा बनाउने काम गरेका छौं। अब अध्ययन र प्रशिक्षणमा ध्यान दिनुपर्छ। स्वअध्ययनमा ध्यान दिनुपर्छ,' उनले भने।
पोखरेलले पार्टीमा गुटबन्दी र अराजकता मौलाएको भन्दै यो पार्टीलाई समाप्त पार्ने महारोग भएको बताए। 'अतिथिमा तलमाथि गर्यो भने पनि गुटबन्दी भइरहेको छ। यसलाई परास्त गर्नुपर्छ,' उनले भने।
पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन्। उनले सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रष्ट पारेका हुन्।
'संगठनलाई व्यवस्थित बनाउन जरुरी छ। हामीले भीड होइन शक्ति खोजेका हौं। पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ। पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्छ। गुटबन्दीमा लागेर पार्टी कमजोर बनाउने, अनास्था फैलाउने, गुटगत गतिविधि स्वीकार्य छैन,' उनले भने, 'एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो। प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि हट्दैन। सुझाव कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो।'
पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गरे। 'यसलाई पोलिटिकल सेन्समा बुझ्न जरुरी छ। कानुनी रुपमा पनि जरुरी छ। आजको एमाले २ जेठमात्र होइन एकीकृत, एकता प्रक्रियासहितको एमाले हो,' उनले भने, '२ जेठमात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन। त्यसैले आजको एमाले एकता प्रक्रियासहहितको एमाले हो। यो बुझ्न जरुरी छ।'
Shares

प्रतिक्रिया