राजनीति


एमसीसी सैन्य रणनीतिको अंश हो रे : माधव नेपाल, एक सय प्रतिशत होइन : सुमार

एमसीसी सैन्य रणनीतिको अंश हो रे : माधव नेपाल, एक सय प्रतिशत होइन : सुमार

सागर न्यौपाने
भदौ २४, २०७८ बिहिबार २०:०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार अपरान्ह भएको भेटका क्रममा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनबारे नेपालमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने बताएका हुन्। 

एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भएको छलफलका क्रममा अध्यक्ष नेपालले देशबासीबीच उब्जिएका थुप्रै प्रश्नको जवाफ खोजेका थिए। 

छलफलमा सहभागी समाजवादीका नेता डा. गंगालाल तुलाधरले बताए अनुसार नेता नेपालसँगको भेटमा एमसीसी टोलीले नेपालमा देखिएको अन्योलबारे आफूहरु स्पष्ट पार्न आएको उल्लेख गरेका थिए। 

'हामी नेपालमा एमसीसीबारे देखिएको भ्रमबारे स्पष्ट पार्न आवश्यक भएकाले आएका हौँ', एमसीसी उपाध्यक्ष सुमारको भनाइ उद्धृत गर्दै तुलाधरले नेपालखबरसँग भने, 'एमसीसी विशुद्ध अनुदान हो, यसलाई कुनै अफ्ठ्यारो नमानी तपाईंहरुले स्वीकार्दा हुन्छ।'

त्यसपछि अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकी अधिकारीहरुले नै नेपालमा कन्फ्युजन सिर्जन गरेको पनि बताएका छन्। 

'तपाईंहरु आफ्नै मान्छेले, मन्त्रीहरुले एमसीसी परियोजना इन्डो प्यासिफिक सैन्य रणनीतिको अंश हो भनिरहेका छन्', नेता नेपालले अगाडि भने, 'तपाईंहरु आफैंले यसमा कन्फ्युजन सिर्जना गर्नुभयो। त्यसकारणले यो अनुदान हामी लिन चाहँदैनौँ।
राष्ट्र हितविरुद्ध आउने कुनै पनि अनुदान सहयोग, पैसा हामी लिँदैनौँ । हाम्रो सार्वभौमसत्ता पैसा र अनुदानले प्रभावमा पार्न सक्नु हुन्न।'

अध्यक्ष नेपालले एमसीसी टोलीसँगको छलफलमा कुनै पनि अनुदानमा घुसेर आउने षड्यन्त्र मान्य नहुने पनि बताए। 'कुनै पनि अनुदानमा घुसेर आउने षड्यन्त्रहरु हामीलाई मान्य हुने कुरै भएन', नेपालको भनाइ उद्धृत गर्दै तुलाधरले थपे, 'हामी त्यसलाई स्वीकार्न सक्दैनौँ। केही षड्यन्त्र र रणनीतिक योजना घुसेर आउने कुरा स्वीकार्न सकिँदैन।'

त्यसपछि उपाध्यक्ष सुमारले एमसीसी सैन्य रणनीतिको अंश हुँदै नभएको तर्क गरेकी थिइन्। 'यो एक सय प्रतिशत सैन्य रणनीतिको अंश हुँदै होइन। यो विशुद्ध आर्थिक सहयोग हो', उनले भनिन्, 'यसमा तपाईंहरु कन्फ्युज हुनुपर्ने कुनै कारण छैन। त्यसैले हामी थप दस्तावेज लिएर आएका छौँ। तपाईंहरुले यी दस्तावेज पनि अध्ययन गर्नुस्।'

सुमारको जवाफ सुनेपछि फेरि अध्यक्ष नेपालले प्रश्न उठाए। 'तपाईंहरुले त भन्नु भयो तर तथ्यले बोल्नुपर्यो नि, तपाईंहरुको तथ्यले त बोल्न सकेन', उनले भने, 'तपाईंहरुकै मान्छेहरुले पटक पटक एमसीसीबारेमा विवादास्पद धारणा सार्वजनिक गरिरहनु भएको छ। हामीले कसरी विश्वास गर्ने?' 

एमसीसी टोलीले अमेरिकी सरकारको दस्तावेज नै ल्याएको बताएका छन्। 'हामीले अमेरिकी सरकारको आधिकारिक डकुमेन्ट ल्याएका छौँ, यो अध्ययन गर्दा पनि हुन्छ', बैठकमा सुमारले भनिन्,'उपयुक्त लाग्यो भने स्वीकार गर्नुस्, लागेन भने हामी तपाईंहरुलाई दबाब दिन आएका होइनौँ, दबाब पनि दिँदैनौँ।'

टोलीले एमसीसी चार वर्षदेखि अड्किरहेको बताएकी छन्। 'चार वर्ष भइसक्यो, यसबारे धेरै खालका कुराहरु उठेकाले अन्योल सिर्जना भयो,' उनले बैठकमा भनिन्, 'यसलाई स्पष्ट पार्ने गरी हामी आएका हौँ, यहाँ हामी दबाब दिने गरी आएको नबुझियोस्।'

जवाफमा नेता नेपालले अहिले पाँच दलीय सरकार भएकाले एमसीसीबारे साझा धारणा बनाउन जरुरी रहेको पनि बताएका छन्। 

'अहिले हाम्रो पाँच दलीय गठबन्धन सरकार हो। पाँच दलको साझा धारणा नभइ हामी यसबारे यसै भन्न सक्दैनौँ', उनले भने, 'किनभने पाँच दलबीचमा सबैको चित्त बुझ्ने गरी छलफल गर्छौँ। त्यसपछि मात्रै हामी निर्णयमा पुग्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .