दैलेखका शिक्षकको हत्या अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। गुराँस गाउँपालिका ८ छोटेपोखराका ४२ वर्षीय शिक्षक नगेन्द्रकुमार बि.सीको हत्या अभियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
उनी मालिका माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला अगाडि बरन्डामा मृत भेटिएका थिए। उनी सोही विद्यालयका राहत शिक्षक हुन्।
पक्राउ परेकी महिलाले हत्या गरेको स्वीकार गरेको दैलेख प्रहरीले जानकारी दिएको छ। व्यक्तिगत रिसिबीका कारण उनले राति साढे १ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।
घटनास्थलभन्दा करिव ३० मिटर पश्चिममा ती महिलाको घर छ। घटनास्थल लासजाँच मुचुल्का, घटनास्थलमा भेटिएका सबुत प्रमाण संकलन र खानतलासीबाट बरामद भएका प्रमाणले पनि उनले नै हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ।
पीडित पक्षबाट जाहेरी लिएर उनीविरुद्ध अनुसन्धान अगाडि बढाएको दैलेखका प्रहरी प्रमुख अनुपराज श्रेष्ठले बताए।
Shares
प्रतिक्रिया