राजनीति


ओलीले भने : प्रचण्ड र माधवको पछि लागेर केही हुँदैन, एमालेमै फर्किनुस्

ओलीले भने : प्रचण्ड र माधवको पछि लागेर केही हुँदैन, एमालेमै फर्किनुस्

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १६:९, काठमाडौँ

नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ-आफ्नो गुट लिएर बसेको बताएका छन्। 

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए। 

कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुईतिहाइ बहुमत पाए पनि केही नेताहरूको ईष्या र स्वार्थले लथालिंग बनाएको ओलीले जिकिर गरेका छन्। 

‘कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले पार्टी फुटाए, अर्को पटक माधवकुमार नेपाल फुटाए’, ओलीले भने, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ । केन्द्र त यहाँ छ । प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन् । माधव नेपाल आफ्नो गुट लिएर बसेका छन् ।’

तर, एमाले अझै एकताबद्ध भएर अघि बढ्ने उनले बताए। परमादेशबाट होइन अब एमालेले जनादेशबाट सरकार बनाएर देखाउने ओलीले दाबी गरेका छन्।

ओलीले नेता घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको पनि बताएका छन्। 

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन्।’

देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीले आरोप लगाए। 

‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उनले भने, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ?’ 

नेपालले झुक्याएको र झुक्किएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गरेका उनले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गरे। 

‘तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो, माओवादी केन्द्रको नाममा रहेका साथीहरूलाई एमालेमा फर्कन म आह्वान गर्छु’, ओलीले भने।

कम्युनिस्टको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएकोप्रति आक्रोश पोख्दै ओलीले भने, ‘मैले केही मन्त्री दिएको थिएँ नि, अहिले हेर्नु त देउवाले प्रचण्ड र माधव नेपाल खोइ मन्त्री दिएको? प्रचण्डको पछि लागेर के हुन्छ। आउनुस् एकीकृत एमालेमा।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .