ad ad

राजनीति


सुदूरपश्चिम प्रदेश : संसदीय दल गठन गर्दै एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेश : संसदीय दल गठन गर्दै एकीकृत समाजवादी

गोकुल जोशी
भदौ २७, २०७८ आइतबार ८:३५, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी थालेको छ। 

नेकपा एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीले प्रदेशमा संसदीय दल बनाउन सांसदहरुसँग छलफललाई तीव्र पारेको छ। 

प्रदेशमा दलको आधिकारिकता पाएकाले अबको केही दिनमा संसदीय दल गठन गर्नेगरी तयारी भइरहेको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले नेपालखबरलाई जानकारी दिइन्। 

‘शुक्रबार दलको आधिकारिकता आएको छ। आइतबार सार्वजनिक बिदा परेकाले भाेलि साेमबार बैठक बस्ने भनेका छौँ,’ उनले भनिन्, ‘साथीहरुले पार्टीको काममा जिल्ला–जिल्ला जानुपर्नेछ। त्यसैले केही दिनमै संसदीय दललाई पूर्णता दिन्छौँ।’

१४ सांसदसहित सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादी संसदीय दलको नेताबारे निकै चासोका साथ हेरिएको छ। 

प्रदेश सभामा पहिलो दल रहेको नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो बनेको छ। एमालेका १४ जना सांसद एकीकृत समाजवादीमा लागेका छन्। प्रदेश सभामा एमाले चौथो दलमा खुम्चिएको छ। 

तत्कालीन माधव नेपाल समूहका सांसदहरु दीर्घ सोडारी, पूर्णा जोशी, माया भट्ट, तारालामा तामाङ, प्रकाश रावल, लालबहादुर खड्का, कुलवीर चौधरी, अमर बहादुर साँउद, बल बहादुर सोडारी, दुर्गा कामी, मनाकुमारी साँउद, चुनुकुमारी चौधरी, सुशिल बुढाथोकी र माया तामाङ बोहरा (ओली समूह) ले एमाले छाडेर समाजवादी रोजेका थिए।

को बन्ला नेता? 

एकीकृत समाजवादी संसदीय दलको नेतामा दाबेदार चार सांसद देखिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सांसद तारालामा ​तामाङ र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट दाबेदारका रुपमा देखिएका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री सोडारी र सांसद तामाङमध्ये एकजना संसदीय दलको नेता बन्ने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ। 

‘संसदीय दलको नेताका लागि अहिले उहाँहरु (दीर्घ र तारालामा) कै नाम अगाडि छ। उहाँहरूबीच नै सहमतिको प्रयास भइरहेको छ।,’ स्रोतले भन्यो, ‘सहमति भएन भने चुनावी प्रक्रियाबाट चयन हुन्छ।’

संसदीय दलको नेताका दाबेदार सोडारीको एकीकृत समाजवादीभित्र पकड छ। १४ सांसदमध्ये बहुमत उनको पक्षमा छन्। 

एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीतिर सांसद तान्न उनले नेतृत्वदायी भूमिका खेलेका थिए। यद्यपी विभिन्न विवादमा मुछिएकाले उनको विगत राम्रो छैन।

सुरुमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका सोडारीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए। यस्तै एमाले कैलालीका तत्कालीन अध्यक्ष समेत रहेका उनलाई त्यो पदबाट पनि हटाइएको थियो। 

गत जेठ १४ गते मन्त्रिमण्डल पुनर्गठन गर्दा सोडारी भौतिक पूर्वाधार विकासमन्त्री भएका थिए।

यस्तै तारालामा तामाङ पनि संसदीय दलको नेता बन्ने लबिङमा छन्। कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट विजयी उनी तत्कालीन एमालेतर्फ सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतक पनि थिए। 
तत्कालीन नेकपा एमाले कञ्चनपुरको अध्यक्ष रहेका उनी विभाजनपछि एकीकृत समाजवादीमा लागेका हुन्। 

आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्व–उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट पनि संसदीय दलको नेता बन्ने लाइनमा छन्। उनीहरु दुवै एकीकृत समाजवादीमा खुल्ने पहिलो सांसद हुन्।

अध्यक्ष माधव नेपालले नवगठित नेकपा (एकीकृत समाजवादी) मा उनीहरुलाई केन्द्रीय सदस्य चयन गरेका थिए। 

यस्तै तत्कालीन एमालेकी प्रमुख सचेतकमा दुर्गा कामी नै एकीकृत समाजवादीमा पनि दोहोरिने सक्ने स्रोतको दाबी छ।

उता एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेताको जिम्मेवारी कसलाई दिने भनेर अहिले नै स्पष्ट नभएको केन्द्रीय सदस्य जोशी बताउँछिन्। 

‘संसदीय दलको नेतामा सबै सांसदको दाबी त होला। तर हामी सजिलैसँग नेतृत्वदायी जिम्मेवारी बहन गर्न सक्ने सांसदलाई नेता चयन गर्छौँ’, उनले भनिन्, ‘जसले प्रदेश सभासँगै पार्टी संगठनलाई पनि विस्तार गर्न सहयोगी भूमिका खेल्न सक्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .