नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'सुखी नेपाली समृद्ध नेपाल'को राष्ट्रिय आकांक्षा पूरा गर्न कम्युनिस्ट पार्टीले मात्रै सक्ने बताएका छन्।
बुटवलमा बुधबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
'सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा कम्युनिस्ट पार्टीले मात्र पूरा गर्छ', उनले भने, 'कम्युनिस्ट पार्टीबाट देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन, सुशासन र विकासको माध्यमबाट अघि बढाउन, समृद्धि हासिल गराउन सम्भव छ।'
ओलीले कम्युनिस्ट पार्टीले मात्रै विकसित नेपालमा रुपान्तरित गर्न सक्छ भन्ने कुरा पुष्टि भएको जिकिर गरे ।
'गरिबी, पछौटेपन, अशिक्षा र बेरोजगारीजस्ता कुरा हटाउन, देशलाई पूर्वाधारहरुको विकास गर्दै आधुनिक विकसित नेपालमा रुपान्तरित गर्न कम्युनिस्ट पार्टीले मात्र गर्न भन्ने कुरा केही वर्षयता झन् प्रष्ट देखियो,' उनले भने, 'यो देशको सार्वभौमसत्ता, स्वाधीनता, गर्वका साथ कुनै पनि देशसँग बराबरी सम्बन्ध राख्ने, राष्ट्रिय हितको संरक्षण गर्न, गुमेको भूभाग फिर्ता लिन कम्युनिस्टबाहेक कसैले सक्दैन भन्ने देखिएको छ ।'
एमालेले बाटो, पुल बनाउने मात्रै होइन, सुरुङ मार्ग र केबलकारको युगमा नेपाललाई प्रवेश गराएको पनि ओलीको दाबी थियो।
'दुनियाँका पर्यटकहरु भैरहवामा झर्छन्, लुम्बिनी हेर्छन् । पर्यटक खुसी हुने खालका होटलहरु बनाउनुस्,' उनले भने ।
कार्यकर्ता भेलामा ओलीले एमाले पार्टी कब्जा गर्न, ध्वस्त पार्न नसकेपछि माधव नेपालहरुले पार्टीलाई प्रतिक्रियावादीको पाउमा चढाउन खोजेको बताए। तर नेता कार्यकर्ताहरूले पार्टीलाई जोगाएको पनि उनले बताए।
ओलीले मुलुकलाई अघि बढाउने पार्टी एमालेलाई ध्वस्त गर्न खोजिएको आरोप पनि लगाए। 'एमाले ध्वस्त पार्न खोजिएको थियो, समाप्त गर्ने कोसिस भएकै हो', उनले भने, 'पार्टी कब्जा गर्न पनि खोजिएकै हो। बचेमा प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको थियो। तर कार्यकर्ताहरूले पार्टी जोगाउनुभएको हो।'
ओलीले एमालेको नेतृत्वबिना देशलाई समृद्ध बनाउने योजना सफल नहुने पनि बताए। उनले एमालेको सही नेतृत्व र विचारले कम्युनिस्ट आन्दोलन सफल हुने पनि बताएका छन्।
Shares
प्रतिक्रिया